रियल सेमिफाइनलमा



मेड्रिड, (एजेन्सी)
स्पेनिस ला लिगाको महारथी क्लब रियल मेड्रिड यूएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गर्दा क्रिस्टियानो रोनाल्डोले सयौं गोल पूरा गरेका छन्।

प्रतियोगिताको क्वाटरफाइनलअन्तर्गत मंगलबार राति भएको दोस्रो लेगको खेलमा विजयी हुँदै रियलले सेमीफाइनलमा स्थान पक्का गर्दा ह्याट्रिक गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो गोलसंख्या सय पु¥याएका हुन्। च्याम्पियन्स लिगमा सयौं गोल पूरा गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन्।
रियल मेड्रिडले १० खेलाडीमा सीमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा ४–३ गोल अन्तरले जित हात पार्दै सेमिफाइनलको यात्रा पूरा गरेको हो। पहिलो लेगमा २–१ को जित निकोलेको रियल समग्रमा ६–३ ले विजयी बन्यो।

मेड्रिडले मंगलबार जितका लागि अतिरिक्त समयसम्म कुर्नुपरेको थियो। दोस्रो लेगको निर्धारित ९० मिनेटसम्म बायर्नले खेल २–१ ले जितेपनि समग्रमा ३–३ को नतिजा निस्केपछि खेल अतिरिक्त ३० मिनेटसम्म लम्बिएको थियो। जहां रियलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गर्दा एसेन्सियोले पनि एक गोल आफ्नो लेखाए।

यसअघि पहिलो हाफसम्म गोलरहित बराबरीमा टुंगिएको उक्त खेलको ५३औं मिनेटमा बायर्नले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। क्यासेमिरोले रोबेनलाई डी बक्सभित्र लडाएपछि बायर्नले पेनाल्टी हान्ने अवसर पाएको थियो। जसलाई लेवान्डोस्कीले सफल प्रहार गरेपछि बायर्नले सम्भावनालाई ब्यूँत्याएको थियो। यो उनले च्याम्पियन्स लिगमा प्रहार गरेका ६ वटै पेनाल्टी गोलमा परिणत भएको हो।

तर खेलको ७६औं मिनेटमा क्यासेमिरोको लामो पासमा गोलपोस्ट नजिकै उभिएका रोनाल्डोले हेडमार्फत उत्कृष्ट गोल गर्दै रियललाई पुनः खेलमा फर्काए। तर उक्त बराबरी दुई मिनेट मात्र टिक्यो। खेलको ७७औं मिनेटमा बललाई क्लियर गर्ने तरखरमा सर्जियो रामोसले आत्मघाती गोल गरेपछि बायर्नले पुनः खेलमा अग्रता लियो।
निर्धारित समयको ५ मिनेटको खेल बाँकी छँदा आर्टुरो भिडाल दोहोरो पहेंलो कार्ड शिकार बनेपछि बायर्न १० जनामा खुम्चियो। जसको मूल्य बायर्नले अतिरिक्त समय चुकाउनुप¥यो। क्रिस्टियानो रोनाल्डोले १०५औं मिनेटमा सर्जियो रामोसको पासमा गोल गर्दै रियललाई सेमिफाइनल उन्मुख बनाए। त्यसको पाँच मिनेटपछि नै मार्सेलोको उत्कृष्ट पासमा वान टच प्रहारमार्फत गोल गर्दै रोनाल्डोले ह्याट्रिक तथा च्याम्पियन्स लिगमा सयौं गोल पुरा गरे।

यता लगालग दुई गोल बेहोरेर प्राय छिपिएका खेलाडीका कारण सुस्त बनेका बायर्न विरुद्ध मार्को एसेन्सियोले ११२औं मिनेटमा थप एक गोल गरेपछि च्याम्पियन्स लिग इतिहासमा लगातार सातौपटक सेमिफाइनल पुग्ने रियल पहिलो टोलीसमेत बन्यो।

एट्लेटिको अन्तिम चारमा

यस्तै अर्को खेलमा इंग्लिस प्रिमियर क्लब लेस्टर सिटीलाई हराउँदै ला लिगा क्लब एट्लेटिको मेड्रिड पनि सेमिफाइनलमा पुगेको छ।

क्वाटरफाइनलअन्तर्गत मंगलबार राति नै भएको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको १–० को जितले एट्लेटिकोलाई अघिल्लो चरणमा पु¥याएको हो। खेलको २६औं मिनेटमा एट्लेटिकोका निग्वेजले गोल गरेपछि पहिलो हाफसम्म घरेलु टोली १–० ले पछि परेको थियो। उक्त गोलसंगै एट्लेटिको मेड्रिडले च्याम्पियन्स लिगमा सयौं गोलसमेत पूरा ग¥यो।

एट्लेटिकोले च्याम्पियन्स लिगमा ६८ खेलबाट गोलसंख्या १ सय पु¥याएको हो। यता गत सिजन इंग्लिस प्रिमियर लिगमा गोल मेसिनको परिचय बनाएका जेमी भार्डीले ६१औं मिनेटमा बराबरी गोल फर्काएपछि लेस्टर पुनः सेमीफाइनल पुग्ने होडमा फर्कियो। तर खेलको बाँकी समयमा दुवै तर्फ गोल नभएपछि समग्रमा २–१ को नतिजा आत्मसात गर्दै एट्लेटिकोले नै अघिल्लो चरणमा प्रवेश पायो।

प्रतिक्रिया दिनुहोस्