विदेशी विनिमय सञ्चिति १०७४ अर्ब



काठमाडौं, (नेस)
चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति १०७४ अर्ब २७ करोड रहेको छ। यो गत असार मसान्तको १०३९ अर्ब २१ करोडबाट ३ दशमलब ४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको प्रतिवेदन फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा ८८७ अर्ब १ करोडको तुलनामा फागुन मसान्तमा ३ दशमलब २ प्रतिशतले वृद्धि भई ९१५ अर्ब ३१ करोड रुपियाँ रहेको छ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १५२ अर्ब २० करोड रुपियाँको तुलनामा ४ दशमलब ४ प्रतिशतले वृद्धि भई १५८ अर्ब ९६ करोड रुपियाँ पुगेको छ। कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२ दशमलब १ प्रतिशत रहेको छ।

त्यस्तै आर्थिक वर्ष २०७३÷७४ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलब ९ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७ दशमलब ८ प्रतिशत, ९९ दशमलब ७ प्रतिशत र ४३ दशमलब ७ प्रतिशत रहेका छन्।

२०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६ दशमलब २ प्रतिशत, ११७ दशमलब ४ प्रतिशत र ४६ दशमलब ३ प्रतिशत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्