ललितपुर कांग्रेसमा गुट–उपगुट छैन



वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि सो पार्टीका नेता भरतलाल न्याछ्यो नाम सर्वाधिक चर्चामा रहेको पाइएको छ।पार्टीभित्र प्रमुखको उम्मेदवारका लागि १० जना दाबेदार रहेको भए पनि उहाँसँगै प्रेमकृष्ण मर्हजन, चिरिबाबु महर्जन र प्रेमलाल महर्जनको विशेष चर्चा रहेको छ।

स्थानीयस्तरमा बौद्धिक नेताका रूपमा चनिनुहुने नेता न्याछ्योसँग कला संस्कृति र सम्पदाले भरिएको ललितपुर महानगरपालिकालाई हाँक्ने योजना रहेको बताइएको छ। पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गर्दै चुनावी दौडधुपमा लाग्नुभएको नेता न्याछ्योसँग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंश ः

नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुखका लागि तपाईंले किन उम्मेदवारीको टिकट पाउनुपर्दछ ?

२०३६ सालदेखि नै अहिलेसम्म निरन्तर पार्टीको काममा सक्रिय भइरहेको छ। म नेपाली कांग्रेसमा जनमत संग्रहदेखि लागेको हुँ। करिब ३८ वर्षदेखि पार्टीमा सक्रिय रहेकाले ललितपुरका जनताको समस्यालाई नजिकबाट बुझेको छु। त्यतिबेला नै आजसम्म पार्टीका हरेक महत्वपूर्ण गतिविधिमा मेरो सक्रिय सहभागिता रहेको छ। ललितपुर महानगरपालिकाको प्रमुखका लागि आफूलाई तयारी गर्दै आइरहेको छु।

महानगरपालिकाको प्रमुखको रूपमा आफूलाई तयारी गर्दै आएकाले आजसम्म पार्टीको कुनै पदमा मैले दाबा गरेको छ। यस अघि नेपाली कांग्रेसको नगर सभापतिका हुँदा महानगरपालिकाको सर्वदलीय संयन्त्र बसेर काम गरेर प्रशासनिक अनुभव बटुलेको छ। म ललितपुर उप–महानगरपालिकाको दुई पटक नेपाली कांग्रेस नगर समिति सभापति भएर काम गरेको छु। नगरको आवश्यकता, नगरबासीको चाहना मैले राम्ररी बुझेको छु। क्रियाशीलता, योग्यता क्षमताका हिसाबले पनि उम्मेदवारीको टिकट पाउने पहिलो हकदार पनि म नै हुँ।

टिकट पाउने पहिलो दाबेदार त भन्नुभयो, पार्टीको तर्फबाट उम्मेदवारीको लागि तपाईंले नै टिकट पाउनेमा कतिको निश्चिन्त हुनुहुन्छ ?

ललितपुर उप–महानगरपालिकाको प्रमुखका लागि पार्टीको २९ वटै इकाइबाट मलाई कसैले सिफारिस गर्न छुटाएनन्। जबकि अन्य आकांक्षीको साथीहरुको २५, १७, ५ वडाबाट मात्रै नाम आएको छ। त्यसैले कांग्रेसबाट दाबी गर्ने १० देखि १२ जनामा म पहिलो नम्बरमा छु। वडाबाट क्षेत्रमा गएर त्यहाँबाट ३ जनाको नाम सिफारिस हुने हो। ललितपुर महानगरपालिकामा २ वटा क्षेत्र पर्छन्।

ती दुई वटै क्षेत्रले नाम सिफारिस गर्नुपर्ने हुन्छ। आजसम्म कुनै गुट–उपगुटमा लागेको छैन। अन्य दाबेदारहरु कसैलाई खोलिएर समर्थन गरेको छैन। तर, मेरो हकमा त्यस्तो अवस्था छैन। सबैले उतिकै मन पराएका छन्।

जनतामाझ पनि भिजेकै छु। यस आधारमा मैले नै टिकट पाउनेमा शतप्रतिशत पक्का छ। म निर्वाचनमै विश्वास गर्ने भएकाले महाधिवेशन प्रतिनिधि हुँदा पनि निवार्चित भएको थिएँ। त्यसै गरी म स्थानीय निकाय वा तहमै काम गर्न इच्छुक भएकाले संसद्को निर्वाचनमा उम्मेदवार बन्ने कुनै चाहना देखाइनँ। २०५४ सालमा स्थानीय निर्वाचमा पनि मैले दाबी गरेको थिएँ। तर, अर्को साथीलाई छोड्नुपरेको थियो।

कांग्रेसभित्र कुनै गुट–उपगुटमा नलागको त भन्नुभयो। तर, तपाईंलाई पार्टीका आम नेता र कार्यकताले ओमकारप्रसाद श्रेष्ठको मान्छेका रूपमा चिन्छन् होइन र ?
कांग्रेसका पुराना नेता ओमकारप्रसाद श्रेष्ठ ललितपुरको जिल्ला सभापति हुँदा जिल्ला सहसचिव म नै थिएँ। उहाँसँगै लामो समय काम गरेकाले बाहिरबाट हेर्दा उहाँको मान्छेजस्तो देखिएको हो। पार्टी विभाजन हुँदा पनि म कतैतिर नलागेर पार्टी एकताको पक्षमा निरन्तर आफूलाई उभ्याइरहें। यस हिसाबले म कुनै गुट विशेषको नभई पार्टीको मान्छेका रूपमा चिनाउन चाहन्छु।
महानगरपालिकाका लागि पार्टीभित्र दाबेदारहरूमध्ये तपाईंको आफ्नो स्थिति कसरी आँकलन गर्नुहुन्छ ?
जनतामा भिजेको, पार्टीमा लामो समयदेखि क्रियाशील र वरिष्ठताको हिसाबले म नै अगाडि रहेको जस्तो लाग्दछ। शिक्षाको हिसाबले पनि मैले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेको छु। मसँग ऐतिहासिक शहर ललितपुरलाई व्यवस्थापन र विकास गर्ने योजना पनि छ।
ललितपुर उप–महानगरपालिकाको सर्वदलीय संयन्त्रमा रहेर निकै समयसम्म काम गर्नुभयो। त्यसको अनुभव कस्तो रह्यो ?
जनप्रतिनिधि रिक्त समयमा स्थानीय निकाय कर्मचारीकै भरमा सञ्चालन भएपछि तिनलाई सहयोग गर्न सर्वदलीय संयन्त्रको व्यवस्था गरिएको थियो। कर्मचारी प्रमुखले ललितपुरको वस्तुस्थिति, यहाँका सामाजिक संरचना, जनताका आधारभूत आवश्यकता र भावना शुरुमा नबुझ्ने र विस्तारै बुझ्दै जाने अवस्थामा सरुवा हुने थितिले विकासमा ठूलै समस्या खडा गरेको छ।

यसको सबै नगर पालिकाको नीति योजना, कार्यक्रममा सबैठाउँमा प्रभाव परेको छ। यस हिसाबले लोकतन्त्र बलियो बनाउन र जनताको घरदैलोसम्म सरकारको अनुभूत गराउन स्थानीय तहको निर्वाचनको महत्व रहेको छ। यसले स्थानीय तह जनताप्रति जवाफदेही र जिम्मेवारी बनाउँछ।

यहाँ रहेका विभिन्न राजनीतिक दल र तिनका नेताबीच राजनीतिक विचारधारा फरक होला। तर, यहाँको कला, संस्कृति र सम्पदाको विकास, तिनको प्रवद्र्धन गर्न जनताका समस्या र समाजको संरचनाअनुरूपको साझा नीति योजना बनाउनुपर्छ।

ललितपुरको अहिलेको मुख्य आवश्यकता के हो ?

वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको सम्पदाको पुनर्निर्माण एउटा महत्वपूर्ण र आवश्यक विषय हो। ललितपुर कला संस्कृतिक, सम्पदा अनेक मूर्त र अमूर्त संस्कृतिले भरिएको शहर हो। सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका विभिन्न मठ–मन्दिर, गुम्बा, विहार यहाँ छन्।

ती ऐतिहासिक महत्वका क्षेत्रलाई अझ व्यवस्थित बनाउँदै पर्यटकलाई आकर्षित गर्न सकिन्छ। यसको संरक्षण र प्रर्र्वद्धन एउटा महत्वपूर्ण विषय हो। अर्कोे शहरीकरणसँगै पूर्वाधार निर्माण र विकासको आवश्यकता रहेको छ। यससँग आउने भनेको व्यवस्थित शहरीकरण, त्यसबाट ल्याउने समस्याको व्यवस्थापन पनि त्यतिकै महत्वपूर्ण रहेको छ। मुख्यतः शहर भनेको स्वच्छ, स्वस्थ, आधुनिक प्रविधियुक्त, सुरक्षित र व्यवस्थित हुनुपर्छ। पुरानो अनुभव र युवावर्गको आकांक्षा पूरा गर्ने गरी काम गर्ने सोच मेरो छ।
ललितपुर नगर क्षेत्रको मुख्य समस्या के–के हुन् ?
ललितपुर उमनपा क्षेत्रको एउटा भाग पुरानो बस्ती रहेको ऐतिहासिक नगर र अर्को चक्रपथ आसपासको ठाउँ हो। ऐतिहासिक नगरमा संस्कृति सम्पदाको संरक्षण, त्यसको व्यवस्थापन र प्रवद्र्धनका समस्या विकराल हुँदै गएका छन्।

चक्रपथ आसपासको बाहिरी बस्तीमा ढल, सेफ्टी ट्यांकी, ढल निकास जस्ता भौतिक पूर्वाधारको समस्या रहेको छ। जनप्रतिनिधिको अभावमा अहिले ललितपुर उमनपाले दीर्घकालीन योजना बनाएर त्यस्तो खास काम त गरिहेको छैन। खुद्रारूपमा कनिका छरेजस्तै बजेट छेरर काम भइरहेको छ। आर्थिक र सामाजिक विकासका सम्भावनालाई मूर्त रूप दिन सकिरहेको छैन। स्थानीय तहको निर्वाचनपछि यस्तो अवस्था अन्त्य भई नयाँ दिशामा अघि बढ्ने विश्वास गर्न सकिन्छ।
नगरपालिका र स्थानीय जनताबीचको दूरी बढ्दै गएको छ, त्यसलाई पुर्न के गर्ने सोच रहेको छ ?
महानगरपालिकाको नीति योजनाबारे सुसूचित आफ्ना दलबाहेक अरूलाई थाहा दिन नचाहने मानसिकता छ। जनतालाई सुसूचित गर्ने पद्धति छैन। नगरबासी पनि व्यक्तिगत वा सांगठनिक भएर बुझ्ने क्रममा पनि कमी छ। यसका लागि विशेष पहल गर्ने योजना रहेको छ।
ललितपुरको विकासका लागि के गर्नुपर्ला ?
यहाँ रहेका विभिन्न राजनीतिक दल र तिनका नेताबीच राजनीतिक विचारधारा फरक होला। तर, यहाँको कला, संस्कृति र सम्पदाको विकास, तिनको प्रवद्र्धन गर्न जनताका समस्या र समाजको संरचनाअनुरूपको साझा नीति योजना बनाउनुपर्छ।

यहाँका जनताको बुझाई र आवश्यकतालाई कसरी ठम्याउनुहुन्छ ?
२००७ सालदेखि आजसम्म नेपालमा भएका हरेक आन्दोलनमा ललितपुरका जनताले निर्णायक संघर्ष गरे पनि आन्दोलनपछि जनताले न्याय पाएनन्। उनीहरूको भाषा, कला, संस्कृति र क्षेत्रको विकासप्रति राजनीतिक दलहरूले उपेक्षा गरेको अनुभूत गरेका छन्। राज्यसत्ताबाट बहिष्करणमा परेर राज्यको स्वामित्व लिन सकिरहेका छैनन्, यहाँका जनताले। यस भावनालाई केन्द्रबिन्दु गरेर स्थानीय निकायको नीति योजनाको समुचित वितरण गर्नुपर्छ। मेरो उम्मेदवार पनि यस ध्येयले प्रेरित रहेको छ।
टिकट पाएको खण्डमा जित नै हुनेछ भनेर कतिको भरोसा गर्नुहुन्छ ?

स्थानीय निर्वाचनमा विकास निर्माण र जनाताको बीचमा चर्चित मान्छेलाई पनि मत दिने हो। कांग्रेसबाट उम्मेदवार बन्ने मौका पाएपछि मेरो जित निश्चित छ।

 

प्रतिक्रिया दिनुहोस्