मासिक सय रुपियाँमा पढाइ



ताप्लेजुङ, (नेस)
मासिक १ सय रुपियाँ शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नाकोतरसम्म अध्यायन गराउँदै आएको समता शिक्षा निकेतनले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ। यो समता विद्यालयको ५३औं शाखा हो।

ताप्लेजुङ सदरमुकाममा स्थापना भएको उक्त स्कुलमा अहिले नर्सरी, एलकेजी र यूकेजी र १ कक्षा सञ्चालनका लागि भर्ना दिइरहेको समताका दीपक सञ्जेलले बताउनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष १ कक्षा थपिँदै जाँदा सोही विद्यालयमा विद्यार्थीले एमएसम्म पढ्न पाउनेछन्।

ताप्लेजुङ शाखाको सोमबार एक कार्यक्रमका बीच विद्यालय प्राङ्गणमा उद्योग वाणिज्य संघ ताप्लेजुङ शाखा अध्यक्ष तारानाथ घिमिरेले फूलको गमलामा पानी हालेर उद्घाटन गर्नुभएको छ। काठमाडौंको बौद्धस्थित केन्द्रीय कार्यालय रहेको विद्यालयले ७५ वटै जिल्लामा सञ्चालन गर्ने योजनाअन्तर्गत शाखा विस्तार गर्दै गएको छ। ‘एजुकेसन फर अल’ भन्ने मूल नारा बोकेर देशभर समता विद्यालय सञ्चालन गर्न लागिएको सञ्जेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘समता विद्यालय सबैको विद्यालय हो। सबैको विद्यालयलाई सबै जिल्लामा पुर्याउनका लागि अभियानकै रूपमा दौडिरहेका छौं।’

२०७५ सम्ममा ७५ वटै जिल्लामा समता विद्यालय पुर्याउने लक्ष्य रहेको सञ्जेलको भनाइ छ। पैसा नभएकै कारण कसैले पनि गुणस्तरीय र अंग्रेजी सहितको शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले २०५८ सालमा स्थापना भएको विद्यालयले ४० हजारभन्दा बढी विद्यार्थीलाई अध्ययन गराउँदै आएको छ।
समता विद्यालयमा गुणस्तरीय शिक्षा भएकै कारण जिल्लाजिल्लामा समता विद्यालयको स्थापनाका लागि आह्वान र सहयोग पनि हुने गरेको सञ्जेलले बताउनुभयो। शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा पनि समता स्कुल काठमाडौं उपत्यकाको उत्कृष्ट २३ विद्यालयमा परेको उहाँको अनुभव रहेको छ।

१४ वर्षदेखि सञ्चालन भएको उक्त अभियानमा डा. उपेन्द्र महतोले ३ करोड ६५ लाख सहयोग गरेका छन् भने कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत अन्य कलाकार र व्यवसायी एवं व्यक्तिहरूले समेत पनि सहयोग गर्दै आएको बताइएको छ।

यसअघि मेचीको झापा र इलाम जिल्लामा मात्र रहेको यसको शाखा आइतबार पाँचथर र सोमबार ताप्लेजुङमा विस्तार गरिएको हो। ताप्लेजुङमा यसै शैक्षिक सत्रमा नै डेढ सय बढी विद्यार्थी भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्