कलाकर्मीको नजरमा भूकम्पको घाउ र पुनर्निर्माण



रश्मी थापा
प्रलयकारी भूकम्प गएको र त्यसले देशभर विनाश मचाएको आजको दिन ठीक २ वर्ष पूरा भएको छ। कलाकर्मीहरुले २ वर्षअगाडि गएको त्यो प्रलयकारी भूकम्पलाई कसरी सम्झिएका छन् ? भूकम्पपछाडिको पुनर्निर्माणलाई कसरी अनुभव गरिरहेका छन्। पुनर्निर्माण कार्यलाई गति दिन के गर्नुपर्ला ? यस सन्दर्भमा कलाकर्मीहरुसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

भूकम्पको प्रभाव अझै बाँकी छ

करिश्मा मानन्धर

अस्ति मात्र म नुवाकोट गएको थिएँ। जुन ठाउँमा खानपानको व्यवस्था गरिएको थियो, त्यो ठाउँ एउटा आधा भत्किएको ठाउँमा जस्ताले बारेर बनाइएको थियो। त्यस्तो ठाउँमा बसेर खाना खाएका थियौं हामीले। त्यो देख्दा भूकम्पको प्रभाव अझै पनि उस्तै छ भन्ने महसुस भयो। नुवाकोटमा भूकम्प गएको २ वर्ष बित्दा पनि भत्केका घरहरुको अवस्था उस्तै रहेछ। त्यसो त अन्य जिल्लाको हालत पनि उस्तै छ। भूकम्पले दिएको घाउ अझै पुरिएकको छैन। हाम्रो देशको भौगोलिक अवस्थाको कारण पनि भूकम्प रोक्ने उपाय त छैन। तर, वैशाख १२ लाई भूकम्पको सावधानी अपनाउने दिनको रूपमा सम्झिन्छु। वैशाख १२ लाई मात्र होइन। सबै दिनलाई भूकम्पको सावधानी अपनाउने दिन मान्नुपर्छ। त्यसमा पनि १२ गतेलाई विशेष दिनका रूपमा लिन्छु।

भूकम्पपछिको पुनर्निर्माणमा सरकारको तर्फबाट प्रभावकारी काम हुनसकेको छैन। सरकारले जे–जति काम गरेको छ त्यो चित्त बुझ्दो छैन। विभिन्न एनजीओ, आईएनजीओहरूले आफ्नोतर्फबाट सहयोगी कामहरु गरिरहेका छन् तर यही काम सरकारबाट हुन सके राम्रो र प्रभावकारी हुन्छ। देश राजनीतिक स्थितिले जेलिएको अवस्थाका कारण पनि पुनर्निर्माणले गति लिन सकेको छैन। पुनर्निर्माण र विकासका कामहरु रोकिएका छन्। कतिपय भूकम्पपीडितहरुले खान बस्नकै समस्या भोगिरहेका छन्। यो भनेको एकदमै नराम्रो स्थिति हो। यस्ता कुराहरुमा आगामी दिनमा राज्यको ध्यान केद्रित हुनुपर्छ। राज्यको मात्र भर नपरेर निजी क्षेत्रबाट पनि पुनर्निर्माणका काम हुनु जरुरी छ। निजी क्षेत्रबाट काम नभएका त होइनन् तर यी काम मात्र पर्याप्त छैन। त्यस कारण अब भने पुनर्निर्माणका काममा सरकारले विशेष ध्यान दिनुपर्छ।

बिर्सिएको अनुभव भएको छ

झरना थापा

लाइफकै मेमोरेबल टाइम हो मेरो लागि वैशाख १२। केही नभए पनि १२ गते भनेपछि केही हुने हो कि, फेरि भूकम्प आउने हो किजस्तो तर्कना आइरहेको हुन्छ। १२ गते भनेर नै त्यस्तो त नहोला, पोजेटिभ्ली लिनुपर्छ।

२ वर्ष बितेसँगै भूकम्पको घाउ पनि बिर्संदै गएको अनुभव भएको छ। धेरै जनधनको क्षति भयो भने व्यवसाय गर्नेहरुको व्यवसायमा असर पारेको छ। सरकारले भूकम्पपीडितहरुका लागि गरेको काम खासै उपलब्धिमूलक देखिएको छैन। पुनर्निर्माणको कामले गति लिएको छैन। भूकम्पमा भत्किएको संरचना अझै जस्ताकोतस्तै छन्। भूकम्पपछीको पुनर्निर्माणलाई गति दिनको लागि मेन त सरकारबाट नै काम हुनुपर्छ। तर, सरकारको मुख ताक्नेभन्दा पनि आफ्नो तर्फबाट पनि काम हुनुपर्छ। हातमा हात राखेर सबै मिली अगाडि बढ्नुपर्छ। एक–एक व्यक्तिको सहयोगले पनि धेरै काम बन्न सक्छ।

पुनर्निर्माणको काम हुन सकेन

दिनेश अधिकारी

हामीले २ वर्षअघि मात्र त्यति ठूलो विपत्ति भोग्यौं, प्राकृतिक विपत्ति पर्दा हाम्रा संरचनाहरु प्रकृतिमैत्री नभएकाले गर्दा पनि हामीले धेरै दुःख झेल्यौं। तर, पनि अहिले आएर यी सबै संयन्त्रले त्यो दुःखको दिन बिर्सेको हो कि जस्तो लाग्छ। त्यति बेला भूकम्पको जोखिमबाट बच्ने उपायहरुका बारेमा कुरा गर्यौं, संरचना तयार गर्दा कसरी प्राकृतिक विपत्ति निरोधक बनाउने भन्नेबारे प्रतिबद्धता व्यक्त गर्यौं। तर, भूकम्पअघि जसरी निर्माणका कामहरु गरेका थियौं, अहिले पनि त्यस्तै तरिकाले गरिरहेको छौं। हामीले भूकम्पको क्षतिलाई लिएर अपनाउनुपर्ने जे थियो त्यो पूरा गरेनौं। दिन बित्दै जाँदा यी सबै कुराहरुलाई पनि बिर्संदै गएकाले वैशाख १२ लाई खल्लोरूपमा सम्झिन्छु।

जुन गतिले पुनर्निर्माणका कार्यहरु हुनुपर्ने थियो त्यसले गति लिन सकेन। सरकारले आफ्ना जनतालाई उपयोगी हुने गरी नीति निर्माण गर्नुपर्ने थियो, त्यो पनि हुन सकेन। सरकार परिवर्तनसँगै सरकारको सोच्ने ढंग र काम गर्ने तरिकामा पनि परिवर्तन हँुदै गएको पाइन्छ। एकातिर पुनर्निर्माण प्राधिकरण कानुनी संरचनामै अल्झिरहेको छ। कानुनी संरचना नै मिल्न नसकेर प्राधिकरणले आफ्नो काम गर्न सकेको छैन भने अर्कोतिर जनशक्तिको अभावमा पुनर्निर्माणको कार्य हुन नसकेको भन्ने कुरा पनि आइरहेको छ। पुनर्निर्माणलाई गति प्रदान गर्नको लागि सबैभन्दा पहिले त राज्यको सबै संयन्त्रबीच समन्वयन हुनु जरुरी छ। विदेश गइरहेका दक्ष र अर्धदक्ष जनशक्तिलाई नेपालमै रोकेर यहीं काम गर्नुपर्छ भन्ने म्यासेज दिएर यहीं टिकाउन सकियो भने पुनर्निर्माणले गति लिन सक्ला। अबदेखि अबदेखि भवन निर्माण गर्दा वा कुनै पनि संरचना निर्माण गर्दा भूकम्प फेरि पनि जान सक्छ भन्ने सोचरे खुला ठाउँ राखेर भूकम्प प्रतिरोधक घर निर्माण गर्नुपर्छ।

नेपालीको दयालु मन देखाइदियो

मदनकृष्ण श्रेष्ठ

मलाई त वैशाख १२ गते सम्झिँदा अझै पनि डर लाग्छ। जिन्दगीमा कहिल्यै नबिर्सिने दिन भयो त्यो। ९० सालको भूकम्पको बारेमा त सुनेको मात्र थिएँ, २ वर्षअघि त प्रत्यक्ष अनुभव गरियो। धेरै मानिसको मृत्यु, धेरै संरचना ध्वस्त भए। तर, त्यो भूकम्पले नेपलीहरुको वास्तविक परिचय देखाइदियो। सारा विश्वमा नै नेपालीहरु आन्दोलन गर्न मात्र जानेका छन्, भत्काउने बिगार्ने काम मात्र गर्छन् भन्ने सन्देश गएको बेला नेपालीहरु परेका बेला जे पनि गर्दा रहेछन् भन्ने देखाइदियो। त्यो बेला एक–अर्काको सहयोगका लागि धेरै जना एकजुट भई लागेको देखियो। गाउँ–गाउँमा पाल, खाने कुरा बाँड्दै हिँडियो। भूकम्पपछि ओझेलमा परेका ठाउँहरुमा पनि सहयोगका लागि धेरै नेपालीहरु दयालु मनका हुँदा रहेछन् भन्ने कुरा देख्ने मौका मिल्यो।

भूकम्प गएको २ वर्षसम्म पनि सरकारको तर्फबाट केही सहयोग हुन सकेको छैन। खै ५० हजार दिएको भन्ने सुनिन्थ्यो त्यो पनि सबैले पाएका छैनन्। भूकम्प प्रभावितहरुको सहयोगका लागि आफूले केही गर्न सकिँदैन, केही गरेको पनि हौं तर त्यो पर्याप्त हुन सक्दैन। सरकारले काम गर्नलाई पनि विभिन्न नियाम पुर्याउनुपर्ने हुन्छ। जसले गर्दा समयमा काम हुन सकिरहेको छैन। अबका दिनलाई जुन सरकार आए पनि प्राधिकरणलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्छ। राजनीतिक आधारमा कामको बाँडफाड हुनुहुँदैन। कामभन्दा पनि पैसाका लागि चहलपहल भएको पाइन्छ। तर, मानवताको भावनाले काम गर्नुपर्छ।

डोनेसनको पैसा कहाँ गयो


सरोज खनाल

त्यो वैशाख १२ लाई कालो दिनको रूपमा सम्झिन्छु। त्यतिबेला धनको भन्दा पनि दुःखद कुरा मानिसको जिउज्यानको क्षति भयो। मृत आत्मालाई हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु।

पुनर्निर्माणको काम त खत्तम नै छ। सरकारले भन्दा पनि विभिन्न संघ–संस्थाले सहयोगका कामहरु गरे। म पनि सहयोगका काममा संलग्न भएँ। विभिन्न राष्ट्रबाट डोनेसन पनि आएका थिए। तर, त्यो कहाँ गयो थाहा छैन। यहाँ त भूकम्पपीडितका लागि आएको जस्ता पनि प्वाल परेर राखिएको छ भन्ने सुनिन्छ।

हुन त सरकारमा हामीभन्दा निकै विद्वान व्यक्तिहरु छन्, तर भूकम्पको २ वर्षसम्म पनि केही काम हुन सकेको छैन। मानिसहरु अझै उठ्न सकेका छैनन्। राजनीतिक पार्टीको स्वार्थ पूरा नभएसम्म केही काम बन्ने अवस्था छैन। अझै पनि चुनाव हुने⁄नहुने कुरामा अन्यौलको अवस्था छ। अब स्थानीय निकाएको निर्वाचन भयो भने चाहिँ पुनर्निर्माणले गति लिन्छ कि भन्ने आशा छ।

धरहरा त बनेको छैन, अरू के आशा गर्ने

राजेशपायल राई

वैशाख १२ नेपालीहरुका लागि नराम्रो दिन हो। जुन दिनको स्मरण पनि गर्न चाहन्नँ। भूकम्प गएपछि जस्तो स्थिति थियो, अहिले पनि त्यही स्थिति छ। खासै केही रूपान्तरण भएको जस्तो लाग्दैन। नजिकै रहेको धरहरा त बन्न सकेको छैन भने अन्य भूकम्पपीडितको हालतमा केही पनि परिवर्तन भएको अपेक्षा गर्न सकिँदैन। विभिन्न संघ–संस्थाले काम त गरेका छन्। मैले आफैं पनि सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएर सहयोग गरेको छु। तर, त्यति सहयोगले केही हुने होइन केही घर–परिवारलाई मात्र होइन सम्पूर्णलाई सहयोगको आवश्यकता छ। पुनर्निर्माणले गति लिनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा त राज्यको इच्छाशक्ति चाहिन्छ, त्यहीअनुसारको बजेट पनि चाहियो साथै राज्यको काममा पारदर्शिता हुनुपर्छ।

भूकम्पको घाउ पुरिएको छैन

केकी अधिकारी

भूकम्प गएको २ वर्ष बितिसक्यो र पनि केही काम हुन पाएको छैन। त्यसैले पनि कसरी छिटो २ वर्ष बित्योजस्तो लाग्छ। धेरै धन–जनको क्षति भयो, धेरैले आफन्त गुमाए। अहिले सम्झिँदा पनि हामीले त्यो पल पनि भोग्यौं र भन्ने लाग्छ। त्यो पल फेरि नआओस् भन्ने लाग्छ। तर, भूकम्पले दिएको मनको घाउ अझै बाँकी छ। घाउ पुर्ने केही काम हुन सकेको भए पुनर्निर्माणको काम अनुभव गर्न सकिन्थ्यो होला।

पुनर्निर्माणको काम एकदमै सूक्ष्म गतिले अघि बढिरहेको छ। सरकारले प्रभावकारीरूपमा काम गर्न सकेको छैन। धुमुर्स–सुन्तली सारा समय दिएर पुनर्निर्माणका काममा खटिरहेका छन्। तर, गर्भमेन्टले निकै स्लो गतिमा काम गरिरहेको छ। यदि चाहेको भए र्यापिड्ली अगाडि बढाउन सक्थ्यो। के कारणले काम ढिला भयो। जिम्मेवार निकायले नीति नियम इम्प्लिमेन्ट गरेमा र पुनर्निर्माणको कामलाई पैसा आउने काम होइन सोसियल सर्भिसको रूपमा लिएर काम गरे गाह्रो छैन।

प्रतिक्रिया दिनुहोस्