अमेरिकाले सिरियाली फौजविरुद्ध थप कारबाही नगर्ने ः रुस



मस्को, (एजेन्सी)
रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले सिरियामा राष्ट्रपति बसर अल असदका सैन्य बलमाथि थप हवाई आक्रमण नगर्न अमेरिका सहमत भएको बताएका छन्। रुस भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनसँग बैठकपछि लाभारोवले उक्त जानकार दिएका थिए। दुई नेताबीचको पहिलो भेटवार्तामा सिरियाको मुद्दामा छलफल भएको जनाइएको छ।

यद्यपि अमेरिकी विदेशमन्त्रालयले रुसी विदेशमन्त्रीको उक्त बयानलाई लिएर आपत्ति जनाएको छ। ओरिकाले जारी गरेको बयानमा भनिएको छ– ‘विदेशमन्त्रीले आफ्ना रुसी समकक्षीलाई सिरियाको सायरत हवाई अड्डामाथिको हमलापछि कुनै थप स्थानलाई निसाना नबनाउने जानकारी दिएको तर हामीले भविष्यमा हुनसक्ने कारबाहीलाई अस्वीकार गरेको थिएनौं।’

शुक्रबार रुसी विदेशमन्त्री लाभारोवको सिरिया र इरानका विदेशमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको छ। गत हप्ता सिरियाको विद्रोही इलाकामा रसायनिक हमलापछि अमेरिकाले सिरियाको सरकारी फौजको मातहतमा रहेको एउटा हवाई अड्डामाथि टमहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो।

त्यसलगत्तै रुसले अमेरिकासँग सिरियामा लडाकू विमान उडानका लागि हुने गरेको सूचना आदान–प्रदानलगायतका सम्झौता रद्ध गरेको थियो।

रुसले सिरियाली वायुसेनाको सुरक्षालाई मजबुत पार्ने र सिरियाको वायु सेनालाई थप प्रभावकारी र असरदार बनाउने घोषणा पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्