पारस र ललित चम्किँदा चौराहा प्लेअफमा



नेपाल समाचारपत्र
काठमाडौं
कप्तान पारस खड्का र ललित राजवंशी चम्केपछि धनगढी टिम चौराहा जारी धनगढी प्रिमियर लिग (डीपीएल) को प्लेअफमा पुगेको छ।

घरेलु टोली टिम चौराहाले जित्नैपर्ने खेलमा उत्कृष्ट जित हात पार्दै शीर्ष चारभित्र स्थान बनाएको हो। सोमबार भएको आफ्नो अन्तिम खेलमा टिम चौराहाले लिगको शीर्ष टोली रूपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्यो। जसमा कप्तान पारसले सानदार ब्याटिङ गरेका थिए।

मात्र ९२ रनको लक्ष्य टिम चौराहाले ११औं ओभरमा ४ विकेटको क्षेतिमा प्राप्त गरेको थियो। यो जितसँगै पारसको टोलीले ४ अंक जोडेर विनोद भण्डारीको कञ्चनपुर आइकोनिक र ज्ञानेन्द्र मल्लको सीवाईसी अत्तरियालाई नेट रनरेटमा पछारेर चौथो स्थान कब्जा गर्यो। तीनै टोलीको समान ४ अंक थियो। यसअघि शुरूका ३ खेलमा चौराहाले हार बेहोरेर शीर्ष ४ भित्र पर्नबाट वञ्चित हुने संकेत गरेको थियो।

प्रतियोगितामा पहिलोपटक ब्याटिङमा जमेका पारसले २१ बलमा ४२ रन जोडे। उनले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए। एपेन्डिक्सको शल्यक्रियापछि पहिलोपटक प्रतियोगिता खेलिरहेका पारस अर्धशतकबाट भने चुकेका थिए। अन्यमा पृथु बास्कोटाले १५ रन योगदान दिए।

यसअघि एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रूपन्देहीले च्यालेन्जर्सको ब्याटिङ चलेन। चौराहाका बलर ललित राजवंशीले घातक बलिङ गर्दा रूपन्देही ६ विकेटको क्षेतिमा ९१ रनमै समेटिएको थियो। टोलीका लागि विकेटकिपर ब्याट्सम्यान प्रकाश केसी ४ चौका र ३ छक्काको मद्दतसँगै ४९ रनमा नटआउट रहे। जबकि टोलीले ४१ रनमा ६ विकेट गुमाइसकेको अवस्था थियो।

बलिङमा ललितले ४ ओभर बलिङ गर्दै २ मेडन राखी जम्मा ५ रन मात्र दिएर ४ विकेट लिएका थिए। उनले चौथो ओभरमा रूपन्देहीका ३ खेलाडीलाई पवेलियनको बाटो देखाएका थिए।

प्लेअफअन्तर्गत पहिलो क्वालिफायर्स खेलमा शीर्ष स्थानको रूपन्देही र दोस्रो स्थानको विराटनगर किंग्सबीच फाइनल प्रवेशका लागि खेल हुनेछ। यस्तै एलिमिनेटरमा काठमाडौं गोल्डेन्स र टिम चौराहा भिड्नेछन्। यस खेलको विजेताले फाइनल प्रवेशका लागि रूपन्देही र विराटनगरबीचको खेलको पराजित टोलीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्