राजेश हमाललाई फेसबुकमा सीमित नभई विकासमा सघाउन मेयर बन्ने सुझाव दिएकी हुँः



करिश्मा मानन्धर

विदुर गिरी

नायिका तथा निर्मात्री करिश्मा मानन्धर पछिल्लो समय फिल्म कम, राजनैतिक गतिविधिमा बढी सक्रिय छिन्। डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा लागेर राजनीति शुरू गरेकी उनी स्थानीय निर्वाचन नजिकिँदै जाँदा चुनाव केन्द्रित गतिविधिमा पनि सक्रिय हुँदै छिन्। हालै उनले नायक राजेश हमाललाई स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका लागि मेयरको उम्मेदवारी दिन र त्यसमा आफूले भोट हाल्ने सुझाव दिँदा त्यसलाई व्यंग्य भन्दै चर्को विवाद पनि भयो। यिनै विषयमा उनलाई गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः

तपाईं अब राजनीतिज्ञ कि अभिनेतृ ?
आफूलाई राजनीतिज्ञ वा अभिनेतृ भन्नुभन्दा पनि मैले यसलाई एउटा ट्रान्जिट पिरियडको रूपमा लिएकी छु। अभिनेतृ त म अवश्य पनि हुँ। यत्रो वर्षदेखि अभिनेतृ भएरै काम गर्दै आएकी छु। तर, अहिले केही समयदेखि फिल्ममा सक्रियरूपमा काम गरिरहेको छैन। नयाँ शक्ति नयाँ पार्टी भएकाले धेरै मेहनत गरिरहेको छु, धेरै चुनौती छन् र गाह्रो पनि पारिरहेको छ। देश चुनावमा गइरहेको र हाम्रो पार्टीले चिह्न नपाएको अवस्था छ। यसका लागि संघर्ष गरिरहेका छौं। त्यसैले अहिले पार्टीलाई नै प्राइरिटी दिइरहेकी छु। एक⁄दुई वर्ष भयो फिल्म मेकिङको काम पनि गरेको छैन। एक⁄दुई वटा फिल्म बनाउने भनेर स्क्रिप्ट हेरिरहेकी छु। तर, पार्टीको कामले त्यसमा पनि टाइम दिन नपाएको जस्तो भएको छ।

पार्टीलाई चाहिएर तपाईं जानुभएको हो कि तपाईंलाई पार्टी चाहिएर जानुभएको ?
वास्तवमा दुवैलाई दुवै चाहिएको होइन। बाबुराम भट्टराईले एउटा वैकल्पिक धारको सोचले आफ्नो पार्टी छोडेर नयाँ पार्टी खोल्नुभएको छ। म राजनीतिमा चासो राख्ने मान्छे हुँ । त्यसलाई पार्टीलाई म चाहिने भनेर वा मलाई पार्टी चाहिने भएर भन्दा पनि वैकल्पिक स्रोतका लागि भनेर यो पार्टीमा आबद्ध भएको हुँ। मलाई कुनै एउटा पार्टी चाहिएको हो भने त बनी–बनाउ पार्टीमै जान्थें नि। म त्यो सोचबाट टाढा भएर नयाँ बाटो बनाउन हिँडेको छु । मलाई लाग्दैन कि म सेलिब्रेटी भएकाले पार्टीले मलाई राखेको हो। नयाँ शक्तिमा मबाहेक सरोज खनाल, अशोक शर्मा जस्ता कलाकार पनि हुनुहुन्छ। पार्टीलाई देखाउनका लागि सेलिब्रेटी चाहिएको भए अरू सेलिब्रेटी पनि थिए नि। अरूलाई पनि राख्न सकिन्थ्यो नि। म कुनै पनि काम गर्दै गर्दिनँ, गरेपछि हन्ड्रेड पर्सेन्ट गर्ने कोशिष गर्छु। पार्टीमा पनि त्यहीरूपमा लागि परेकी छु।

स्थानीय निर्वाचनमा तपाईंको उम्मेदवारी केमा हुनेछ अ?
अहिले उम्मेदवारीको बारेमा खासै सोचेको छैन। पार्टीले जे निर्णय गर्छ, त्यहीअनुसार अगाडि बढ्ने सोचमा छु। म पदमा जानका लागि भन्दा पनि अभियन्ताका रूपमा रहेर काम गर्न पार्टीमा आबद्ध भएकी हुँ। अरू ५ वर्ष राजनीति र पार्टीलाई बुझ्छु। पार्टीले अगाडि सारेको खण्डमा कुनै पनि काम गर्न तयार छु। पार्टीले उम्मेदवार बनाए त्यसका लागि पनि तयार छु, तर आफैं त्यस्तो सोच बनाएको छैन। आफू उम्मेदवार नभए पनि पार्टीका सबै उम्मेदवारलाई सघाउँछु। जो उम्मेदवार भए पनि विचार त पार्टीकै जाने हो नि।

राजेश हमाललाई तपाईंले काठमाडौंको मेयर बन्न दिनुभएको सुझाव वास्तवमै सल्लाह थियो कि व्यंग्य ?
त्यो व्यंग्य होइन, मैले वास्तवमै सुझाव दिएकी हुँ। तर, उहाँले व्यंग्यका रूपमा लिनुभए पनि लिनुहोस्। उहाँ भनेको चलचित्र क्षेत्रमात्र होइन, विश्व र देशलाई बुझेको मान्छे हो। उहाँले सोचेको जस्तो पार्टी कुरिरहेको भने त्यो गाह्रो हुन्छ। त्यसैले आफूले आफैंलाई विश्वास गर्ने हो, कुनै पार्टीमा जाने हो। वास्तवमै चाहना छ भने देशको विकास गर्न सकिन्छ। जसको उदाहरण कुलमान घिसिङले देखाइसक्नुभएको छैन। राजेशजीलाई फेसबुकमा मात्र सीमित हुनुभन्दा राजनीतिमा सक्रिय भएर देशको विकासमा लाग्नूस् भनेर सल्लाह दिएकी हुँ। कतिले राजनीतिमा नआई पनि देशको विकास गर्न सकिन्छ भनेको पनि पाएँ। तर, निजीअ क्षेत्रबाट यो काम गर्न मुश्किल हुन्छ। राजनीति भनेको यस्तो नीति हो जसेले देशको अनुहार बदल्न सकिन्छ। राजेशजी जस्तो स्वच्छ छवि र निःस्वार्थ भावनाको मान्छेले चाहनुभयो भने देशको विकास गर्न सक्नुहुन्छ भनेर मेयर बन्न सुझाव दिएकी हुँ।

नेपालमा कलाकारलाई राजनीतिज्ञका रूपमा दर्शकले कत्तिको स्वीकार गर्लान् ?
कलाकारिता सबैका लागि हुन्छ। हरेक वर्गका लागि हुन्छ। तर, राजनीति भनेको एउटा पार्टीमा लागेपछि अरू पार्टीको नामै लिन नहुने, मनै नपराउने चलन छ। सबै पार्टी देशकै लागि हुन्छ। यसको पक्ष–विपक्ष हुने भएकाले कलाकार अगाडि सरेर देशको विकास गर्छु भनेपछि टिका–टिप्पणी हुन्छ। तर, समयले त काम हेर्छ नै। समयले प्रमाणित गरेर देखाउँछ। यस्तो टिका–टिप्पणी कलाकारले खप्नै पर्ने हुन्छ जसलाई मैले पनि खप्दै आएको छ। जति टिका–टिप्पणी भए पनि कलाकारलाई उसको छवि र सोचका कारण राजनीतिमा पनि जनताले स्वीकार्नेछन् भन्ने मेरो विश्वास हो।

प्रतिक्रिया दिनुहोस्