७७ दशमलब ६३ प्रतिशत भन्सार राजस्व असुल



हेमन्त जोशी, काठमाडौं

चालू आर्थिक वर्षको नौ महिना अवधिमा भन्सार राजस्वको कुल लक्ष्यमा ७७ दशमलब ६३ प्रतिशत असुली भएको छ। चैत मसान्तसम्म भन्सारमार्फत् १ खर्ब ९१ अर्व १ करोड २३ लाख रुपियाँ बराबरको राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ। देशका विभिन्न २३ वटा भन्सार कार्यालयमार्फत् उक्त राजस्व रकम असुली भएको हो।

जसअन्तर्गत चैत महिनामा मात्र २२ अर्ब ६२ करोड ११ लाख ८१ हजार रुपियाँ संकलन भएको छ। चैत महिनाको राजस्व असुली लक्षभन्दा २ दशमलब १५ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ। चैत महिनासम्मको राजस्व रकम चालू आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ५५ अर्ब ३ करोड ६७ लाख ६१ हजार रुपियाँले कम हो।
चालू आर्थिक वर्षमा २ खर्ब ४६ अर्ब ४ करोड ९० लाख ८८ हजार राजस्व भन्सारमार्फत् संकलन गर्ने सरकारको लक्ष्य छ। नौ महिना अवधिमा भन्सार राजस्व असुली लक्ष्यमा ७ दशमलब ८२ प्रतिशतभन्दा बढी राजस्व उठेको भन्सार विभागका तथ्यांक शाखा प्रमुख विनोदशरण आचार्यले जानकारी दिनुभयो। आर्थिक वर्ष २०७२÷७३ सोही अवधिसम्मको तुलनामा भन्दा यस वर्ष राजस्व असुली ५५ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ। चैतसम्मको राजस्व असुलीमा लक्ष्यभन्दा करिब १३ अर्ब ८५ करोड ७० लाख रुपियाँ बढी संकलन भएको हो।
चालू आर्थिक वर्षको चैत महिनासम्म ९ वटा भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व असुली गरेका छन्। भन्सार विभागको तथ्यांक अनुसार त्रिभुवन विमानस्थल, तातोपानी, सर्लाही, सिराहा, राजविराज, विराटनगर र सुनसरी भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेका छन्।
विराटनगर भन्सार कार्यालयले लक्ष्यभन्दा २३ करोड ८ लाख २७ हजार रुपियाँ कम राजस्व संकलन गरेको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले लक्ष्यभन्दा करिब १० करोड रुपियाँ कम राजस्व असुल गरेको छ। भैरहवा भन्सार कार्यालयले भने लक्ष्यभन्दा ११ अर्ब ११ करोड २८ लाख ९० हजार भन्दा बढी राजस्व संकलन गरेको छ ।
भन्सार प्रशासनले मूल्य अभिवृद्धि कर, भन्सार शुल्क र अन्तःशुल्क करमार्फत् सो रकम असुली गरेको हो। चालू आर्थिक वर्षमा १ खर्ब ४७ अर्ब ४० करोड ६८ हजार रुपियाँ लक्ष्य लिइएको भन्सार शुल्कमार्फत् चैत मसान्तसम्ममा ८३ अर्ब ४२ करोड ८१ लाख रुपियाँ संकलन भएको छ। जुन रकम चैतसम्मको लक्ष्यमा ९ दशमलब ७७ प्रतिशत गत आर्थिक वर्षको तुलनामा ५६ दशमलब ८८ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट्) मार्फत १ खर्ब ५३ अर्ब ९ करोड १६ लाख २५ हजार लक्ष्य लिइएकोमा ७८ अर्ब ११ करोड ८८ लाख १० हजार रुपियाँ संकलन भएको छ। यो असुली रकम वार्षिक लक्ष्यमा ७३ दशमलब १२ प्रतिशत मात्र हो। अन्तःशुल्क करमार्फत् ३५ अर्ब ९१ करोड ७३ लाख ९५ हजार लक्ष्य लिइएकोमा २९ अर्ब ४६ करोड ५४ लाख १७ हजार रुपियाँ संकलन भएको भन्सार विभागले जनाएको छ। अन्तःशुल्क करमार्फत् वार्षिक लक्ष्यमा हालसम्म ८२ दशमलब ०४ प्रतिशत असुल भइसकेको भन्सार विभागले जनाएको छ।
भन्सारले मुलुकको कुल राजस्वको ४४ प्रतिशत र कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्छ।

प्रतिक्रिया दिनुहोस्