टर्कीमा जनमत संग्रह शुरू



इस्तानबुल, (एजेन्सी)
टर्कीमा आइतबार लामो समयदेखि प्रतिक्षित जनमत संग्रहका लागि मतदान शुरू भएको छ। तुर्केली राष्ट्रपति रिसेप तायिप एर्डोगानको अधिकार र शक्ति बढाउने उद्देश्यले हुन गइरेहको यस जनमत संग्रह हिजो बिहानदेखि शुरू भएको हो।

राष्ट्रपतिको भूमिका परिवर्तनका लागि हुन लागेको यस जनमत संग्रहमा मतदानका लागि ५ करोड ५३ लाखभन्दा बढी तुर्केली जनता वैधानिक भएको निर्वाचन आयोगले जनाएको छ।

यदि यो जनमत संग्रहमा एर्डोगानको पक्षमा मतदान भएको खण्डमा टर्कीका संस्थापक नेता मुस्ताफा कमाल आतातुर्क र उनका उत्तराधिकारी इस्मेत इनोनुभन्दा पनि एर्डोगान बढी शक्तिशाली हुने बताइएको छ।

टर्कीको दिर्याबाकिर र पूर्वीशहरहरूमा केही समय अगाडि नै मतदान केन्द्र खोलिएको थियो भने, इस्ताबुल र अंकारा शहरमा केही घण्टापछि मात्र मतदान केन्द्र खोलिएको एएफपी समाचार समितिका समाचारदाताले जानकारी दिएको छ।

टर्कीको सञ्चारमाध्यमका अनुसार इस्तानबुल शहरमा मात्र यस जनमत संग्रहलाई शान्तिपूर्ण ढंगले सञ्चालन गर्न ३३ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्