लिग विश्रामले फुटबल चौपट



फिरोज राजोपाध्याय, काठमाडौं
एक महिनाअघि फिलिपिन्समा भएको एएफसी एसियन कप फुटबल छनोट प्रतियोगितामा नेपाल फराकिलो गोल अन्तरले पराजित भएको थियो। सो खेलमा घरेलु टोली फिलिपिन्ससँग नेपाल ४–१ ले हारेको थियो। समूह एफ अन्तर्गत भएको उक्त खेलको पहिलो लिगमा नेपाल हारेपछि टिम किन निरीह भयो भन्ने प्रश्न खडा भएको छ। यस्तो प्रश्न उब्जिनु स्वाभाविक पनि हो। खेलमा हारजित हुनु नौलो कुरा नभए पनि केही समययता जित्ने बानी बसालेका नेपाली टिम भारी गोलअन्तरले हार्नु पछाडिको कारणप्रति प्रश्न तेस्र्याउन आवश्यक पनि छ।

नेपालले गएको केही वर्षमा तीन उपाधि देशभित्र भित्त्याएको थियो। गत वर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु कप, भारतमा सम्पन्न १२औं सागअन्तर्गत पुरुष फुटबल र मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि विजेता बनेर नेपाली फुटबलले स्वदेश तथा अन्तर्राष्ट्रिय जगत्मा गौरवपूर्ण सन्देश प्रवाह गर्यो। यी तीन अन्तर्राष्ट्रिय उपाधि जितेको नेपाली टोलीले लाओसमा मैत्रीपूर्ण खेलमा समेत बराबरी खेलेको थियो। यी आधारलाई हेर्ने हो भने अहिलेको नेपाली फुटबल इतिहासमै बलियो टिम बनेको छ। तर हालसालै मनिलामा चार गोल बेहोरेपछि भने नेपाली टोलीको स्तर पुनः ओरालो लाग्न थालेको भान गराएको छ। कारण विभिन्न हुन सक्छन्।

जसमध्येको मुख्य कारण नेपाली फुटबलको घरेलु प्रतिस्पर्धा अर्थात् लिग पनि हो। कुनै पनि बलियो राष्ट्रको मेरुदण्डका रूपमा रहेको हुन्छ घरेलु फुटबल लिग। तर नेपालको सन्दर्भमा लिगको इतिहास धेरै उतारचढावपूर्ण रहँदै आएको छ। वर्तमान परिप्रेक्ष्यलाई मान्नुपर्दा नेपाली फुटबलमा लिगको विश्राम अवधि लम्बिरहेको छ। विसं २०७० सालमा ए डिभिजन लिग भएयता अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिग सम्पन्न गरेको थियो। जुन झन्डै एक वर्ष नाघिसकेको छ। यसले खेलमा नै आश्रित खेलाडीहरू अनिश्चित भविष्यका कारण भौंतारिने र विदेश जाने क्रमले लगानी खेर जाने डरसमेत पैदा भएको छ।

हाल अस्ट्रेलियामा रहेका नेपाली फुटबलका चर्चित मिडफिल्डर जगजित श्रेष्ठलाई यसको एउटा उदाहरणका रूपमा लिन सकिन्छ। उनी भन्छन्– ‘एन्फाले समयमै लिग सञ्चालन गर्न नसक्नु र मोफसलमा राम्रो खेल नहुनाले खेलाडी विदेसिन बाध्य भएका छन्।’

यही सवालमा नाम नखुलाउने सर्तमा नेपालका एक प्रसिद्ध फुटबलरले पनि फुटबल खेलेर जीविका नचल्ने बताएका छन्। उनले नेपाल समाचारपत्रलाई भने– ‘नेपालमा लिग नियमित रूपमा हुँदैन, क्लबले पैसा राम्ररी दिँदैन, यस्तो भएकाले फुटबलबाट गुजारा हुन सक्दैन।’ राजधानीबाहिर नै ५⁄६ लाख पुरस्कारको प्रतियोगिता भइरहेको छ। यो सकारात्मक होइन र भन्ने जिज्ञाशामा उनको जवाफ थियो– ‘यति रुपियाँबाट कति हामीले पाउँछौं र? बाहिर मैदान राम्रो छैन। प्रतिस्पर्धा स्तरीय हुँदैन। घाउचोट लाग्ने सम्भावना पनि बढी छ। मेहनत गर्नुपर्यो। तर मेहनतअनुसार हाम्रो हातमा ५ हजार रुपियाँ पनि पर्दैन।’

‘लिग वैशाखमा’
खेलाडीको वेदना छँदै छ। त्यसमाथि दुई वर्ष पुग्न लागिसक्दा पनि भूकम्पका कारण क्षतिग्रस्त राजधानीमा अवस्थित दशरथ रंगशालामा खेलाउन सकिने अवस्था छैन। यसले राजधानीमा लिगको पुरानो क्रेजलाई फर्काउने सम्भावना न्यून नै देखिन्छ। तर एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने लिग वैशाखमै हुने तय भइसकेको बताएका छन्। उनका अनुसार नयाँ वर्ष २०७४ साल वैशाख १५ गते लिग सञ्चालन गर्ने तय भएको छ। यसमा किन अलमल भइरहेको भन्दा तुलाधरले भने– ‘अहिले प्रायोजकसँग कुरा भइरहेको छ। कुरा टुंगो लागेपछि लिगको मिति घोषणा गरिनेछ। यसमा शंका गर्नुपर्दैन। लिग हुन्छ पक्का हुन्छ।’

तुलाधरका अनुसार आउँदो लिगका लागि दशरथ रंगशाला पनि प्रयोग गर्ने प्रयास भइरहेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको फुटबल मैदान र लगनखेलरस्थित नेपाली सेनाको तालिम केन्द्रको मैदानमा खेलाउने तय भइसकेको छ। उनले भने– ‘हल्चोक मैदान र लगनखेलको आर्मीको मैदानमा लिग सञ्चालन हुनेछ। हामी दशरथ रंगशालामा पनि फुटबल खेलाउने प्रयासमा छौ। यता भीआईपी प्याराफिटमा जोड दिनुभन्दा पनि हामीले आर्मीतिरको प्याराफिट प्रयोग गर्नेतिर सोचेका छौं।’

१२ टिम हुनेछ
ए डिभिजन का १२ टिमले आउँदो लिगमा सहभागिता जनाउनेछन्। जसमा पछिल्लोपटक सम्पन्न लिग २०७० का विजेता मनाङ मस्र्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्डस् क्लब, संकटा क्लब, थ्रीस्टार क्लब, ब्रिगेड ब्वायज क्लब, मच्छिन्द्र क्लब, जावलाखेल युथ क्लब, सरस्वती क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन्।

यसमध्ये गत सिजनमा मनाङले आहा–रारा गोल्ड कप, खप्तड गोल्ड कप र झापा गोल्ड कप गरी तीनवटा उपाधि जितेको छ भने संकटाले पनि त्यति नै संख्यामा उपाधि जितेको थियो। संकटाले गत वर्ष चितवनमा भएको विकास रनिङ शिल्ड, सिमरा गोल्डकप र तिलोत्तमा गोल्डकप जितेको थियो। यस्तै आर्मीले हेटौंडा गोल्डकप मनाङलाई हराएर जितेको छ। यसै गरी अर्को विभागीय क्लब पुलिसले बुढासुब्बा गोल्ड कप जितेको छ। यस वर्ष खस्केको टिम भनेको एपीएफ क्लब हो। जसले एउटा पनि उपाधि जित्न सकेको थिएन। थ्रीस्टार अझै नखेल्ने मुडमा एएफसी कप छनोट फुटबलअन्तर्गत दोस्रो चरणमा सहभागिता जनाउने तय भइसकेको थ्रीस्टार क्लबले एन्फाको लापरबाहीले गर्दा एएफसी कपमा खेल्न पाएन। एन्फाले समयमा क्लबको नाम दर्ता नगराएपछि थ्रीस्टारको सपना चकनाचुर भएको थियो। यसले थ्रीस्टार र एन्फाबीच द्वन्द्व सिर्जना भयो र टोलीले यस वर्ष सम्पन्न दर्जनौं फुटबल प्रतियोगितामा भाग लिएन। थ्रीस्टारलाई लिग खेलाउने कोसिस जारी रहेको तुलाधर बताउँछन्। उनले भन– ‘हामीले थ्रीस्टारसँग कुरा गरिरहेका छौं। हेरौं के हुन्छ। थ्रीस्टारले खेल्नेमा हामीले आशा गरेका छौं।’
उता थ्रीस्टारका कार्यवाहक अध्यक्ष अरूणमान जोशीले कुरा नमिलेकाले खेल्ने कुरै नभएको बताएका छन्। उनले भने– ‘हामीले क्षतिपूर्तिको ६ करोड माग गरेका छौं। एन्फाले यसमा घटाएर ज्यादै न्यून रकम दिने खोजिरहेको छ। हामीले न्याय नपाएसम्म कही पनि खेल्ने छैनौं। एन्फाको प्रतिवेदन आउन बाँकी छ। हामी पर्ख र हेरमा छौं।’

प्रतिक्रिया दिनुहोस्