‘चुनावको तिथि आयोगले तोक्ने व्यवस्था हुनुपर्छ’



नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरूबीच सहमति गरेर निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ।

स्थानीय तहको निर्वाचनसम्बन्धी समाचार कसरी सम्प्रेषण गर्न सकिन्छ भन्ने विषयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो। निर्वाचनको मुख्य सरोकारका रूपमा रहेको दलहरूबीच अनमेलले गर्दा सोचेअनुरूप निर्वाचनको वातावरण नबनिरहेको भन्दै उहाँले सो आग्रह गर्नुभएको हो।

आयोगले प्राविधिक तयारीअन्तर्गत जनशक्ति व्यवस्थापन, मतपत्रलगायत निर्वाचन सामग्री जिल्ला जिल्लामा पठाउने तयारी गरिरहेको जनाउँदै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको वातावरण अझ बनाउन दलहरूबीचको सहमति अपरिहार्य रहेको बताउनुभयो।
उहाँले निर्वाचनको मिति तोक्ने अधिकार सरकारसँग रहेसम्म अद्यावधिक निर्वाचन सुनिश्चित नहुने बताउँदै जुनसुकै निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुपर्ने पनि धारणा राख्नुभयो। ‘कार्यकारीले आफू अनुकूल निर्वाचन तोक्ने र निर्वाचन मिति सार्ने कार्यले अद्यावधिक निर्वाचनको सुनिश्चित गर्दैन।’ –प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो।

सो अवसरमा विभागका प्रमुख चिरञ्जीवी खनालले नेपालमा निर्वाचन समाचार सम्प्रेषण र निष्पक्षताबारे कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनसम्बन्धी समाचार निष्पक्ष र सन्तुलित तरिकाले संकलन गर्न राजनीतिक दल, उम्मेदवार, व्यापारिक समुदाय र सरकारको रुचि तथा दबाब एवं समाचार मूल्यप्रति पत्रकारको संवेदनशीलता अभावलगायतका चुनौतीहरू रहेको बताउनुभयो।
सो अवसरमा जापानका सञ्चारविद् टोसीयुकी सातो, मोकोतो हराडा र किलची हासिमोतोले जापानको अनुभवसहित सन्तुलित र निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्ने विषयमा केन्द्रित कार्यपत्र प्रस्तुत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्