धार्मिक सहिष्णुताको पर्याय बनेको एउटा गाउँ



नरेन्द्र केसी, घोराही
दाङमा एउटा यस्तो गाउँ छ, जहाँ दुईवटा धर्म मान्ने समुदाय बस्छन् तर एउटै परिवारजस्तो गरेर। शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवाका हिन्दू र मुश्लिम समुदाय धार्मिक सहिष्णुताको पर्याय बनेर बसेका छन्।

यो गाउँमा मुश्लिम समुदायका ५० घर परिवार छन् भने सात सयभन्दा बढी जनसंख्या रहेको छ। योबाहेक बाँकी हिन्दू समुदाय छ। यी दुबै समुदाय निकै मिलेर बसेका छन्। एकआपसमा सद्भाव साट्छन् र सबै सामाजिक कामकाज मिलेर गर्छन्। मुश्लिम समुदायका धेरै मान्छे चुरा व्यापार, खेतीपाती र गाउँघरमा ज्यालामजदुरी गर्छन्।

‘गाउँमा हिन्दू समुदायको बाहुल्यता रहे पनि मुश्लिम समुदायको अस्तित्वमा आँच आउने कुनै कार्य गर्नुभएको छैन’– स्थानीय मदरसा ज्याउलउलुम प्रावि अमुवाका शिक्षक अब्दुल्लाह मियाँले भन्नुभयो– ‘हाम्रो गाउँमा एक अर्काप्रति एकदमै निकै मायाँ र सद्भाव छ।’

कतिपयसम्म भने केही वर्षअघि कपिलवस्तुमा दंगा हुँदा बाहिरबाट केही व्यक्ति यहाँको मुश्लिम समुदायमाथि हमला गर्न आएका थिए। त्यतिबेला यो वस्तीको रक्षा गर्न हिन्दू समुदायका व्यक्तिहरू अघि सरे। शिक्षक मियाँ भन्नुहुन्छ– ‘केही गर्ने हो भने हामीलाई गर तर मुश्लिम साथीहरू हाम्रो सबैभन्दा नजिकका मित्र हुन् भनेर बचाउनुभयो, हामी पनि उहाँहरूसँग निकै आडभरोसा गर्छौं।’

हिन्दूहरूको पूजामा फलफूल र दही, दुध लिएर जाने र प्रसाद खाएर आउने गरेको उहाँले बताउनुभयो।‘विवाहलगायतका सबै कामकाजमा बोलाउनुहुन्छ र हामी पनि जान्छौं’ –स्थानीय २५ वर्षे मोहम्मद अजिजले भन्नुभयो, ‘मृत्यु हुँदा काठ नलिए पनि सँगै मलामी जान्छौं, उहाँहरूको संस्कारमा सँगै बसेर साथ दिन्छौं। हामीलाई पर्दा उहाँहरू पनि आफ्नो संस्कारअनुसार उपस्थित हुनुहुन्छ।’

त्यसो त अन्तरजातीय र अन्तरधार्मिक विवाह पनि हुन थालिकेका छन्। मुश्लिम मात्र होइन, हिन्दू समुदायका अगुवा पनि मुश्लिम समुदायको निकै प्रशंसा गर्छन्। स्थानीय शिक्षक सुनिता खनालले भन्नुभयो– ‘म विवाह भएर आउँदा हिन्दू र मुश्लिम समुदायका मानिसहरू एउटै गाउँमा त्यो पनि छरछिमेकी भएको कुरा सुन्दा अचम्म लागेको थियो। विस्तार बुझ्दै जाँदा दुबै समुदायबीच एक–अर्काप्रति सहयोगको भावना, सद्भाव र रगतको नात पनि जोडिएको देख्दा खुसी लाग्छ। त्यसो त मुश्लिम समुदायका बालबालिकाले पढ्ने मदरसामा अन्य समुदायका शिक्षक पनि पढाउँछन्।

अमुवा निवासी ठाकुरप्रसाद केसीको अनुभव पनि यस्तै छ। ‘हाम्रो गाउँमा धार्मिक हिसाबले तेरो मेरो भन्ने छैन। बाबुबाजेका पालादेखि सहयोग र सद्भाव चल्दै आएको छ’, उहाँले भन्नुभयो– ‘इद तथा रमाजान मनाउँदा हामीलाई पनि बोलाउनुहुन्छ जान्छौं, खाएरै आउँछौं। हिन्दू समुदायका धेरै चेलीहरूको मुश्लिमसँग विवाह भएको छ। पारिवारिक सम्बन्ध पनि राम्रै छ।’

प्रतिक्रिया दिनुहोस्