निकुञ्जको गोलघर निर्मित



रसुवा, ७ वैशाख । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको परिसरमा निर्माण गरिएको ‘लाङटाङ’ गोलघरको आज धुन्चेमा उद्घाटन गर्नुभएको छ ।

लाङटाङ क्षेत्र सरोकार समाज (लाकोस) को सहयोगमा रातो हाब्रेको संरक्षणका लागि २२ औँ वन्यजन्तु सप्ताह एवम् पाँचौँ लाङटाङ पर्यटन तथा संरक्षण महोत्सवअन्तर्गत यही वैशाख १ गतेदेखि साताव्यापी रुपमा सञ्चालित भलिबल प्रतियोगिताको समापनका लागि यहाँ आइपुग्नुभएका उहाँले निकुञ्ज कार्यालयको निरीक्षणका साथ जैविक विविधता संरक्षणमा भइराखेका प्रयास, आइपर्ने समस्या र मन्त्रालयबाट हुनुपर्ने सहयोगका बारेमा जानकारी लिनुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले जानकारी दिनुभयो ।

रु आठ लाखको लागतमा निर्माण भएको गोलघरमा वन्यजन्तु र पक्षीका चित्र राखिएका छन् । निकुञ्जअन्तर्गत उच्च भागमा पाइने रातो हाब्रेलगायत विविध प्रकारका जीवजन्तु, वनस्पति, जैविक विविधता संरक्षणमा युवाको जागरण बढ्दै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । कार्यक्रममा निकुञ्जको मध्यवर्ती क्षेत्रका अध्यक्ष तेम्बानुर्बु तामाङ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्