बन्ने भयो विपन्न अग्निपीडितको घर



नरेन्द्र केसी, घोराही, दाङ
दाङको बंगलाचुली गाउँपालिका–२ खाडाका विपन्न अग्निपीडित दलबहादुर घर्तीको घर बन्ने भएको छ। गत फागुन ३० गते आगोले घर जलेपछि घर्ती परिवार जलेकै घरमा बस्दै आएको छ। नेपाल समाचारपत्र दैनिकमा ‘चैतै धुपमा जलेको घरमा बास’ शीर्षकको समाचार प्रकाशित भएपछि स्थानीय युवा अगुवा जंग रोकाले घर्तीको घर निर्माणका लागि अभियान थाल्नुभएको थियो। सोही अभियानअन्तर्गत शनिबार र आइतबार गरी ३६ हजार सहयोग संकलन भएको छ।

आइतबार मात्रै थप साढे १३ हजार रुपियाँ संकलन भएको रोकाले जानकारी दिनुभयो। आइतबार पूर्वसामान्य प्रशासनमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य रेखा शर्माले ३ हजार ५ सय, घोराही उपमहानगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले ५ हजार, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष केएल पीडितले १ हजार ५ सय, कृष्ण कुँवरले २ हजार, माओवादी केन्द्र घोराही १९ नम्बर वडा अध्यक्ष मनबहादुर विश्वकर्मा ‘उदय’ ले १ हजार, भीउकुमार पुनले १ हजार र प्रकाश रावतले ५ सय सहयोग गर्नुभएको छ।

त्यस्तै शनिबार राप्ती अञ्चल बजार प्रतिनिधि एसोसियसनले ५ हजार १ सय, घोराही रझेना निवासी सुवास गौतमले ३ हजार, प्रदीप सुवेदीले २ हजार ५ सय, बमबहादुर खड्काले २ हजार १ सय, सतबहादुर रोकाले २ हजार, जगत जीएमले २ हजार, सुरेश बुढाथोकीले १ हजार, ज्ञानबहादुर रायमाझीले १ हजार, श्रीधर कँुवरले १ हजार, हिमाल रोकाले १ हजार र सुरेश बुढाले ५ सय रुपियाँ सहयोग गर्नुभएको थियो।
सहयोग रकम झन्डै ५० हजार पुगेपछि टिन खरिद गरेर स्थानीय जनश्रमदानको पनि व्यवस्था गरी घर्तीको घर निर्माण गरिने अभियानका अगुवा रोकाले जानकारी दिनुभयो। ‘अन्य ठाउँबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको छ’, उहाँले भन्नुभयो– ‘वर्षात नलाग्दै हामीले घर्तीलाई छानोमुनिको घरमा बसाल्छौं।’

झन्डै एक महिनासम्म आफूहरू बेसाहरा बने पनि घर निर्माणका लागि सहयोग संकलन अभियान शुरू भएपछि अब घर बन्ने आशा पलाएको घर्तीले बताउनुभयो। ‘ज्याला मजदुरी गरेर परिवार पालेको छु, अभावकै कारण १४ वर्षको छोरा कमाउन भारत गएको छ’, उहाँले आँशु चुहाउँदै भन्नुभयो– ‘कसैले सहयोग नगरेको भए मेरो घर बन्ने स्थिति नै थिएन, गरिबका लागि काम गर्ने मान्छे पनि जन्मेका रहेछन्, खुसी लागेको छ।’

प्रतिक्रिया दिनुहोस्