मिजारको परिवारलाई सरकारले १० लाख दिने



काठमाडौं, (नेस)
अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई सरकारले १० लाख रुपियाँ दिने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। सोही बैठकले हत्यामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

काभ्रेको ज्यादी गाविस– ८ की कल्पना पराजुलीसँग गत असार २५ गते अन्तरजातीय विवाह गरेका अजित मिजार असार ३० गते धादिङमा मृत फेला परेका थिए। उहाँको हत्या भएको आशंका गरिएको छ। सो घटनाबारे छानबिन गर्न गठित युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वको समितिको सिफारिसका आधारमा मिजारको परिवारलाई क्षतिपूर्तिस्वरुप १० लाख उपलब्ध गराउने र परिवारका सदस्यलाई निःशुल्क शिक्षा दिने निर्णय भएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो।

त्यसै गरी बैठकले नेपाल वायु सेवा निगमले नयाँ विमान किन्न सञ्चयकोषसँग लिने ऋणमा सरकार जमानी बस्ने निर्णय पनि गरेको छ। बैठकले सिन्धुलीको दुम्जामा विपी कोइराला स्मृति पार्क र रामेछापमा पुष्पलाल पार्क निमार्ण गर्ने निर्णय गरेको छ।

महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको पनि उर्जा मन्त्री शर्माले जानकारी दिनुभयो। जग्गा तथा घरको मालपोतमा दर्ता गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेको हो। सोही बैठकले प्रधानसेनापति राजेन्द्र क्षत्रीको अमेरिका भ्रमणका लागि पनि स्वीकृति दिएको छ। यस्तै नेपाली सेनाका प्रमुख सेनानी गौरबकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने पनि बैठकले निर्णय गरेको छ। बैठकले युरोपियन युनियनलाई जग्गा खरिदका लागि अनुमतिसमेत दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्