संगीतले छोडेन खानलाई



रूपन्देहीको सिद्धार्थनगर–१ बेल्हियाका मोहम्मद वरिस खान बाल्यकालदेखि नै गायकका रूपमा चिनिन चाहन्थे। त्यहाँ त्यस्तो सांगीतिक माहोल थिएन जसबाट उनी गायक बनून् र चिनिउन्। भारतमा अध्ययन गरेका उनले त्यस क्रममा हिन्दी गीत सुन्दै गाउने अभ्यास गरे।

पढाइ छोडेपछि पिताको सल्लाहमा नेपालमा व्यापारतिर लागे पनि लक्ष्य भने संगीत थियो। तर, पिताजीको अगाडि भन्ने हिम्मतचाहिँ गरेनन्। एक दिन जसोतसो हिम्मत जुटाएर बुबालाई सबै कुरा सुनाए। पिताजीले भने रिसाएर त्यसमा नलाग्नु भनेर उर्दी जारी गरे। यसका बावजुद खान लुकीछिपी गीत सुन्ने र गाउने गर्न थाले। पसलमा ग्राहक आउँदा पनि उनको ध्यान भने संगीतमै हुन्थ्यो। जसका कारण उनको व्यापार व्यवसायसमेत डुब्दै गयो। तैपनि बुबालाई नभनी पसलबाट केही रकम लिएर काठमाडौं हानिए। काठमाडौंमा आएर संगीतकार प्रकाश गुरुङ र विजय सिंह मुनालसँग संगीतका बारेमा ज्ञान लिए। तर, काठमाडौंमा धेरै टिक्न पाएनन्, घरबाट सहयोग नभएपछि उनी बाध्य भएर फर्किए। पिताजीको नजरमा उनले महागल्ती गरेकै थिए। त्यसैले पिताको अगाडि केही बोल्न सकेनन् ।

त्यसपछि भने उनी आफैं दुई पैसा कमाएर पैसा जुटाउनतर्फ लागे। संगीत पनि लुकीछिपी सिक्दै थिए। भैरहवामा गायक हेमन्त कार्की छन् भन्ने थापा पाएर उनी घरमै पुगे। कार्की उनका साँच्चिकै गुरू भए, जसले दिएको टिप्सबाटै उनले अहिलेसम्म रियाज गरिरहेका रहेछन्। स्व. कार्कीका म जाँदै छु तर, बोलबोल मीठो बोलजस्ता गीतहरु चर्चित छन्। कार्कीको प्रेरणामै सांगीतिक क्षेत्रमा आएका खानले ९⁄१० वर्ष पहिले काठमाडौंमा आएर एल्बम निकाले। उनको पहिलो एल्बम भने खासै चलेन। ‘नयाँ गायक भएर हो वा किन, पहिलो एल्बम खासै चलेन। अनुभव मात्रै बटुलें’, खानले सुनाए– ‘जुन उद्देश्यले काठमाडौं आएको हो, त्यो पूरा नभएपछि र एल्बम नचलेपछि फर्कने ठाउँ त फेरि आफ्नो घर नै हो। घरै फर्कन बाध्य भएँ।’

घर फर्केर पुरानै व्यापार समातेका खानलाई पहिलो एल्बम नै चलेपछि अब गाउँदिन भन्ने लागेछ। ‘तर, संगीत न हो, यसको नशाले के छोड्थ्यो र ? साथी बैकुण्ठ पौडेलमार्फत् गीतकार शीतल कादम्बिनीसँग परिचय भयो। संगीतकार सुरेश अधिकारीसँग पनि चिनजान भयो। त्यसबेला अचानक भाग्य खुलेको महसुस भयो। अधिकारीमार्फत् लक्ष्मण शेष, महेश खड्का, हरि लम्साल, शिखर सन्तोषलगायतसँग पनि भेटघाट बढ्यो। उहाँहरुसँगैको संगत्ले फेरि संगीतमै होमिएँ’ –उनले भने। सांगीतिक क्षेत्रमा जम्ने सुरले सुरिएर गायक खानले बजारमा दोस्रो एल्बम सार्वजनिक गरेका छन्। उनको दोस्रो एल्बम आगो र फूल बजारमा छ। ‘पहिलो एल्बमले मलाई संगीत पढायो। दोस्रो एल्बममार्फत् स्रोता, दर्शक र पाठकको मन जित्ने विश्वास छ’ –उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्