चुनाव वैशाख ३१ मै हुनुपर्ने एमालेको निष्कर्ष



मधेसी मोर्चालाई देखाएर सरकार चुनाव नगराउने षडयन्त्रमा

पुष्कर बुढाथोकी,भक्तपुर ।

नेकपा एमालेले सरकारले घोषणा गरेको बैशाख ३१ गतेको स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि संचारकर्मीलाई जानकारी गराउँदै एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले दुई चरणमा निर्वाचन गर्ने र त्यो पनि जेठ १५ गते पछि निर्वाचन गर्ने निर्णय एमालेलाई कदापी मान्य नहुने बताउनुभयो । एमालेको मधेसीे मोर्चा चुनावमा आउने ग्यारेन्टी र बजेटअघि नै दोस्रो चरणको चुनाव गराउने अवस्थामा मात्र दुई चरणको चुनाव गर्न सकिने ठहर गरेको छ ।

निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न सम्पूर्ण तयारी गरिसकेको अबस्थामा दुई चरणमा चुनाव गर्न खोज्नु चुनाव हुन नदिने, राजनीतिक गतिरोध कायमै राख्ने षडयन्त्र भएको एमालेले निश्कर्ष निकालेको छ । प्रचार बिभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो,निर्वाचनमा जनता उत्साहित भएको र सबै दलहरु निर्वाचनमा होमिसकेको अबस्थामा फेरी निर्वाचन सार्न खोज्नु निर्वाचन हुनै नदिने षडयन्त्र हुनसक्नेमा एमालेको आशंका छ ।

जेठ १५ गते बजेट ल्याएर आचार संहिता विपरित जेठ ३१ गते निर्वाचन गर्ने कुरामा एमाले सहमत हुनै नसक्ने एमालेको ठहर रहेको प्रतिक्रिया दिदै उहाँले बजेट प्रस्तुत गरेर चुनावमा राज्यशक्तिको दुरुपयोग गर्ने कार्यमा एमाले सहमत हुन नसक्ने बताउनुभयो । मधेसी मोर्चा चुनावमा भाग लिने ग्यारेन्टी र बजेट अगाडि दोस्रो चरणको चुनाव गर्ने भए लचिलो हुने एमालेको निर्णय छ ।

सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन एमाले सकारात्मक रहेको बैठकको निर्णय गरेको छ ।बैठकले सरकारले संविधान संशोधनका लागि ल्याएको अर्काे प्रस्ताव विगतको भन्दा पनि अझै प्रतिगामी रहेको भन्दै त्यस्तो संशोधन प्रस्ताव एमालेले असफल पार्ने निर्णय गरेको छ ।

एमाले सचिव भट्टराईले असंबैधानिक राष्ट्र बिरोधी, जनविरोधी प्रस्तावहरुलाई सम्पूर्ण प्रयत्नबाट असफल पार्न नेकपा एमाले अगाडि बढ्ने उहाँले बताउनुभयो । संविधान संशोधन विधेयक ल्याए संसदको प्रक्रिया अवरुद्ध नगर्ने तर, बिधेयक असफल पार्ने समेत निर्णय गरेको छ ।

स्रोतका अनुसार जेठ १५ गते बजे आउने र त्यसअघि सरकार परिवर्तन गर्ने अनि दोस्रो चरणको चुनाव गर्ने कुरा प्रक्रिया संगत नरहेको एमालेको ठम्याई छ ।चुनाव दुई चरणमै गर्ने भएपनि यति ठूलो ग्याप हुनु नहुने बताउँदै सचिव भट्टराईले दोस्रो चरणको चुनाव बजेट अघि नै गर्ने हो भने छलफल गर्न सकिने एमालेको निश्कर्ष छ ।

एमालेले मधेसी मोर्चा चुनावमा आउने ग्यारेन्टी र बजेटअघि नै दोस्रो चरणको चुनाव गराउने अवस्थामा मात्र दुई चरणको चुनाव गर्न सकिने बताएको छ ।साथै संविधान संशोधन विधेयक ल्याए संसदको प्रक्रिया अवरुद्ध नगर्ने तर, बिधेयक असफल पार्ने निर्णय गरेको छ । बैठकले मधेसी मोर्चालाई देखाएर सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्