चुनावबाट भाग्ने तन्त्र ?



चुनाव भनेको जनतासँग जाने प्रक्रिया हो। जनतालाई सर्वशक्तिमान मान्ने विश्वभरिकै लोकतान्त्रिक मुलुकको प्रचलन पनि हो। तर, हामी लोकतन्त्रवादी भन्छौं तर चुनावको कुरा आयो र जनतासँग जाने कुरा आयो भने ४ हात पर भाग्छौं। यस्तो परिपाटीलाई चाहिँ के तन्त्र भन्ने होला ? चुनावबाट भाग्ने तन्त्रलाई पनि कुनै नाम दिन पाएको भए धरहराले निःसंकोच त्यसलाई लेख्ने थियो। तर, त्यस खालको तन्त्रको नाम तोकेर केही पनि लेखिएको छैन।

शनिबार नेपाली कांग्रेसका तराईका सांसदहरुले २ नम्बर प्रदेशको चुनाव सार्न आग्रह गरेको कुरा आएको थियो। भोलिपल्ट मधेसवादी दलहरुले पत्रकार सम्मेलन नै गरेर चुनाव विथोल्ने अभियान नै घोषणा गरेको धरहराबाट देखियो। हिजै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बाग्लुङतिर गएर बोल्दै गरेको सुनियो– ‘चुनावको तिथि सारेर भए पनि एकै चरणमा निर्वाचन गर्नुपर्दछ।’ पौडेल बाजेको यो के सिद्धान्त हो धरहरा वरपर धेरैले बुझ्न सकेको पाइएको छैन।

किनकि छिमेकी भारतमा पनि संवेदनशील स्थानमा छुट्टै निर्वाचन गरेको देखिन्छ। हामीकहाँ नहुने भन्ने के कुरा छ र ? कि कसो पाठकवृन्द ? एकै चरणमा नगर्दैमा आकाश नै खस्ने त पक्कै होइन होला। बरु एक साता मात्रै प्रदेश–२ को निर्वाचन सारियो भने सबै सुरक्षा संयन्त्र प्रयोग गरी झन् शान्तिपूर्ण निर्वाचन हुन सक्छ। तर, खोई के खोई के भनेजस्तै भएको छ।

प्रतिक्रिया दिनुहोस्