प्रधानमन्त्रीलाई ओलीको जवाफ ‘हामी जालसाजीमा पर्दैनौं’



पुष्कर बुढाथोकी, भक्तपुर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।भक्तपुरको बालकोटस्थित ओली निवासमा छलफल गर्न पुग्नुभएका प्रधानमन्त्री दाहाल र ओलीबीच संविधान संशोधन र दुई चरणमा हुने स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो। स्थानीय तहको संख्या बढाउने बारेमा सरकार र मधेसवादी दलबीच भएको सहमतिबारेमा प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो–‘स्थानीय तहको संख्या कहाँ कति बढाउने, किन बढाउने, संख्या बढाउन कसले माग गर्यो, कसले जिद्धी गर्यो भन्ने कुरा हुँदैन, एमालेले आँखा चिम्लेर समर्थन वा विरोध गर्ने भन्ने हुँदैन।’

सरकारसँग एमाले अझै पनि सशंकित रहेको बताउँदै उहाँले सहमतिअघि एमालेसँग विषयगत रूपमा दफावार छलफल गर्ने आँट सरकारले नगरेको बताउनुभयो। करिब ४५ मिनेट भएको भेटमा मधसी मोर्चासँग भएको सहमतिका बारेमा प्रम दाहालले जानकारी गराउनुभएको ओलीले बताउनुभयो।भेटपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै ओलीले एमाले कुनै पनि जालसाजीमा नपर्ने बताउनुभयो।

वार्तामा प्रधानमन्त्री दाहालले शनिबार साँझ मधेसी मोर्चासँग भएको सहमतिको बारेमा जानकारी गराउँदै निर्वाचनका लागि पनि सहमतिमा समर्थन गर्न आग्रह गर्नुभएको ओलीको भनाइ थियो।त्रिपक्षीय गठबन्धनको लगातार बैठक बसेर समझदारी गर्दै आएको तर एमालेसँग कुनै परामर्श नभएकोमा ओलीको आपत्ति थियो। ओलीले भन्नुभयो– ‘हामीसँग परामर्श नभइ हिजो भएको सहमतिका बारेमा उहाँले जानकारी गराउनुभयो, हामी त्यसलाई हेर्छांै, अध्ययन गर्छौं, समर्थन गर्न लायक भेटियो भने समर्थन गर्छौं, प्रक्रियामा जान लायक देखियो भने जान दिन्छांै।’

प्रधानमन्त्री दाहालले भेटमा सहयोगको अपेक्षा गरे पनि सहयोग गर्न सक्छौं भन्न सक्ने अवस्था नरहेको ओलीले बताउनुभयो।उहाँले भन्नुभयो–‘उहाँहरूबीच के सम्झौता भएको छ, त्यो थाहा छैन, पहिलाको सम्झौताहरूको कार्यान्वयन हो, त्यस सन्दर्भमा भएको समझदारी हो भन्ने सुन्या छु, त्यो के हो बुझ्नुपर्छ।’ सरकार र मधेसी मोर्चाबीच भएको सहमतिमा एमालेको समर्थन रहन्छ कि रहन्न भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भन्नुभयो– ‘कस्तो संशोधन हो, जे ल्याए पनि संशोधनमा समर्थन गर्छांै भनेर भनेका छैनांै।’

सरकारले अघिल्लो संविधान संशोधन गलत र अनुपयुक्त ल्याएकाले एमालेले समर्थन नगरेको बताउँदै उहाँले भन्नुभयो–‘पहिला ल्याएको संविधान संशोधनको प्रस्ताव गलत थियो, हामीले धेरै भन्यांै, उहाँले अलि जिद्धि गर्नुभयो, पछि गलत नै रहेछ भनेर फिर्ता लिनुभयो, त्यो राम्रो भयो, अब अहिले कस्तो ल्याउने हो, हेर्नुपर्छ, त्यसपछि मात्रै भन्न सकिन्छ।’ एमाले चुनावको पक्षमा रहेको प्रतिक्रिया दिँदै उहाँले दुई चरणमा चुनाव गर्ने सन्दर्भमा भने जेठ १५ अगावै हुनुपर्ने धारणा राख्नुभयो। ओलीले भन्नुभयो– ‘जेठ १५ गते बजेट जारी हुन्छ, बजेट जारी गरेको हप्ता १५ दिनपछि चुनाव गर्ने, त्यो बजेटमा चुनाव प्रचारका लागि थुप्रै कुराहरू राख्ने, त्यसैलाई प्रचार गर्दै जाने कुरा एमालेलाई स्वीकार हुँदैन।’ एमाले हीनग्रन्थी र कमजोर मानसिकताबाट नचल्ने बताउँदै उहाँले दृढताका साथ एमाले देशको हितका लागि काम गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्