पारसको विस्फोटक ब्याटिङले चौराह फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
पारस खड्काको विस्फोटक ब्याटिङले आयोजक टोली धनगढी टिम चौराह धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा पुगेको छ।

बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा टिम चौराहले रूपन्देही च्यालेन्जर्सलाई ९२ रनको फराकिलो अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो। टिम चौराहले १ सय ७३ रनको लक्ष्य दिएकामा केवल ८० रनमै रूपन्देहीका सबै ब्याटसम्यान पवेलियन फर्केका हुन्। पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्ससँग हारेको रूपन्देहीका तीन ब्याटसम्यान दोहोरो अंकमा पुगेका थिए। जसमा राजेश पुलामी र कृष्ण कार्कीले समान १४ अंक जोडे भने पुष्प थापाले १३ रन बनाए।

अन्य ब्याटसम्यान टिम चौराहका बलरसामु टिक्नै सकेनन्। ओपनरमा हरिशंकर साह ४ रनमा आउट हुँदा शंकर राना ९ रनमा पवेलियन फर्के। त्यस्तै विक्रम सोब ५ रन, प्रकाश केसी ८ रन र अन्तिम थापा १ रनमा आउट भएका थिए। चौराहका बलरमा आरीफ शेखले दुवै जना ओपनरलाई बोल्ड गर्दै टोलीको जितको आधार तयार गरेका थिए। त्यस्तै सौरभ खनाल र ललित राजवंशीले समान ३⁄३ विकेट झारेपछि रूपन्देहीको यात्रा समाप्त भएको थियो। सुशन भारीले अन्तिम विकेट लिएका थिए।

यसअघि कप्तान पारस खड्काको कप्तानी पारीको मद्दतले टिम चौराहले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ को विशाल स्कोर खडा गरेको थियो। पारसले ४१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६७ रन बनाए। उनले ३२ बलमै आफ्नो अर्धशतक पूरा गरेका थिए। कप्तानी इनिङ खेलेका उनी म्यान अफ द म्याच घोषित भए।

यसै गरी ओपनर राजु रिजाल र अनिल कुमार मण्डलले ठोस शुरुआत दिलाएका थिए। अनिलले ११ बलमा १३ रन र राजुले २८ बलमा २५ रन जोडे। पृथु बाँस्कोटा र आरीफ शेख क्रमशः ४ र ७ रन आउट भए। जबकी सौरभ खनालले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन बनाए। अमर सिंह रउटेलाले पनि १२ बलमा ३ चौकाको सहायताले १६ रन बनाएका थिए।

रूपन्देहीका बलरहरू पारसको उत्कृष्ट ब्याटिङमा निरीह सावित भएका थिए। टोलीका कृष्ण कार्कीले २ विकेट लिन ४० रन खर्चे भने विक्रम भुसाल र साहब आलमले पनि १⁄१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्