धुर्मुस–सुन्तलीबाट सिकौं



नव वर्षको आगमनसँगै महोत्तरीको बर्दिवास–२ स्थित मुसहर समुदायको रहन–सहन फेरिएको छ । बस्तीमा रहेका ५० भन्दा बढी विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरेसँगै त्यहाँका बासिन्दाको मुहारमा खुसी छाएको छ ।

बरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुक्रबार एक कार्यक्रमका बीच मुसहरवस्तीका अध्यक्ष विल्टु सदा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गरेपछि त्यहाँका स्थानीय पुस्तौअघिको दुःख बिर्सदै नयाँ घरमा सरेका छन् ।

मुसहर बस्ती नियाल्दा शहरी क्षेत्रमा निर्माण भइरहेका आधुनिक हाउजिङभन्दा कमजोर देखिँदैन । धुर्मुस–सुन्तली फाउन्डेसनले सो स्थानमा विपन्न परिवारका लागि ५३ घर, एक सामुदायिक भवन, बालउद्यान, दिनभद्री मन्दिर, प्रतिक्षालय, प्रवेशद्धार, नालीसहितको पक्की सडक बनाएको हो ।

प्रत्येक घरमा ३ कोठा, बरन्डा, चोटा, शौचालय, खानेपानीका लागि ट्यांकीसहितका धारा, घरअगाडि बगैंचा तयार भएको छ । यससँगै बस्तीको बीचमा निर्माण गरिएको ३५ फिट अग्लो भ्यू टावरले बर्दिवास र आसपासका स्थानसमेत नियाल्न सकिन्छ ।

सो वस्ती निर्माणका लागि कूल ६ करोड ३६ लाख ३९ हजार रुपियाँ संकलन भएकोमा मुसहर वस्तीको पूरै संरचना निर्माण सम्पन्न गर्न ५ करोड ४ लाख ३६ हजार खर्च भएको फाउन्डेसनले जनाएको छ । अशिक्षा, गरिबी र सरसफाइको कमीले निकै कमजोर रहेको मुसहर बस्तीका लागि कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अगुवाइमा सम्पन्न यो कार्य देश विदेशमा निकै चर्चा पाइरहेको छ ।

गरिब र विपन्न परिवारका लागि धुर्मुस–सुन्तली कलियुगका जिउँदा भगवान रहेको टिप्पणी गर्न थालिएको छ । बस्तीका घर निर्माण शुरु भएसँगै मुसहर परिवारको सामाजिक चेतना, शिक्षा र सरसफाइको स्तरमा समेत सुधार आउन थालेको छ । मुहसर बस्तीको यो अर्को सकारात्मक पाटो हो ।

यसअघि सिन्धुपाल्चोकको गिरान्चौर र काभ्रेको पहरीगाउँका भूकम्पपीडित परिवारका लागि सामुहिक आवास बनाइसकेका धुर्मुस–सुन्तली समाज सेवाका लागि चिनाइ रहनुपर्ने व्यक्ति होइनन् । यिनै कलाकारको उदाहरण दोहोर्याउँदै धेरै ठाउँमा सामुदायिक आवास बनाउने पहल पनि अघि बढेको छ भने कहिँ बनिसकेका पनि छन् ।

तर २ वर्षअघिको महाभूकम्प लगत्तै भूकम्पपीडितका लागि आवास बनाइदिने भनेर प्रतिवद्धता जनाएका धेरै व्यक्ति र संस्थाले के कति आवास बनाएर पीडितलाई हस्तान्तरण गरे भन्ने तथ्यांक बाहिर आउन सकेको छैन ।
प्रतिवद्धता जनाएकाहरु बारे यो वा त्यो बहानामा काम रोकिएको चर्चासमेत सुनिन्छ । भूकम्प गएको २ वर्षसम्म पनि सरकारको पहल र प्रतिवद्धता व्यवहारमा देखिन सकेको छैन, पीडितहरुले यसपटकको वर्षात्समेत पाल र टहरामा बिताउनुपर्ने निश्चित भएको छ ।

तर पारदर्शी र इमान्दार ढंगले काम गर्नेहरुका लागि असंभव कार्य छोटो समयमा सम्पन्न गर्न सकिन्छ, सहयोगी हातहरुको साथ र सहयोग सधंै रहन्छ भन्ने कुरा धुर्मुस–सुन्तलीको पहलले धेरैलाई सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस्