अझै दुई वर्ष लाग्छ रंगशाला बन्न



फिरोज राजोपाध्याय, काठमाडौं

महाविनाशकारी भूकम्प आएको २ वर्ष भइसकेको छ। २०७२ वैशाख १२ गते शनिबारको भूकम्प गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको थियो। यसले गोरखा वरिपरि करिब १२ जिल्लालाई ज्यादै नै प्रभावित पारेको थियो। यसमध्ये राजधानी काठमाडौंमा पनि यसले विध्वंश मच्चाएको थियो। मन्दिर र घरहरू भत्किएर जनधनको समेत क्षति हुन पुगेको थियो। सबैतिर असर गरेको उक्त महाविनाशकारी भूकम्पले नेपाली खेलकुदमा पनि असर गर्न भ्यायो। खेलकुद क्षेत्रमा सबैभन्दा बढी असर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पर्यो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुने दशरथ रंगशाला अहिले जीर्ण अवस्थामा रहेको छ। पश्चिमपट्टिको भीआईपी बस्ने प्याराफिट जीर्ण छ। यो प्याराफिटमा रातो स्टिकर लगाएको भए पनि अहिलेसम्म भगवान् पशुपतिनाथको कृपाले दुर्घटना टरिरहेको छ। यो प्याराफिटले बाहिरी सडकसम्म ओगटेको छ। बटुवाहरू त्यही प्याराफिटमुनिबाट हिँडिरहेका छन्। कराते र बक्सिङ पनि त्यही प्याराफिटमै प्रशिक्षण भइरहको छ। भन्नुपर्दा रातो स्टिकर पाएको उक्त प्याराफिटले दुर्घटनालाई निम्त्याएको आभाष गराउँछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने त्यहाँ कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरिरहेको छैन। भूकम्पकै दिन रंगशालामा यु–१६ महिला साफ च्याम्पियनसिपको फाइनल हुनगइरहेको थियो। नेपाल र बंगलादेबीच हुने सो फाइनल खेल भूकम्पका कारण हुन सकेन। त्यसपछि एन्फाबाट कुनै पनि प्रतियोगिता रंगशालामा आयोजना गर्ने जोखिम लिइएको छैन। भूकम्पपछि जति पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय खेल भए ती सबै एन्फाको सातदोबाटोस्थित मैदानमा सञ्चालन भएका थिए।

अहिले रंगशाला छिट्टै नबनेको हँुदा लिग सञ्चालन गर्न पनि एन्फालाई गाह्रो भइरहेको छ। लिगका लागि लगनखेलस्थित सेनाको मैदान र हल्चोकस्थित सशस्त्र प्रहरीको मैदान प्रयोग गर्ने तय भइसकेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुने दशरथ रंगशाला अहिले जीर्ण अवस्थामा रहेको छ। पश्चिमपट्टिको भीआईपी बस्ने प्याराफिट जीर्ण छ। यो प्याराफिटमा रातो स्टिकर लगाएको भए पनि अहिलेसम्म भगवान् पशुपतिनाथको कृपाले दुर्घटना टरिरहेको छ।

एन्फाका सीईओ इन्द्रमान तुलाधरले रंगशालामा पनि लिगका केही खेल गराउने प्रयास गरिरहेको बताउनुभयो। तुलाधरले नेपाल समाचारपत्रलाई भन्नुभयो( ‘लिगका लागि लगनखेल र हल्चोकको मैदान प्रयोग हुने पक्का भइसकेको छ। हामी रंगशालामा पनि खेलाउने प्रयासमा छौं।’
उता राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरूण उपाध्यायले भने रंगशाला बन्न करिब २ वर्ष लाग्ने बताउनुभयो। नेपाल समाचारपत्रको यो संवाददातासँगको कुराकानीमा उपाध्यायले भन्नुभयो– ‘रंगशाला बन्न २ वर्ष त पक्कै लाग्नेछ। अहिले वरिपरि छाना राख्ने कार्य भइरहेको छ।

भीआईपी प्याराफिट पनि सडकतिर ओगटेको छाना हटाउनेछौं। त्यसपछि यसलाई रेट्रोफिटिङ गर्नेछौं। विज्ञका अनुसार यो ‘प्याराफिट’ पूरै भत्काउनुपर्ने अवस्था देखिएन।’

रंगशालाको बाँकी भागको प्याराफिटको माथिल्लो भाग अहिले बलियो नै रहेको उपाध्यायको भनाइ छ। तल्लो भाग भने बनाउनुपर्नेछ भने उत्तरतिरको प्याराफिटमा हरियो स्टिकर लगाएको छ। तापनि त्यो भागमा फेरि परीक्षण गराउन लागिएको छ। रंगशाला जीर्णोद्धार गराउन २ वर्ष लाग्ने वा त्योभन्दा बढी लाग्न सक्ने उपाध्यायले बताउनुभयो। यसको लागतबारे उहाँले भन्नुभयो– ‘रंगशाला पूरै तयार गराउन करिब २२ करोड रुपियाँको बजेट लाग्नेछ। योभन्दा बढी पनि लाग्न सक्छ अहिले नै भन्न सकिँदैन।’
यसै गरी राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कभर्ड हलको बाहिरी भाग भत्काउने छ। त्यहाँ पनि भूकम्पले क्षति पुर्याएर कार्यालय सबै रंगशालाको प्याराफिटतिर सारिएका छन्। कभर्ड हलमा त्यति क्षति नभएको हुँदा त्यहाँ भूकम्पपछि पनि खेल सञ्चालन भइरहेका छन्। त्यस्तै स्विमिङ पुल पनि पूरै क्षतिग्रस्त भएको थियो। यो सँगैको टेनिस कोर्टको प्याराफिटमा क्षति भएको थियो।

अब त्यहाँ टेनिस कोर्ट नहुने पनि उपाध्यायले बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिले भत्काउने काम शुरू हुन्छ। टेनिस कोर्टचाहिँ नराख्ने निधो गरिसकिएको छ। यहाँ पूरै खेलकुद परिषद्अन्तर्गत कर्मचारीका लागि भवन बन्नेछ। स्विमिङ पुल अहिले नै बन्दैन। यसका लागि टेन्डर आह्वान गर्नुपर्छ। बजेट माग गर्नुपर्छ। प्रक्रिया धेरै लामो भएकाले यसै भन्न सकिँदैन। चाँडो–ढिलो भौतिक पूर्वाधार बन्नेछन्।’

कभर्ड हल कीर्तिपुरमा बन्ने
राजधानीमा बास्केटबल, भलिबल, मार्सल आर्ट्स खेलहरूको प्रायःजसो प्रतियोगिता त्रिपुरेश्वरस्थित कभर्ड हलमै हुने गर्छ। एउटै मात्र कभर्ड हलमा खेलाइने भएको हुँदा खेलाडीका लागि प्रशिक्षण गर्ने स्थान पनि छुट्टै छैन। अर्को कभर्ड हलको आवश्यकता भएको प्रस्ट छ। तर, पनि सम्बन्धित निकाय अहिलेसम्म पनि मौन नै छ। खेलाडीको आवश्यकता पुर्ती गर्न जुनसुकै सरकार पनि असक्षम देखिँदै आएका छन्। भनिन्छ नि– जुन जोगी आए पनि कानै चिरेको। यस्तै उखानलाई चरितार्थ गर्दै छन् नेपालमा बन्ने जुनसुकै सरकार।

खेलकुद परिषद्अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरूण उपाध्यायले भने यस्तो नभएको बताउनुभयो। अहिले कीर्तिपुरमा खाली जग्गामा ठूलो सानदार कभर्ड हल बनाउने योजना भइरहेको उहँँले बताउनुभयो। उहाँले भन्नुभयो– ‘खेलाडीको आवश्यकता धेरै कभर्ड हल हो। तर, पनि नेपालमा बजेट नै हुँदैन। कता बनाउने ? के गर्ने ? भइरहन्छ।

चाहिन्छ करोडौंको बजेट, त्योअनुसार सरकारले खेलकुदमा बजेट छुट्टयाउँदैन। तर, जे भए पनि कीर्तिपुरको खाली जग्गामा धेरै खेल सञ्चालन गर्न हुने गरी कभर्ड हल बनाउने योजना बनिसकेको छ। यसले पक्कै पनि नेपाली खेलकुदमा नयाँ आयाम थपिने आशा गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्