रूपन्देहीको चौथो जित



नेपाल समाचारपत्र
काठमाडौं

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा रूपन्देही च्यालेन्जर्सले लगातार चौथो जित निकाल्दा कञ्चनपुरले प्लेअफको सम्भावनालाई कायमै राखेको छ।

प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही च्यालेरन्जर्सले शरद् भेषवाकरको विराटनगर किंग्सलाई ६१ रनले पराजित गरेको हो। एसएसपी क्रकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको रूपन्देहीले अन्तिम थापाको ४५ रनको मद्दतमा ८ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। उनले ४२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। यस्तै कृष्ण कार्कीले पनि २२ रन जोडे। बलिङमा सुशील कँडेल र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट झारे।

यता जवाफमा १ सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगर रूपन्देहीको धारिलो बलिङसामु टिक्न सकेन र १८.१ ओभरमा ७१ रनमै अलआउट भयो। विराटनगरका लागि कप्तान शरद्ले ३४ रन बनाउनुबाहके कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।

विराटनगरलाई अलआउट गर्न रूपन्देहीका साहब आलमले सर्वाधिक ४ विकेट तथा दीपेश श्रेष्ठ र कृष्ण कार्कीले समान ३–३ विकेट लिए। अपराजित रूपन्देहीको ४ खेलबाट ८ अंक छ भने ५ खेलबाट विराटनगरको ६ अंक छ। यी दुवै टिमले यसअघि नै प्लेअफमा स्थान बनाइकसको छन्।
आइतबारै भएको अर्को खेलमा कञ्चनपुर आइकोनिकले सीवाईसी अत्तरियालाई ६ विकेटले पराजित गर्यो। सीवाईसी अत्तरियाले दिएको ८६ रनको सामान्य लक्ष्य कञ्चनपुरले १० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। कञ्चनपुरको जितमा सुनील धमलाले अलराउन्ड प्रदर्शन गरे। ब्याटिङमा सर्वाधिक २८ रन बनाएका उनले बलिङमा ३ विकेट लिएका थिए। यस्तै सागर पुन र हसिम अन्सारीले समान २२ रनको योगदान गरे। कप्तान विनोद भण्डारी १६ रनमा नटआउट रहे।

त्यसअघि एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सक्यो। अत्तरियाका लागि प्रदीप ऐरीले सर्वाधिक १९ रन बनाए भने ज्ञानेन्द्र कुँवर १५ रनमा नटआउट रहे। अत्तरियालाई कम स्कोरमा रोक्न कञ्चनपुरका सुनील र अभिनाश कर्णले ३–३ विकेट लिए।

जितपछि ५ खेलबाट काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरिया समान ४ अंक जोडेको कञ्चनपुर अंक तालिकामा चौथो स्थानमा उक्केको छ। रनरेटको आधारमा काठमाडौं तेस्रो स्थानमा छ भने हारपछि अत्तरिया भने पाँचौं स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्