नौ महिना ५२ हजार पर्यटकले म्याग्दी भ्रमण गरे



प्रताप बानियाँ, म्याग्दी ।

पर्यटकीय सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीमा नौ महिनाको अवधिमा ५२ हजार पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका छन् । चालु आर्थिक वर्ष २०७३÷७४ को साउनदेखि चैत महिनासम्म कुल ५२ हजार २७ जनाले भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको स्वदेशी तथा विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयको रेकर्डअनुसार भ्रमण गर्नेमा पुरुष पर्यटकको सङ्ख्या २७ हजार ३ सय ५२ रहेको छ भने महिलाको २४ हजार ६ सय ७५ रहेको छ । प्रहरीको तथ्याङ्कअनुसार म्याग्दी भ्रमण गर्नका लागि जिल्ला भित्रिनेमा कुल ३२ हजार ७८ जना रहेका छन्भने १९ हजार ९ सय ४९ जना बाहिरिएका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार गएको साउन महिनामा २ हजार ५ सय ४५, भदौमा २ हजार ८ सय २६, असोजमा ७ हजार ५ सय ३५, कात्तिकमा १० हजार ९ सय ३७ र मंसिरमा ५ हजार २ सय २६ जनाले म्याग्दीको भ्रमण गरेका छन् । यसैगरी पुस महिनामा ३ हजार ९ सय ३४, माघमा ३ हजार ४ सय ६३, फागुनमा ४ हजार ७ सय ६५ र चैतमा १० हजार ७ सय ९३ जना भ्रमण गरेका थिए । उक्त विवरणअनुसार सबैभन्दा धेरै कात्तिक र कम साउनमा पर्यटकको आवागमन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उत्तरी म्याग्दीको भूरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका भएर पर्यटकहरु म्याग्दी भित्रिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताउनुभयो । कास्कीको घान्द्रुक, हिमालपारीको जिल्ला मुस्ताङ र कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत सिधै हेलिकप्टरको सहायताले जिल्ला भित्रिने गरेको उहाँको भनाई छ ।

म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिलबाट मनोरम दृश्यावलोकन, म्यागासेसे पुरस्कार विजेता महावीर पुनको गाउँ नांगीको अवलोकन, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा यात्रा तथा धौलागिरि हिमाल आरोहण गर्न आउने गरेका छन् ।

त्यस्तै सिङ्गा तथा भूरुङ–तातोपानीको तातोपानी कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवं मालिका मन्दिरको दर्शन गर्न र ती ठाउँबाट अन्य ठाउँको अवलोकन गर्न समेत पर्यटक आउने गरेको स्थानीय बताउँछन् ।

उता हिमालपारीको जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शनका लागि मनाङ र म्याग्दीको बेनी हुँदै हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवतजावत हुने गर्दछ । भूकम्प र नाकाबन्दीपछि भारतीय पर्यटकको सङ्ख्यामा कमी आए पनि आन्तरिक पर्यटक बढिरहेको बेनीका होटल व्यवसायी बाबुराम आचार्यले बताउनुभयो ।

पछिल्लो समय पर्यटकको उपस्थिति राम्रो रहेको हुँदा पर्यटकीय एवं धार्मिक क्षेत्रको प्रचारप्रसार गर्न सकेमा जिल्लामा पर्यटक आवागमन बढ्ने र होटल व्यवसाय समेत फस्टाउने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्