चाकडीमा कुदाकुद



धरहराले मंगलबार प्रहरी प्रधानकार्यालयतिर ध्यानदृष्टि दिंदा त्यहाँ प्रहरी अधिकृतहरुको दौडधूप हेर्न लायक देखिएको थियो। विगतमा अहिलेका नवनियुक्त आइजीपीलाई मतलब नै नगर्नेहरु पनि बधाई भन्दै ‘हजुर मेरो त सबैथोक हजुर नै हो’ भन्दै गरेको दृश्यसमेत देखिन्थ्यो। विगतमा चन्दलाई नियुक्त गरिदा कुदाकुद गर्दै उनकोमा पुगेर पुष्पगुच्छा अर्पण गरेकोमा पछि अदालतले रोक लगाएपछि उनीहरु बेकारमा गुच्छाका लागि पैसा खर्च भएछ भन्दै हिंडिरहेका देखिन्थे।

अलिपछि अदालतको अन्तिम फैसला आएपछि तिनै मान्छे फेरि लिगलिगे दौडको शैलीमा कुदेर सिलवालकोमा पुगेर बधाई दिएका थिए। हिजो र अस्ति राति तिनै मान्छे अर्यालको नाममा त्यसै गरी कुदिरहेका देखिन्थे। हैट, सुरक्षा गतिविधि हेर्नुपर्ने प्रहरीजस्तो निकायलाई चाकडीमा दौडाउने यो कस्तो शैली भित्र्याइएको होला ?

अहिले त चुनाव आउन लागेको छ। प्रहरी संगठन त चुनावी सुरक्षातिर पो केन्द्रित हुनुपर्ने। यहाँ त कोही चाकडीमा कुद्ने, कोही नेताकोमा कुद्ने, कोही कता कुद्ने … ? अनि मुलुक र मुलुकबासीको सुरक्षाको गहन जिम्बेवारीचाहिं कसले निर्वाह गर्ने ? यसरी मनलाग्दी कुद्नेहरुलाई नयाँ आइजीपीले लगाम लगाउने हो कि ? काम नदिएका कारणले नै त उनीहरु यसरी चाकडीमा कुदेका होलान् नि। पाठकबृन्दलाई के लाग्छ कुन्नि !

प्रतिक्रिया दिनुहोस्