धार्मिक सहिष्णुताको पर्याय बनेको एउटा गाउँ



नरेन्द्र केसी, दाङ ।

दाङमा एउटा यस्तो गाउँ छ, जहाँ दुई वटा धर्म मान्ने समुदाय बस्छन् तर एउटै परिवारजस्तो गरेर । शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवाका हिन्दू र मुश्लिम समुदाय धार्मिक सहिष्णुताको पर्याय बनेर बसेका छन् ।

यो गाउँमा मुस्लिम समुदायका ५० घर परिवार छ भने सात सयभन्दा बढी जनसंख्या रहेको छ । योबाहेक बाँकी हिन्दू समुदाय छ । यी दुबै समुदाय निकै मिलेर बसेका छन् । एकआपसमा सद्भाव साट्छन् र सबै सामाजिक कामकाज मिलेर गर्छन् । मुश्लिम समुदायका धेरै मान्छे चुरा व्यापार, खेतीपाती र गाउँघरमा ज्यालामजदुरी गर्छन् ।

‘गाउँमा हिन्दु समुदायको बाहुल्यता रहे पनि मुस्लिम समुदायको अस्तित्वमा आँचआउने कुनै कार्य गर्नु भएको छैन’– स्थानीय मदरसा ज्याउलउलुम प्रा.वि. अमुवाका शिक्षक अब्दुल्लाह मियाँले भन्नुभयो– ‘हाम्रो गाउँमा एक अर्काप्रतिएकदमै निकै मायाँ र सद्भाव छ ।’

कतिपयसम्म भने केही बर्षअघि कपिलवस्तुमा दंगा हुँदा बाहिरबाट केही व्यक्ति यहाँको मुश्लिम समुदायमाथि हमला गर्न आएका थिए । त्यतिबेला यो वस्तीको रक्षा गर्न हिन्दू समुदायका व्यक्तिहरु अघि सरे । शिक्षक मियाँ भन्नुहुन्छ– ‘केही गर्ने हो भने हामीलाई गर तर मुश्लिम साथीहरु हाम्रो सबैभन्दा नजिकका मित्र हुन् भनेर बचाउनुभयो, हामी पनि उहाँहरुसँग निकै आडभरोसा गर्छौं ।’

हिन्दूहरुको पूजामा फलफूल र दहि, दुध लिएर जाने र प्रसाद खाएर आउने गरेको उहाँले बताउनुभयो । ‘विवाहलगायतका सबै कामकाजमा बोलाउनुहुन्छ र हामी पनि जान्छौं’– स्थानीय २५ बर्षे मोहम्मद अजिजले भन्नुभयो– ‘मृत्यु हुँदा काठ नलिएपनि सँगै मलामि जान्छौं, उहाँहरुको संस्कारमा सँगै बसेर साथ दिन्छौं । हामीलाई पर्दा उहाँहरु पनि आफ्नो संस्कारअनुसार उपस्थित हुनुहुन्छ ।’

त्यसो त अन्तरजातीय र अन्तरधार्मिक विवाह पनि हुन थालिकेका छन् । मुश्लिम मात्र होइन, हिन्दू समुदायका अगुवा पनि मुश्लिम समुदायको निकै प्रशंसा गर्छन् । स्थानीय शिक्षक सुनिता खनालले भन्नुभयो– ‘म विवाह भएर आउँदा हिन्दु र मुस्लिम समुदायका मानिसहरु एउटै गाउँमा त्यो पनि छरछिमेकी भएको कुरा सुन्दा अचम्म लागेका थियो । विस्तार बुझ्दै जाँदा दुबै समुदायबीच एक–अर्काप्रति सहयोगको भावना, सद्भाव र रगतको नात पनि जोडिएको देख्दा खुशी लाग्छ । त्यसो त मुश्लिम समुदायका बालबालिकाले पढ्ने मदरसामा अन्य समुदायका शिक्षकप नि पढाउँछन् ।

अमुवा निवासी ठाकुरप्रसाद के.सी.को अनुभव पनि यस्तै छ । ‘हाम्रो गाउँमा धार्मिक हिसाबले तेरो मेरो भन्ने छैन । बाबु बाजेका पालादेखि सहयोग र सद्भाव चल्दै आएको छ’– उहाँले भन्नुभयो– ‘इद तथा रमाजान मनाउँदा हामीलाई पनि बोलाउनु हुन्छ जान्छौं, खाएरै आउँछौं । हिन्दु समुदायका धेरै चेलिहरुको मुस्लिमसँग विवाह भएको छ । पारिवारिक सम्बन्ध पनि राम्रै छ ।’

प्रतिक्रिया दिनुहोस्