रूपन्देही च्यालेन्जर्सको जितबाट शुरुआत



रूपन्देही च्यालेन्जर्सका कृष्ण कार्की बलिङ गर्दै।

नेपाल समाचारपत्र
काठमाडौं
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सोमबारको खेलमा जित हात पार्दै रूपन्देही च्यालेन्जर्सले राम्रो शुरुआत गरेको छ।

शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले हराएको हो। टस जितेर ब्याटिङ गरेको रूपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनायो। तर कञ्चनपुर आइकोनिक २० ओभर खेले पनि ९ विकेट गुमाएर १ सय ३१ रनमा समेटिएको थियो।

रूपन्देहीका लागि ओपनर हरिशंकर शाहले ३३ रन योगदान दिए। रनआउट भएका हरिशंकरले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै विकेटकिपर प्रकाश केसीले २६ तथा अर्का ओपनर शंकर रानाले १९ रन बनाएका थिए। बलिङमा कञ्चनपुरका कुशल भुर्तेलले ४ विकेट लिए भने अविनाश कर्णले २ विकेट हासिल गरे।

कञ्चनपुर आइकोनिकका ओनपरद्वय सागर पुन र सुनिल धमलाले ५२ रनको साझेदारी गरेर सानदार शुरुआत दिलाएका थिए। तर दुवै जना आउट भएपछि खेलमा रूपन्देही च्यालेन्जर्स हाबी भएको थियो। सागरले ३९ रन र सुनिलले २८ रन जोडेका थिए। त्यस्तै कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै १३ बलमा २७ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। अविनाश कर्ण १५ रनमा नटआउट रहे।

कञ्चनपुरलाई जितबाट रोक्न उत्कृष्ट बलिङ गरेका रूपन्देही कृष्ण कार्की र शहाद आलमले समान ३ विकेट लिए भने कप्तान शक्ति गौचनले २ विकेट झारेका थिए।

अत्तरियाको जित
यसअघिको पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको टोली सीवाईसी अत्तरियाले पनि विजयी शुरुआत गर्यो। सीवाईसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले हराएको थियो।

अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ४६ रन बनाउँदा योगेन्द्र सिंह कार्कीले ५७ रन बनाए। जवाफमा गोल्डेन गेट्स १ सय ६ रनमा अलआउट भएको थियो। विजेता टोलीका अविनाश बोहोराले चार विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्