संविधान संशोधन प्रस्ताव संसदमा पेस



काठमाडौँ, नेस ।

सरकारले ‘नेपालको संविधान दोस्रो संशोधन, २०७३’ व्यवस्थापिका–संसद् बैठकमा आज सोमबार पेस गरेको छ ।

कानुन मन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा सो संशोधन प्रस्ताव प्रस्तुत गर्दै संविधान कार्यान्वयन प्रक्रिया सरल बनाउन र संविधानको सर्वस्वीकार्यता अघि बढाउन संविधान संशोधन ल्याइएको जानकारी दिनुभयो ।

यसअघि संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गरेको विरोधको सूचनालाई संसद्को बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा सांसद सुवालले संशोधन द्रुत मार्गमा पारित गर्नु लोकतन्त्र विपरीत हुने बताउँदै सीमाङ्कन गर्दा प्रदेशको सहमति नचाहिने र स्थानीय तह बढाउने संशोधनका प्रावधानसमक्ष नागरिकतालाई सजिलो र सस्तो नबनाउन माग गर्नुभयो ।

आजको बैठकले ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

संसद्को अर्को बैठक वैशाख १२ गते दिउसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्