एमालेले छान्यो उम्मेदवार कांग्रेस र माओवादी अन्योलमा



ललित सिंह, बझाङ
स्थानीय निर्वाचनका लागि एमालेले १० जना अध्यक्ष र २ जना मेयरको छनोट गरेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले छनोट प्रक्रियामा ढिला गर्दा चुनाव हुने नहुनेमा शंका बढ्न थालेको छ।

सरकारमा सामेल रहेको नेपाली कांग्रेस र सरकारको प्रमुखमा रही स्थानीय तहको निर्वाचन गर्ने जिम्मेवारी पाएको माओवादी केन्द्रले गाउँपालिका र नगरपालिका उम्मेदवार छनोट प्रक्रियामा ढिलाइ गरेपछि चुनाव हुने नहुनेमा सर्वसाधारणलाई शंका बढेको हो।

स्थानीय तहको चुनाव २० वर्षपछि हुन लागेकोमा गाउँघर टोलछिमेकमा निकै खुसी छाएको थियो। सरकारमा रहेका दुई मुख्य शक्ति नेपाली कांगे्रस र माओवादी केन्द्रले गाउँपालिका र नगरपालिका उम्मेदवार छनोट नगर्दा स्थानीय तहको चुनाव हुनेमा शंका बढेको जयपृथ्वी नगरपालिका–१० का भक्तबहादुर धामीले बताए। उनले भने– ‘एमालेको चरीफुरी देख्दा चुनाव हुन्छ कि भन्ने लाग्छ सरकारमा समाल्ने पार्टीले उम्मेदवारी छनोटमा टुंगो लगाएको नदेखेर चुनाव हुँदैन कि भन्ने लागिरहेको छ चुनाव हुनेमा अझै शंका लाग्छ।’

‘हामी सरकार बाहिरै छौं, स्थानीय तहको निर्वाचन सरकारले घोषणा गरेलगत्तै एमाले गाउँगाउँ टोलटोलमा चुनावी अभियानमा जुटेको हो। वैशाख ३१ गतेका लागि हामीले २ नगरपालिका र १० गाउँपालिकामा उम्मेदवार छनोट गरिसकेका छौं’ –एमाले जिल्ला अध्यक्ष दिलबहादुर सिहंले बताए। उनले भने– ‘एमाले जनताको पार्टी भएकाले जनताको पक्षमा पहिले फैसला गर्ने गर्छ, कांग्रेस र माओवादी चुनावदेखि डराएका छन्। जिल्लामा चहलपहल नै छैन।’
एमालेले जयपृथ्वी नगरपालिकामा मेयरका लागि वीरेन्द्र खड्का, उपमेयरमा जुना जाग्री, बुंगल नगरपालिकामा मेयरका लागि धनबहादुर बोहरा, उपमेयरमा धनदेवी कुँवरलाई मनोनयन गरेको छ।

काँडा गाउँपालिकामा अध्यक्ष मानबहादुर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, तलकोट गाउँपालिकामा लालबहादुर विष्ट, उपाध्यक्ष धनलक्ष्मी खत्री, मष्टा गाउँपालिकामा कर्णबहादुर बोहरा, उपाध्यक्ष भगवती बोहरा, सुर्मा गाउँपालिकामा शेरबहादुर बोहरा, उपाध्यक्षमा मातादेवी बोहरा, छब्बीसपाथिभेरा गाउँपालिकामा अक्कल धामी, उपाध्यक्ष राधिका रताला, छान्ना गाउँपालिकामा मिश्र रोकाया, उपाध्यक्ष पावसरा थापा, थलारा गाउँपालिकामा भुवनेश्रर उपाध्याय, उपाध्यक्ष गंगुदेवी खडायत, केदारस्यु गाउँपालिकामा इन्द्र भण्डारी, दुर्गाथली गाउँपालिकामा प्रयागराज जोशी, पार्वतीदेवी जाग्री, बित्थडचिर गाउँपालिकामा प्रेम बोहरा, उपाध्यक्ष जानकी बोहरा रहेका छन् भने सबै वडामा पनि छनोट गरेका छ।

‘नेपाली कांग्रेस जनताका लागि नेपालमै जन्मेको हो राजा र राणासँग चुनाव लडेको हो कांग्रेस चुनावदेखि भाग्ने पार्टी होइन’ –नेपाली कांग्रेसका पार्टी सभापति हर्कजंग सिंहले बताए। उनले भने पार्टी ठूलो छ चुनाव पनि सरेको छ आन्तरिक रूपमा उम्मेदवारको छनोट गर्ने काम पूरा भएको छ सार्वजनिक गर्ने बाँकी रहेको छ चुनाव पक्का हुन्छ। सबै जनतालाई चुनावमा लाग्न अपिल गर्दै छु। एमाले बाहिर देखाउने भित्र भाग्ने पार्टी हो।’

गाउँबाट सबै प्रक्रिया पुगेर उम्मेदवारका नाम आएका छन् जिल्लामा नाम संकलन भएकाले एमाले जस्तो आफू नहतारिएको माओवादी केन्द्रका अध्यक्ष कलक खड्काले बताए। उनले भने– ‘एमाले काम कम हतार बढी गर्ने पार्टी हो चुनाव वैशाख ३१ बाट जेठ ३१ भएको छ चुनाव हुन्छ हामी प्रत्येक जनताको घर दैलो गरिरहेका छौं। जनता चुनावका लागि हतारिएका छन्।

प्रतिक्रिया दिनुहोस्