नर्भिक २५औं वर्षमा



काठमाडौ (नेस)
नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २४ औं वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रमहरूको आयोजना गरेको छ। नर्भिक इन्टरनेशनल हस्पिटल २५ औं वर्षमा प्रवेश गरेको छ।

हस्पिटलले बार्षिकोत्सवको अवसरमा साइकल र्यालीको आयोजना गरेको थियो। नेपाल साइक्लिङ्ग एसोसिएसनसँगको सहकार्यमा साइकल र्याली गरिएको थियो। र्याली नर्भिक प्राङ्गण थापाथलीबाट सुरु भएर त्रिपुरेश्वर चोक, सुन्धारा, जमल, कमलादी सडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला, बत्तीसपुतली चोक, मध्य बानेश्वर, नयाँ बानेश्वर, बबरमल हुँदै नर्भिक प्राङ्गणमै आएर अन्त्य भएको थियो। कार्यक्रमलाई नर्भिक इन्टरनेशल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रवहादुर सिंह र नेपाल साइक्लिङ्ग एसोसिएसनका अध्यक्ष छिमी उरक्र्येन गुरुङ्गले सम्बोधन गर्नुभएको थियो। साथै कार्यकारी निर्देशक सिंहले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

यसैगरी वार्षिकोत्सवकै अवसरमा नर्भिक हस्पिटल र लायन्स क्लब अफ काठमाडौं हारती माताको संयुक्त आयोजनामा नर्भिक प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रवहादुर सिंहलगायत हस्पिटलमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो। रक्तदान शिविरमा जम्मा ५७ जना कर्मचारीहरूले रक्तदान गरेका थिए भने रक्तदाताहरू मध्ये नर्भिकको हाउस किपिङ्ग विभागका प्रबन्धक रोहिणी भट्टराईले ५५ पटक रक्तदान गर्नुभएको अस्पतालले जनाएको छ।
सोही अवसरमा स्वस्थ तन र मन सहित रोग रोकथामबारे जनचेतनाको अभिवृद्धि गराउन आयोजित प्रभातफेरि नर्भिक प्राङ्गणबाट सुरु भई त्रिपुरेश्वर चोक, सुन्धारा, रत्नपार्क, भद्रकाली मन्दिर, शहिद गेट हुदै फेरि नर्भिक प्राङ्गणमै आएर अन्त्य भएको थियो। कार्यक्रमको नेतृत्व नर्भिकका संस्थागत सञ्चार नायव महाप्रबन्धक आरपी मैनालीले गर्नुभएको थियो। सोही अवसरमा नर्भिक हस्पिटलको अन्तरङ्ग सेवा प्राप्त गरिरहेका प्रत्येक शैय्याका विरामीहरूलाई स्वास्थ्यवर्धक फलफुलका प्याकेट समेत वितरण गरिएको थियो।
यसका साथै आगामी वैशाख ४ र ५ गते का.म.पा. ९ स्थित फुटसलमा आन्तरिक फुटसल र भलिबल प्रतियोगिता समेत गरिने कार्यक्रम रहेको मैनालीले जानकारी गराउनुभयो। हस्पिटलले २०७४ वैशाख ९ गते शनिबार उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव कार्यक्रमको समापन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्