रायनलाई पारिजात सम्मान



हेटौंडा, (नेस)। जनता जगाउने सर्जकका रुपमा चिनिएका गायक रायनलाई यस वर्षको पारिजात स्मृति सम्मानबाट सम्मानित गरिने भएको छ। साहित्यकार पारिजातको स्मृतिमा मंगलबार हेटौंडामा आयोजना गरिने साहित्यिक कार्यक्रममा रायनलाई सम्मान गर्ने जनाइएको छ।

साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाले संयुक्तरूपमा गर्ने साहित्यिक कार्यक्रममा सम्मानसहित रायनलाई नगद १० हजार रुपियाँ प्रदान गरिने संगमका अध्यक्ष सुवास खनालले जानकारी गराए।

रायन हाल पारिजात स्मृति प्रतिष्ठान काठमाडौंका अध्यक्ष हुन्। जनजागरणका गीतसंगीतमार्फत् समाज परिवर्तनमा लागेका रायन त्यही बाटोमा निरन्तर लागिरहेका छन्। रायनका गीतसंगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्। साहित्यकार पारिजातको अर्धकदको प्रतिमा रहेको स्थान हेटौंडा–१०, बसपार्कमा सम्मान कार्यक्रमको आयोजना गरिएको छ। प्रतिमा स्थापनादेखि नै दुवै संस्थाले संयुक्तरुपमा पारिजातको स्मृतिमा कार्यक्रम गर्दै आएका छन्। प्रत्येक २ वर्षमा एक जना साहित्यकारलाई पारिजात स्मृति सम्मानबाट सम्मानित गर्ने गरिएको छ।

२०७१ मा पारिजात स्मृति सम्मानबाट साहित्यकार लक्ष्मी माली सम्मानित भएकी थिइन्।

२००० साल ऋषि पञ्चमीका दिन ओखलढुंगाको रमणीय पहाडी बजार भैरवटोलमा विष्णुबहादुर श्रेष्ठ र मानकुमारी श्रेष्ठका जेठा छोराका रुपमा रायन (नारायणभक्त श्रेष्ठ) को जन्म भएको हो। बाल्यकालदेखि नै संगीत र गीतमा विशेष रुचि राख्दै र सिक्दै आएका नारायणभक्त श्रेष्ठका बाजे रामबाबु श्रेष्ठ पनि ख्यातिप्राप्त उस्तादका रुपमा प्रसिद्ध छन्। विशेष गरी बाजेका प्रभावले संगीतमा रुचि राख्दै आएका नारायणले १६ वर्षको छ”दा गाउ”कै विद्यालयमा शिक्षक भएर सेवा पु¥याएका थिए।

रायनको सम्पर्क २०१८ सालतिर रामेशसँग भएको थियो। यसभन्दा अघि २०१२ सालतिर कवि गोकुल जोशीसँग भेट हुँदा यिनी उक्त कविको व्यवहार, सक्रियता र सरलताबाट निकै प्रभावित भएका थिए। विद्यार्थी छ”दा २०१४ सालतिर १४ वर्ष उमेरमा उनले योङ कम्युनिष्ट लिगको सदस्य भएर आफ्नो विद्रोही स्वभाव देखाइदिए। रायनले २०१९ सालतिर रामेशसँग मिलेर रेडियो नेपालको आयोजनामा भएको प्रथम लोकगीत प्रतियोगितामा भाग लिएका थिए।

उनले २०२१ सालदेखि २०२४ सालसम्म नियमित रुपमा लोकलहरी हिमाली संगममा गीत गाउन थाले। त्यसैताका यिनीहरुले गाएका गीत सुनेर पारिजातले यिनीहरुसँग भेटघाट गर्ने इच्छा व्यक्त गरेअनुसार उनीसँग यिनीहरुको सम्पर्क भयो। यसैताका पारिजातसँग मिलेर राल्फा समूहमा अरू साथीहरुसँग आबद्ध भएपछि रायन हुन पुग्यो। रायन भइसकेपछि रामेश, मञ्जुल, निनु, अरिम, नोरेम थुप्रै युवाहरुसँग मन साटासाट गरेर, परिवेश छामेर गीत, संगीत र साहित्य क्षेत्रमा आआफ्नो ढंगको उच्छ्वासहरु फालेको देखिन्छ।

राल्फा समूहबाट रायन बनेका गायक नारायणभक्तले जहिले पनि जनता, देश र समाजका हितका लागि, कुपरम्परा र खराब रीतिथितिका विरोधमा आफ्नो आवाज संगीतको तरंगमार्फत् साहित्यिक अभिव्यक्ति पोखेका छन्। रायनले कहिल्यै झुक्न खोजेनन्, जानेनन् र सिकेनन् पनि। पञ्चायतको कालरात्रिमा पनि यिनले कहिल्यै, कसैसँग सम्झौता गरेनन्।

प्रतिक्रिया दिनुहोस्