दलका एजेन्डामा २० तले टावरदेखि सुरुङ मार्गसम्म



रोशन पराजुली, हेटौडा

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूले आफ्ना दलीय एजेन्डाहरूमा २० तले टावरदेखि सुरुङ मार्गसम्मका विषयलाई समेटेका छन्। रेडियो थाहा सञ्चारले आयोजना गरेको स्थानीय निर्वाचनमा दलहरूको एजेन्डाका विषयमा मकवानपुरे राजनीतिक दलका नेताहरूले महत्वाकांक्षी योजनाहरू प्रस्तुत गरेका छन्। कार्यक्रममा दलहरूले आफ्ना विशेष योजनाहरू सुनाएका छन्।

नेपाली कांग्रेसका कार्यबाहक सभापति विष्णु लामिछानेले गाउँपालिका र नगरमा ज्येष्ठ नागरिकका लागि सुविधासम्पन्न बृद्धाश्रम, ‘एक गाउँ, एक प्राविधिक शिक्षा’, जिल्लालाई पर्यटन नगर वनसुविधा सम्पन्न अस्पताल स्थापना, जग्गा प्लटिङ अन्त्य, एकीकृत बस्ती विकास र सडक सुविधा बढाउने योजना सुनाए। नेकपा एमाले अध्यक्ष मुनु सिग्देलले प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षा, पूर्ण निःशुल्क शिक्षाको ब्यवस्था, प्रत्येक गाउँपालिकामा आन्तरिक पर्यटन उद्योगको स्थापना, उत्तरी मकवानपुरलाई नेपालकै ठूलो पर्यटकीयस्थल बनाउने, जिल्लाभर सुविधासम्पन्न सडक विस्तार, ‘एक गाउँ, एक उत्पादन’, सुविधासम्पन्न एकीकृत बस्ती विकास योजना, हेटौंडालाई नमूना शहरका रूपमा विकास योजना र महिलालाई स्थानीय तह प्रमुख स्थानमा लैजाने विचार राखे।
नेकपा माओवादी केन्द्र संयोजक प्रेमबहादुर पुलामीले सबै गाउँपालिकामा प्राविधिक शिक्षा, सके रोजगारी, नभए बेरोजगार भत्ता, किसानलाई कृषि पेन्सन, भीमफेदी–कुलेखानी सुरुङमार्ग, फ्रि वाइफाइ तथा आन्तरिक पर्यटन उद्योग र जिल्लाभर सुविधासम्पन्न सडक सञ्जालको योजनाबारे चर्चा गरे।

राप्रपा अध्यक्ष रामहरि न्यौपानेले हेटौंडामा चक्रपथ निर्माण, ३ सय बेडको अस्पताल, औद्योगिक क्षेत्र स्थापनामा पहल, गाउँपालिकामा प्राविधिक शिक्षा, सुविधासम्पन्न सडक सञ्चालनको योजना सुनाए। नेकपा माले सचिव भीमसेन महतले हेटौंडा नगरलाई पर्यटकीय विकासका लागि २० तले भ्युटावर निर्माण, राप्ती खोलाको चौकीटोलबाट बसामाडी लेबटसम्म बाँध बाँधेर उक्त क्षेत्रमा एकीकृत बस्ती र पर्यटकीय क्षेत्र, जिल्लालाई पर्यटकीय विकासका लागि गुरुयोजना निर्माण, गुम्बाडाँडालाई कलाको पर्यटकीय स्थल बनाउने र सुविधासम्पन्न अन्डरग्राउन्ड पार्किङको शुरूआतबारे बयान गरे।
नयाँ शक्तिका सहसंयोजक विवेक वाइबाले पर्यटन विकासका लागि आन्तरिक र वाह्य पर्यटन योजना निर्माण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विशेष प्याकेज योजना, जिल्लालाई औद्योगिक क्षेत्र बनाउन पहल र सात प्रदेशमा सात मेघा प्रोजेक्ट स्थापना गर्ने योजनाअनुसार मकवानपुरमा मेघा प्रोजेक्ट शुरूआत गर्ने रहेको बताए।

प्रतिक्रिया दिनुहोस्