वर्तमानमा जिउने कला छ नयाँ वर्षमा



बिजु सुवेदी “विजय”

उकाली–ओराली पार गर्दै २०७३ साल पनि बितिसक्यो। २०७४ सालदेखि हरेक पल आशा गरेअनुरुप मंगलमय होस्। यही शुभ–कामना गरौं। नूतन वर्षको स्वर्ण रश्मीले छरेर गगन आल्हादित होस्। समुच्च विश्व नै हर्षित, प्रमुदित र उत्साहित होस्। हृदय सरोवर होस्। बन्धुत्व सर्वत्र छाओस्। जन–जनमा उल्लास आओस्।

यस्तो खुशी आओस्, जसले भेदभाव तोडिदेओस्। आयो नयाँ वर्ष तपाईंको दैलोमा, ढकढकाइरहेछ बारम्बार ढोकामा। बितेका वर्षका भारी बिसाई ल्याइसक्यो नयाँ प्रेम–उमंग। दुवै हात फैलाई स्वागत गरेको छु नववर्ष तिमीलाई। आउनुहोस् सबैजना नयाँ वर्षको पहिलो कुञ्ज प्रभातको मिर्मिरे हेरौं। अनि संकल्प गरौं। मेटौं आपसी वैरभाव। आपसमा बाडौं उपहार। सबैजना बनौं साथी आत्मीय। सबै समाज मिली देशलाई प्रेमील बनाऔं। नयाँ उमंगले सिकौं भुलिसकेको प्रेमलाई। संसारलाई भनौं ‘हामी एक हौं’। यही विजयको प्रेमले सबैलाई दिऊँ नयाँ वर्षको शुभ–कामना।

पहिलेको जे छ राम्रो त्यसलाई लिएर अघि बढौं। पहिलेको जे छ खराब त्यसलाई भुलौं। पहिलेका गल्ती अब नदोहोर्याउनुहोस्, त्यसबाट शिक्षा लिनुहोस्। जीवनमा जतिसुकै ठूलो भूकम्प आए तापनि हिम्मतले साहसका साथ सामना गरौं। आफूलाई मजबुत पारौं, गाह«ो–साँघुरोबाट कहिल्यै नडगौं। तपाईंको नाउलाई चलाउने बहानाले तपाईंकै हातले किनारामा ल्याउनु छ। प्रेमभाव, आदर, भक्ति विश्वासमा सदा अटल हुनुपर्छ। कसैलाई किन अपशब्द गरी आफू खराब हुने ? सपना देख्न नछोड्नुहोस्। विपना बनाउन असन्तोष पनि चाहिन्छ अनि हुन्छ सपना साकार। कोशिशले हरेक साल बाँध्दै जानुहोस् गाँठो। त्यही गाँठोको सिँढीमा परिपक्वताका साथ उक्लिनु छ नयाँ चढान। एउटा नयाँ आकाशमा उडान भर्नु छ। एउटा नयाँ दिशामा अवश्य सफल होइन्छ।

बितेको सालले जे पूरा गर्न सकेन, त्यो कार्यभार अब नयाँ वर्षलाई आयो। स्वागत छ नयाँ वर्ष तिमीलाई। नयाँ किरण फैलाऊ तिमी। फोकटमा नबितोस् यो अबको नयाँ वर्ष। पुरानो सालको निर्जन, सुख्खा, बाँझो पनि झेल्यौं। अब हुनेछ नयाँ उमंग। भूकम्प, नाकाबन्दीले थिलथिलो पार्दा हामीले रुनुपरेको थियो। अझै आलो घाउ भरिएको छैन। त्यसलाई मलमपट्टी गर्नु नै छ। हाम्रो खुशी हामीसँग कुरा गर्न खोज्दा पनि एक्लो छ। यी सम्पूर्ण कुराहरूको लेखाजोखा गरिरहँदा हाम्रा तमाम विश्वासहरू डिगमिग भइरहेका छन्। भ्रष्टाचारको जालो खत्तम भएमा जनताले केही राहत पाउने थिए। हरेक नयाँ वर्षमा सफल हुन असफल प्रयासहरू भइरहेका छन्। हो कि ? होइन कि ? तर यो साल सफल हुन्छ भन्ने लागेको छ। एकपटक फेरि शुभ–कामनाले भारी बनाएर बहार फैलाऔं।

हामीले धेरै आँसु झारिसक्यौं, अब खुशीको आँसु ल्याउनु छ यो नयाँ वर्षले। बेलगाम जिन्दगीलाई एकदिन डुबाएर कहाँ सधैँ ३६५ दिन यस्तै हुन्छ र ? वर्षको आखिरी दिनको आखिरी रात मात्र क्यालेन्डर परिवर्तन भइरहेछ। सबैको जिन्दगी उस्तै छ। बस् नयाँ वर्ष मनाउने तरिका परिवर्तन हुनु जरुरी छ कि जसले ३६५ दिन नै सुखद बनाओस्। एउटा अरु वर्ष बितिगयो। बितेको समयका साथ हामी पनि त बितिरहेछौं। हामी बूढो हुँदै छौं, यसलाई नस्वीकारौं। हामी वरिष्ठ हुँदै छौं, परिपक्व हुँदै छौं, यसलाई स्वीकारौं। अनि हामीमा सदा उमंग हुनेछ। यही उमंगको रश्मीले कालरात्रि मेट्नेछ। साँच्चै नयाँ वर्ष नवीनताको पखेटा हो र पलपलको उडानले जून–ताराको सयर गर्न पाउनेछ। धर्तीमा सुगन्ध आउनेछ। मनमा धर्ती हुनेछ र धर्तीभरि सुन हुनेछ। जिन्दगी बदलिएको छैन, मात्र हामी धेरै अभिलाषा गर्छौं नयाँ वर्षमा अनि भन्छौं– विगतको गल्ती नदोहोर्याऔं। नयाँ समय आउँछ तर सोचेजस्तो परिवर्तन भइरहेको छैन। अभिलाषा पूरा भएन।’ समाजको समस्या यस्तो छ कि यसको ग्राफ ‘यु आकारले नघुमी सुल्झेलाजस्तो छैन। सञ्चित भएको नयाँ वर्षको अभिलाषाको कथा सुनाएँ यसरी मैले यहाँहरूलाई।

तसर्थ बुलन्द हौसला हुनुपर्छ। हरसपना साकार हुनुपर्छ। बितिसकेको समय जो बितेर गयो। समयले जतिसुकै कोल्टे फेरे पनि तपाईंको त्यो वर्तमान नै हो नयाँ वर्ष। आउन दिनुहोस् ती नयाँ पलहरूलाई। नयाँ समय आउने–जाने क्तम त भइरहन्छ, बितेका समयको खराब कुराहरू त्याग्दै असल कुराहरूलाई निरन्तरता गर्दै वर्तमानमा जिए कुनै फिक्तीविना अवश्य नै सुनमा सुगन्ध हुनेछ। तपाईंले अन्धकार मेटाउन बालेको दियो निभ्न सक्छ, यसलाई टिकाउन सचेत हुनै पर्छ। जिऊँ त जिऊँ होसपूर्वक वर्तमानमा प्रत्येक पल जिऊँ। सफलता यसमै छ। प्रत्येक समयको दृढ सन्देश यही छ र यसैले अवश्य ल्याउनेछ सदा वसन्त। कालो बादलमा पनि चाँदीको सुनौलो टलक हुन्छ, यही त हो नववर्षको सन्देश र यसरी वर्तमानमा होसियारीका साथ जिउनुपर्छ भन्ने यत्ति ठूलो र उत्कृष्ट गन्तव्य देखाएको छ नयाँ वर्षले।

प्रतिक्रिया दिनुहोस्