टिकटका लागि सबैको दाबी



सुनील महर्जन⁄ललितपुर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनर्निर्माणको शुरूआत गर्न सोमबार बिहानै ललितपुरको बंगलामुखी मन्दिरमा पुगेका थिए। उनलाई स्वागत गर्ने लाममा हातमा माला लिएर बसेका आयोजक समितिका मानिसहरू नै थोरै देखिने गरी कांग्रेसका स्थानीय नेताहरू बढी देखिन्थे। सो माहोलले सर्वसाधारणलाई चुनावी चहलपहल निकै अघि बढेको आभास मिलेको थियो।

कांग्रेसका स्थानीय नेताहरूको अनुहार हेर्दै जाँदा उम्मेदवारका रूपमा आफूलाई उभ्याउँदै आएका सबै उपस्थित थिए। उम्मेदवारको टुंगो लगाउनुपर्ने दिनहरू नजिक आइरहँदा यस्तो भेटघाटले पनि त्यसमा बल पुर्याउने उम्मेदवारका प्रत्याशीहरूको सबैको एक मात्र आशा र विश्वास रहेको छ। ‘धार्मिक, सामाजिक कार्यक्रमलाई राजनीतिक उद्देश्य प्राप्तिका हिसाबले लिनु खासै राम्रो त होइन। तर चुनावताका जनतामा भिजेको देखाउन उम्मेदवारका प्रत्यासीहरूको सक्रियता बढ्नु अस्वाभाविक कुरो पनि होइन’ –ललितपुर महानगरपालिकाका प्रमुखको उम्मेदवारका रूपमा आफूलाई उभ्याउँदै आएका प्रेमलाल महर्जनले भने।

वैशाख ३१ गते नजिकिँदै जाँदा ललितपुरभित्र हुने धार्मिक, सांस्कृतिकदेखि हरेक खालका गतिविधिहरू चुनावी चहलपहलबाट अछुतो रहेको छैन। सार्वजनिक सभा, समारोहमा सहभागी हुनेमा नेकपा एमाले र माओवादीको तुलनामा कांग्रेसका उम्मेदवारका प्रत्यासी नै अघि देखिएको छ। ‘मास बेस’ पार्टी भएकाले पनि होला, सभा समारोहमा भाग लिएमा जनतासँग भेट्ने, बोल्ने अवसर सहज पाउने उम्मेदवारहरू बताउँछन्। यसबाट चुनावमा मत प्रभावित हुने उनीहरूको निचोड रहेको छ। चुनावपछि वास्ता गरेन भने ती कार्यक्रमलाई उपयोग गरेको मात्र अर्थ निकाल्न सकिन्छ। समाजका विविध तह र तप्कामा रहेका जनतासँग भिज्ने हिसाबले यसलाई निरन्तरता दिन सके राम्रै रूपमा सबैले लिने विश्वास पनि महर्जनको रहेको छ।

‘आ आफ्नो पार्टीको मत छँदै छ। जित्नका लागि चाहिने मत भनेको तटस्थ मत हो। तटस्थ मत जसले पायो चुनावमा आखिर उसले नै जित्ने हो’ –राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्षसमेत रहेका प्रमुख उम्मेदवारका प्रत्यासी महर्जनले भने। कांग्रेसभित्र पुरानो नेता, बौद्धिक क्षमता, भिजनका र एक्स्पोजरका हिसाबले कांग्रेसको टिकट आफूले पाउनुपर्ने पनि महर्जनको जिकिर रहेको छ। २०६१ सालमा राजा ज्ञानेन्द्रले चुनाव गराउँदा १३ हजार मत ल्याएर महर्जनले जितेका थिए। ‘संसद्वादी दलको बहिष्कार, विद्रोही माओवादीको डर, त्रासका बाबजुद पनि जनताले मलाई मत दिए। अहिले पार्टीले टिकट दिए चुनाव नजित्ने कुरो आउँदैन’ –महर्जनले भने।

महर्जन मात्र होइन सभापति देउवालाई स्वागत गर्ने भीडमा प्रमुखका दाबेदार भरत न्याछ्याें अग्रंपक्तिमा देखिन्थे। देउवा आफ्नो नजिक भएको देखाउने अघोषित प्रतिस्पर्धामा करिब एक घण्टाको बसाइमा उनले एकछिन पनि छोडेनन्। कार्यक्रमा खिचिएका तस्वीरहरूमा देउवासँग न्याछ्यों नबसेको तस्वीर सायद कमै थियो। न्याछ्याेंले चुनाव घोषणा नहुँदै महानगरपालिकाको प्रमुखको उम्मेदवारको छनक दिँदै आएका थिए। सामाजिक सञ्जाल प्रयोगमा न्याछ्योंले कांग्रेसभित्रका अन्य दाबेदारलाई उछिनिसकेका छन्। फेसबुकमा आफ्ना गतिविधि क्षणक्षणमा अद्यावधिक गर्दै आएका न्याछ्यों सञ्चारमाध्यममा पनि उत्तिकै छाएका पाइएको छ। ‘मैले टिकट पाउने शतप्रतिशत सुनिश्चित भइसकेको छ’ –नेता न्याछ्योंले भने।

२०३६ सालमा जनमतसंग्रह गर्दादेखि पार्टी प्रवेश गरेका न्याछ्याें पार्टीभित्र बौद्धिक लेख्न, पढ्न मन पराउने बौद्धिक नेताका रूपमा चिनिन्छन्। साविकको ललितपुर उपमहानगरपालिकामा पार्टीबाट सर्वदलीय संयन्त्रमा बसेर काम गरेको अनुभव पनि न्याछ्याेंसँग रहेको छ।

चिरिबाबु महर्जन कांग्रेसभित्र प्रबल दाबेदारहरूमा पर्छन्। ज्यापू समाजका पूर्वअध्यक्षसमेत रहेका महर्जनसँग प्रशासनिक क्षेत्रको लामो अनुभव छ। नेवार समुदायमा पनि ज्यापूहरूको बाहुल्य रहेको जिल्लामा ज्यापू समुदायमाझ चिरपरिचित, योग्यता र क्षमताका हिसाबले उनी अब्बल मानिन्छन्। ‘मेरो अवस्था जनतामा कस्तो छ भनेर अहिले म आँकलन गर्दै छु –महर्जनले भने। उनलाई टिकट दिलाउन ललितपुर क्षेत्र नं ३ का सांसद एवं नेपाली कांग्रेसका सभापति मदनबहादुर अमात्य खुलेर लागेका छन्।

कांग्रेसभित्रकै अर्का दाबेदारमा प्रेमकृष्ण महर्जन छन्। इँटा व्यवसायीसमेत रहेका महर्जनले यसअघि स्थानीय निकायको निर्वाचनमा पनि उपप्रमुखको उम्मेदवारी दिएका थिए। कांग्रेस आजको अवस्थासम्म सबल बनाउन पुर्याएको योगदानका हिसाबले आफूले टिकट पाउनुपर्ने महर्जनको दाबी छ।

कांग्रेसले ललितपुर महानगरपालिकाका प्रमुख र उपप्रमुख र २९ वडाका वडाध्यक्षहरूको आजसम्म टुंगो लगाएको छैन। प्रमुखको टिकट पाउन नेपाली कांग्रेसका अन्य नेताहरू पनि दौडधुप गरिरहेकोमा सबै बढी चर्चा यिनै चार जनाको चलेको छ। चार जनामध्ये एक जनाले टिकट पाउनेमा पार्टीपंक्ति सबै सहमत रहेका छन्। २०७० सालको संविधानसभाको निर्वाचनमा जिल्लाका तीनवटै सिट जितेकाले पनि कांग्रेसका नेता र कार्यकर्तामा आफ्नै पार्टीले जित्ने आत्मविश्वास रहेको छ। यसले गर्दा पनि टिकट आफूले नै पाउनुपर्ने उम्मेदवारका प्रत्याशीहरू बताउँछन्। ललितपुरको कला, संस्कृति, सम्पदा र मौलिक परम्पराको संरक्षण गर्दै चक्रपथ बाहिर पूर्वाधारको विकास गर्ने सबैको योजना सबैको कार्ययोजनामा परेको छ।

त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुखको उम्मेदवारका लागि पार्टी जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र पूर्ववडाध्यक्ष ज्ञानेन्द्र शाक्यको नाम चर्चामा छ। शुरूमा ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनको चर्चा चले पनि उनले व्यञ्जनकारलाई समर्थन गर्ने घोषणा गरेका थिए। इमानदार, सक्रिय र पार्टीप्रति समर्पित व्यक्तिका रूपमा चिनिएका अध्यक्ष व्यञ्जनकार करिब ४० वर्षको पार्टी राजनीतिक जीवन र त्यसमा पनि २५ वर्ष जिल्ला र नगरको महत्त्वपूर्ण जिम्मेवारी निर्वाहमा बितेको छ। ‘पार्टीभित्र क्रियाशील, पार्टीलाई परेको हरेक संकटमा पार्टीलाई जोगाउन र दिइएको जिम्मेवारी पूरा गर्न निर्वाह गरेको भूमिकाका आधारमा टिकटको पहिलो र महत्त्वपूर्ण दाबेदार मै हुँ’ –जिल्ला अध्यक्ष व्यञ्जनकारले भने।
२०५४ सालमा भएको पार्टी विभाजन, पछिल्लो पटक नेता अशोक राईसँगै पार्टीका कार्यकर्ताहरू पार्टी छोडेको अवस्थामा पनि विशेषतः नगरभित्र संगठन जोगाउन निर्वाह गरेको भूमिकालाई पार्टीले यसपटक अवमूल्यन नगर्ने उनको विश्वास छ। अहिलेसम्म कुनै सार्वजनिक पद नलिएर महानगरपालिकाको उम्मेदवारका लागि आफूलाई तयार गर्दै आएको पनि व्यञ्जनकारले बताए।

प्रमुखका अर्का दाबेदार ज्ञानेन्द्र शाक्य नातामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सालो हुन्। अध्यक्ष ओली प्रधानमन्त्री हुँदा वरिष्ठ राजनीतिक विश्लेषणका रूपमा नियुक्ति पाएका शाक्य यसअघि दुईपटक वडाध्यक्षमा निर्वाचित भइसकेका छन्। आफू पार्टीको पुरानो नेताका रूपमा रहेको बताउँदै शाक्य टिकट पाउनेमा विश्वस्त छन्। ‘मेरो ज्ञान, क्षमताका आधारमा योग्य उम्मेदवार हुँ’ –शाक्यले भने।

पहिलो संविधानसभाका निर्वाचनमा तीनवटै सिट जितेको माओवादी केन्द्रको तर्फबाट प्रमुखको उम्मेदवारको टिकट पाउनमा राजकाजी महर्जन, दिपेश महर्जन र कुलाल डंगोल चर्चामा छन्। राजकाजी महर्जन पहिलो संविधानसभाको चुनावमा निर्वाचित भएका थिए भने दिपेश महर्जन दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका थिए। जाति, भाषाको अधिकारसहित पहिचानसहित संघीयताको सवाल छोडेको र रातारात अकुत सम्पत्ति कमाएर भ्रष्ट बनेको भन्दै स्थानीय जनता माओवादीप्रति निकै असन्तुष्टि रहेको पाइएको छ। यस्तो अवस्थामा आफू नै पार्टीका लागि खाँचो रहेको डंगोलको ठम्याइ छ।
डंगोल आम जनतामाझ माओवादी पार्टीको कार्यकताभन्दा पनि समाजसेवी र ज्यापू समाजको संस्थापकका रूपमा पनि परिचित छन्। जाति, भाषा अधिकारका लागि लामो समयदेखि क्रियाशील भएको पृष्ठभूमि भताभुंग
भएको पार्टीलाई पुनःजीवन दिन निकै उपयोगी हुने उनको विश्लेषण रहेको छ।

प्रतिक्रिया दिनुहोस्