डायोस्पोरिक नियात्रामा एउटा उपलब्धि

विजय सापकोटा
नेपालबाहिर रहेर विभिन्न विधाहरुमार्फत नेपाली भाषा, साहित्यको निरन्तर साधना र प्रसारणमा सक्रिय बेलायत निवासी कृष्ण बजगाईं नियात्रा लेखनमा पनि उत्साही लेखकको रुपमा देखा परेका छन्। विशेषगरी आख्यानमा कलम चलाउने बजगाईं पछिल्लो समयमा नियात्रा लेखनमा सक्रिय रहेका छन्।

विभिन्न विधाका आधा दर्जन कृतिका स्रष्टा बजगाईंको कान्छो कृतिका रुपमा ‘युरेसियाको स्पर्श’ नियात्रा सङ्ग्रह हालै प्रकाशित भएको छ। विभिन्न समयमा र फरक–फरक प्रयोजनका लागि गरिएका यात्राका भोगाइ र अनुभूतिलाई निबन्धात्मक स्वरुप दिइएको यस सङ्ग्रहमा जम्मा १९ वटा निबन्धहरु छोटा र छरिता निबन्धहरु सङ्गृहित छन्।

‘युरेसियाको स्पर्श’ पुस्तकको शीर्षकबाटै प्रस्ट हुन्छ, यो युरोप र एसियाको यात्राको वर्णन हो। यस सङ्ग्रहका १९ वटा निबन्धहरुमा चीनको यात्रासँग सम्बन्धित ५, बेलायतका ४, जर्मनी, फ्रान्स र लक्जेमबर्ग १÷१ अनि सबैभन्दा बढी बेल्जियमसँग सम्बन्धित ७ यात्रा–निबन्धहरु सङ्गृहित छन्।

यात्राको समय मूर्तरुपमा निबन्धमा उल्लेख भएको छैन तापनि यात्राको परिवेश र प्रयोजन प्रायः निबन्धमा उल्लेख भएकाले पाठक हरेक निबन्धको शुरुबाटै सोही बमोजिमको मानसिकता निर्माण गरी लेखकसँगै यात्रा गर्न थाल्छ। तैपनि यात्राको समय पनि कतै झल्किएको भए ‘सुनमा सुगन्ध’ हुने थियो। फरक–फरक समय र स्थानमा गरिएका यात्राहरु जसरी एकै किसिमका हुँदैनन् त्यसै गरी बजगाईंले आफ्ना निबन्धमा पनि फरक–फरक किसिमका अनुभव र अनुभूतिहरुलाई अभिव्यक्त गर्न चाहेका छन्। यात्राको प्रयोजन, स्थान एवम् समयका आधारमा पनि त्यो फरक–फरक व्यक्तिन्छ।

नेपालमा छँदै सन् १९९४ मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको निमन्त्रणामा गरेको चिनियाँ भ्रमण होस्, अथवा त्यसको पाँच वर्षपछि दुई साताको लागि भनेर गरिएको जर्मन भ्रमण होस् अनि स्थायीरुपमा बेल्जियम बस्न थालिसकेपछिका यात्राहरु हुन् अथवा बेल्जियम छाडेर बेलायत बसाइँ सर्नुअघि र सरिसकेपछिका निबन्धहरु हुन् तिनको अनुभूतिजन्य अभिव्यक्तिहरु एक–अर्कासित व्यतिरेक छन्। त्यसो त बजगाईं आफ्ना निबन्धमा एकै किसिमको वर्णनात्मक शैलीलाई अँगाल्छन्, तैपनि परिस्थिति र अनुभूतिजन्य कतिपय अवस्थाहरुले गर्दा उनका निबन्धले पाठकलाई दिने अनुभूति भने उनको यात्राजस्तै भिन्न–भिन्न हुन्छ। पहिलो यात्रा चीनको गर्दाको कृष्ण बजगाईं जति स्वतन्त्र, स्वच्छन्द र उमंगिलो देखिन्छन् त्यसको पाँच वर्षपछि जर्मनीको यात्रा गर्दा बाध्यात्मक एवम् आन्तरिक द्वन्द्वमा फसेका देखिन्छन्। त्यस्तै बेल्जियमको स्थायी बसोबासपछिका निबन्धमा अनुभूतिजन्य पक्षहरु भिन्न छन्, अनि बेल्जियम छाडेर बेलायत सर्ने बेलाका निबन्धकार अर्कै लाग्छन्।

यसरी फरक किसिमका समय र स्थानका विविधतापूर्ण निबन्धले निबन्धकार कृष्ण बजगाईंको वैयक्तिक पाटोलाई समेत निबन्धमा छर्लङ्ग्याइदिएका छन्। जसका कारण पाठकले सजिलै बुझ्दछ कि यी निबन्धहरुको समयसीमा निकै लामो छ। निश्चितै हो, फरक–फरक समयमा लेखकका अनुभव र अनुभूति अनि तिनलाई अभिव्यक्त गर्ने शैलीमा पृथकता आउँछ नै। बजगाईंका निबन्धको केन्द्रीय प्रस्तुतीकरण एकै किसिमको भए पनि फरक समयसीमामा तिनमा फरक किसिमको प्रस्तुतिगत स्वाद भने पाउन सकिन्छ।

माथि नै भनियो, कृष्ण बजगाईंका यात्रा निबन्धहरु वर्णनात्मक हुन्छन्। उनी यात्रालाई पृष्ठभूमिदेखि नै उठाउन रुचाउँछन्। तर त्यति हुँदाहुँदै पनि छोटो–छरितो प्रस्तुतिका कारणले ती बोझलाग्दा दैनिकीजस्ता हुँदैनन्। कुनै स्थान, पात्र वा त्योसँग सम्बन्धित ऐतिहासिक कुनै घटनाहरु छन् भने तिनलाई पनि बजगाईंले आफ्ना निबन्धमा समावेश गरिहाल्छन्। प्रायः सबैजसो निबन्धमा ती ठाउँको भूगोल, सांस्कृतिक–सामाजिक परिवेश एवम् इतिहासका आवश्यक पक्षहरुको जानकारी पोखिएको हुन्छ, यसले लेखकको जिज्ञासा र ज्ञानप्रतिको चाखलाई दर्शाउँछ। तर सम्बन्धित सन्दर्भहरुको जानकारी दिने नाउँमा ठाउँ कुठाउँ आफ्नो विद्वता पोख्नै पर्ने नेपाली लेखनको ‘रोग’ बाट भने उनी बिल्कुलै मुक्त देखिन्छन्।

उनी यति चलाखीपूर्वक सन्दर्भ मिलाएर पाठकलाई दिनुपर्ने ठाउँमा ट्वाक्क जानकारी दिने गर्दछन्, जसले गर्दा पाठकले त्यो ज्ञानलाई पनि यात्राकै अनुभूतिजस्तै सहज ढङ्गले ग्रहण गर्न पुग्दछ।

यात्राका क्रममा लेखकले कति एक्लै त कति समूहगत यात्रा गरेका छन्। चीनको यात्राचाहिँ अलिक बढी नियन्त्रित र औपचारिक लाग्दछ। यसलाई छाडेर बाँकी यात्राहरुमा समूहगत यात्रा अनुभव अलिक बढी औपचारिक लाग्छन् भने एक्लै गरिएका यात्राको अभिलेखीकरणमा तुलनात्मक रुपले निबन्धकार सफल देखिन्छन्। कतिपय निबन्धहरु भने स्थानकै परिवेशमा आए पनि तिनमा चाहिँ स्थान–अनुभवभन्दा पनि अनुभूतिको प्राधान्य पाइन्छ।

कतिपय निबन्धहरुचाहिँ निबन्धकारले अलि बढी नै औपचारिक बनाएका छन्, विशेष गरी प्रसिद्ध स्थानहरुको यात्रा निबन्ध पढ्दा यसलाई चाहिँ निबन्धकारले अलिक अनौपचारिक र अझ बढी कलात्मक बनाएको भए हुन्थ्यो कि भन्ने महसुस हुन पनि सक्छ। कुनै कुनै निबन्धमा शीर्षक चयनमा पनि ध्यान नदिइएको प्रतीत हुन्छ। उदाहरणका लागि ‘संसारको सबैभन्दा सानो शहर दुर्बीमा एक दिन’ निबन्धमा पाठकको अपेक्षा विपरीत निबन्धकारचाहिँ दुर्बी शहरलाई भन्दा पनि त्यहाँको कृष्णमन्दिरको यात्रा अनुभवलाई लेख्नमा बढी केन्द्रित देखिन्छन्।

लेखकले दुर्वी शहरमा लेख्न लायक केही नभेटेर हो वा युरोपको एउटा सुदूर कुनामा हिन्दू धर्मसँग सम्बन्धित मन्दिरले बढी तानेर हो, लेखक आफ्नो शीर्षकलाई छाडेर अन्तै अलमलिएको प्रतीत हुन्छ। त्यसै गरी चीनसँग एकै समयमा एउटै व्यक्तिसँग गरेको यात्रालाई एउटै शीर्षक र उपशीर्षकहरुबाट एकै निबन्धमा सँगालिएको भए पाठकको पठन सहज हुनुका साथै निबन्धको प्रभाव अझ बढ्नेथियो। किनभने एउटामा त्यही परिवेशका बारेमा बहकिएको पाठक अर्को बिल्कुलै फरक प्रसङ्गमा गएर फेरि अर्कोमा त्यही परिवेशमा फर्किएर आउँदा त्यसले पाठकको अनुभूतिको क्रमलाई भङ्ग गर्दछ।

नियात्राकारले आफ्नो लेखकीयमा उल्लेख गरेको सेन्ट अगस्टिनको ‘संसार एउटा पुस्तक हो, जसले यात्रा गरेको छैन त्यसले एक पाना मात्र पढेको हुन्छ’ भन्ने प्रसिद्ध उक्तिले नै यो यात्रा निबन्धको महत्वलाई उठाएको छ। किनभने यात्रा निबन्धको पाठकमा पर्ने प्रभाव लेखकको भोगाइलाई अनुभूत गर्नु मात्र नभई लेखकको अनुभवबाट ज्ञान र अनुभवलाई हासिल गर्नु पनि हो, यसमा यो नियात्रा सङ्ग्रह सफल छ।

यसका निबन्धहरुका माध्यमबाट निबन्धकारले पाठकलाई आफूसितै चीन, जर्मनी, फ्रान्स, बेल्जियम, बेलायत, लक्जेम्बर्गजस्ता देशको यात्रा मात्र गराएका छैनन् कि ती ठाउँहरुमा आफूले भोगेका रमाइला, नरमाइला अथवा सबल–दुर्बल अनुभवसित समेत पाठकलाई साक्षात्कार गराएका छन्। निबन्ध पढिसकेपछि पाठकले ती स्थानमा आफू पनि उपस्थित भएको कल्पना गर्न सक्ने सामथ्र्य सङ्ग्रहका कतिपय निबन्धमा पाइन्छ।

समग्रमा साहित्यकार कृष्ण बजगाईंको पहिलो नियात्रा कृति भईकन पनि ‘युुरेसियाको स्पर्श’ सबल कृति बनेको छ। यसले डायोस्परिक नेपाली नियात्रा साहित्यका लागि त यो महत्वपूर्ण प्राप्ति हुँदै हो, सँगसँगै नेपाली नियात्रा साहित्यलाई सम्मृद्ध बनाउनका लागि एउटा इँटा थप्ने काम गरेको छ भन्न हिच्किचाउनुपर्दैन।

LEAVE A REPLY