२५ सय लिटर अवैध घरेलु मदिरा नष्ट



नेपाल समाचारपत्र
बुटवल
२०७० मा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा पहिलो नम्बरमा नाम निकालेका मधु नेपालले देशका विभिन्न ठाउँमा आफ्नो कार्यदक्षता पुष्टि गरिसकेका छन्। २०७३ को पुस २० गते वडा प्रहरी कार्यालय बुटवलको जिम्मेवारी सम्हाल्न आइपुगेका उनको काम गर्ने शैली र रफ्तारले बुटवल बजारमा राम्रै चर्चा पाएको छ। जनतासँग हातेमालो गर्दै अपराध न्यूूनीकरणका लागि उनले बनाउने योजनाको वडामा मात्रै होइन जिल्लामा पनि उत्तिकै स्थान पाएको छ। केही समययता बिगबिगी बन्दै गइरहेको घरेलु अवैध मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक मधु नेपालले विशेष योजना के सार्वजनिक गरेका मात्र थिए ३ दिनमै २५ सय घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेका छन्। बिहीबार पत्रकार र सरोकारवाला निकायको रोहोवरमा मदिरा नष्ट गरिएको थियो।

हेर्दा जोकोहीलाइ पनि सामान्य लाग्न सक्छ, प्रहरीले घरेलु मदिरा नष्ट गर्नुलाई। तर यसले समाज र स्वास्थ्यलाई पार्ने प्रभावका विषयमा मानिसहरू अझै पनि खुलेर बोल्न सक्दैनन्। अत्यन्त हानिकारक यी घरेलु मदिराको नियन्त्रणले ढिलोचाँडो समाजमा सकारात्मक असर भने अवश्य पार्नेछ। कुहिएका चामल र त्यसको झोल प्रायः गाउँघरमा बढी मात्रामा घरेलु मदिराको उत्पादन र अवैध कारोबार हुने गरेको पाइन्छ। तर त्यसको प्रभाव शहरका गल्लीगल्लीमा पनि परेको छ।

चर·े, बेसक्याम, बसपार्क, इँटाभट्टी, ड्राइभरटोललगायतका बस्तीमा यसको बढी कारोबार हुने गरेको इन्स्पेक्टर मधु भन्छन्– ‘सरकारलाई राजस्व नतिरीकन गरिने यो नियन्त्रणको अभियान चाडपर्वमा मात्रै होइन निरन्तर रूपमा अगाडि बढाइनेछ।’ कतिपय व्यापारीहरूले घरेलु मदिरालाई आकर्षक बोतलमा राखी बजारीकरण गर्ने गरेको पनि पाइएको छ। कुहिएको चामलको झोल, फोहोरै फोहोरले भरिएका भाडामा बनाएको घरेलु रक्सीले स्वास्थ्यमा विषकै काम गरेको हुन्छ। त्यसका लागि यसलाई सामान्य नठानी सरोकारवाला निकायहरू अझै जागरूप हुनुपर्ने ठान्छन् उनी। छोटो समयमा वडामा राम्रो छाप छोडेको उनको टिमले भन्सार छलेर ल्याएका अवैध सामान पक्राउदेखि लागूऔषधको कारोबारीलाई नियन्त्रणमा लिएको छ। अभियान तीव्र बनाएसँगै २ लाखभन्दा बढी मापसेको जरिवानाबाट राजस्व संकलन गरिएको छ भने अवैध नदीजन्य पदार्थ उत्खनन कार्यमा संग्लन सवारीसाधनलाई नियन्त्रणमा लिई जिविसमार्फत् जरिवाना पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्