न्यु डायमन्ड र एपीएफ फाइनलमा



काठमाडौं, (नेस)
आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै फाइनल यात्रा तय गरेका छन्।

दुवै टोलीले लिगको एक खेल अगावै उपाधि भिडन्त पक्का गरेका हुन्। लिग चरणको अन्तिम खेल यी दुई टोलीबीच आइतबार हुँदै छ। तर, यो नतिजाले फाइनल भिडन्तमा कुनै असर गर्ने छैन। शनिबार भएको महिलातर्फको खेलमा न्यु डायमन्डले जाउलाखेल भलिबल क्लबलाई २५–५, २५–८ र २५–२ ले सहजै पराजित गर्यो।

त्यस्तै नेपाल पुलिस क्लबले पश्चिमाञ्चल क्षेत्रीय भलिबललाई १७–२५, २५–१८, २५–२१ र २५–२० ले हराए पनि दुवै उपाधि दौडबाट बाहिरिएका छन्। आर्मी र जाउलाखेल क्लबको पनि उपाधि यात्रा समाप्त भएको छ।

त्यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। शनिबार हेल्प स्पोट्र्स क्लबविरुद्धको महत्वपूर्ण खेल ३–१ को सेटमा आफ्नो पक्षमा पारेपछि अपराजित रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो। पुलिसले हेल्प नेपालमाथि २५–२३, १९–२५, २५–१६ र ३०–२८ को रोमाञ्चक जित निकाल्यो। फाइनलमा पुग्ने दोस्रो टिमको छिनोफानो भने आइतबार हुने आर्मी र हेल्प नेपालबीचको विजेताबाट तय हुनेछ।

प्रतिक्रिया दिनुहोस्