नेयमार प्रभावशाली व्यक्ति



न्युयोर्क, (एजेन्सी)

विश्व प्रसिद्ध साप्ताहिक म्यागाजिन टाइम्सले जारी गरेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा चर्चित फुटबलर नेयमार परेका छन्।

उक्त सूचीमा पर्ने नेयमार एक्लो फुटबल खेलाडीसमेत बनेका हुन्। बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेयमार उक्त सूचीमा अटाएपछि इंग्लिस फुटबल टिमका पूर्वकप्तान डेभिड बेकहामले विश्वको उत्कृष्ट खेलाडी बन्ने होडमा नेयमारले आफ्नो यात्रा सही गरिरहेको प्रतिक्रिया दिएका छन्।
‘कुरा स्पष्ट छ, १७ वर्षको उमेरमा ब्राजिलियन क्लब सान्तोसमा अनुबन्ध भएदेखि नै उनले प्रभावशाली खेल पस्कँदै आएका छन्। उनी एउटा पुस्तामा एक पटक जन्मिने त्यस्ता खेलाडी हुन् जसले बल खुट्टामा राख्दा समर्थकमा उत्साहको लहर दौडिने गर्दछ।

यसमा कुनै शंका छैन, सन् २०१४ मा सम्पन्न फिफा विश्वकपयता उनले उच्चस्तरीय प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।’ –बेकहामले भने।

नेयमारले जारी सिजनमा ४० खेल खेल्दै १५ गोल गर्नुका साथै १८ गोलका लागि सहयोगी भूमिका निर्वाह गरेका छन्। नेयमारबाहेक एमएमएका खेलाडी कनर मेकग्रेगर, अमेरिकन फुटबल खेलाडी टम ब्रेडी, बास्केटबल खेलाडी लेब्रोन जेम्स, जिम्नास्टिक खेलाडी सिमोन बेल्स उक्त सूचीमा पर्ने अन्य खेलाडीहरू हुन्।
सन् २०१४ मा रियल मेड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो टाइम्सको एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेयता नेयमार त्यस सूचीमा पर्ने पहिलो फुटबल खेलाडी हुन्।

जारी गरिएको नयाँ सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्रिटिस प्रधानमन्त्री थेरेसा मेसमेत अटाएका छन्।

प्रतिक्रिया दिनुहोस्