सिन्दुर जात्रा मनाइयो



भक्तपुर, (नेस)
मध्यपुरथिमी क्षेत्रका वासिन्दाले शनिबार विहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरजात्रा अति प्रसिद्ध जात्रा हो।

थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु भएको थियो।

जात्रा शुरु भएपछि हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो। यसै गरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ।

थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रूपमा सिन्दुर जात्रा मनाइएको छ। यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै सिन्दुर जात्रा मनाइन्छ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुरेजात्रा मनाइने परम्परा रहेको छ। जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो। बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा शुरु गरिन्छ।

परम्पराअनुसार नै देवता लायकु दरबारभित्र पस्न नपाउन भनेर लायकु प्रवेश द्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरू देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा रहेको छ।

अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलःद्यो परिक्रमा गरी क्रमैसँग सुगा द्यो, क्वाछे द्यों मा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ भने बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराइ भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन्।

प्रतिक्रिया दिनुहोस्