उपाधिका लागि चौराह र विराटनगर भिड्दै



नेपाल समाचारपत्र
काठमाडौं
आज शनिबार धनगढी प्रिमियर लिगको फाइनलमा टिम चौराह धनगढी र विराटनगर किंग्सबीच उपाधि भिडन्त हुँदै छ।

एकातर्फ पारस खड्काको नेतृत्वमा रहेको चौराह र अर्कोतर्फ शरद् भेषावकरको कप्तानीमा रहेको विराटनगर रहेका छन्। दुवै टोलीले फाइनल पुग्न रूपन्देही च्यालेन्जर्सलाई हराएका थिए। जबकि शक्ति गौचनको रूपन्देही च्यालेन्जर्सले लिगमा शीर्ष स्थान हात पारेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको विराटनगर किंग्स लिग चरणमा ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो। पहिलो क्वालिफायर खेलमा रूपन्देही च्यालेन्जर्सलाई २९ रनको अन्तरले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यस्तै पारसको टोली भने शुरुआती तीन खेलमा चल्न सकेन।

तीन खेल लगालग हार्दा सबैले पारसको टोली लिग चरणबाटै बाहिरिने घोषणा गरिसकेका थिए। तर अन्तिम दुई खेल जितेर एलिमिनेटर खेल खेल्न छनोट भयो। यहीँबाट पारसको टोली टिम चौराहले उपाधि जित्ने सम्भावनालाई बलियो बनायो पनि।
एलिमिनेटरमा वसन्त रेग्मीको काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको चौराह दोस्रो क्वालिफायर खेलमा रुपन्देहीमाथि पुरै हावी बनेको थियो। जसमा पारसले कप्तानी भूमिका खेलेका थिए। उनले ६७ रन जोडेका थिए।
यसअघि लिग चरणको खेलमा विराटनगर किंग्सले आयोजकको टिम चौराहलाई २३ रनले हराएको थियो।
उक्त खेलमा विराटनगरका कप्तान शरद्ले अलराउन्ड प्रदर्शन गरेका थिए। उनले ब्याटिङतर्फ ३२ बलमा ४६ रन बनाए भने बलिङतर्फ ४ ओभरमा २० रन खर्चेर तीन विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्