जात्रालाई हिंसामुक्त बनाउँन सद्भाव र्याली



भक्तपुर, २८ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु हुनुपूर्व आज बिहान भक्तपुरमा विशाल सद्भाव एवम् शान्ति र्याली निकालिएको छ ।

बिस्केटको मुख्य गरी भैरबको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा गर्ने गर्दा मानिसको ज्यान जाने र जात्रा हिंसामा परिणत हुने गलत प्रचलन बढ्दै गएपछि यसलाई रोकेर शान्तिपूर्णरूपमा जात्रा सम्पन्न गराउने सन्देश प्रवाह गर्न र्यालीको आयोजना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहान जात्रा सुरु हुने स्थान तौमढी चोक (पाँचतले मन्दिर र भैरव मन्दिरअगाडि)बाट र्याली सुरु गरी नगरको विभिन्न स्थानको परिक्रमा गरिएको थियो । सरकारी कार्यालयका कर्मचारी, प्रहरी, राजनीतिक दल, नागरिक समाज, स्थानीय विभिन्न क्लबका प्रतिनिधि, विद्यार्थी, स्काउट सुरक्षाकर्मीका तीनवटै निकाय, सञ्चारकर्मी र विभिन्न सङ्घसंस्थाका सयाँैको विशाल र्यालीमा सहभागी रहेका थिए ।

‘जात्रालाई शान्तिपूर्णरूपमा मनाऔँ, ढुङ्गा हान्ने र झगडा गर्ने कार्य त्यागौँ’ भन्ने सन्देश दिँदै जनचेतना जगाउन विभिन्न बाजागाजाका साथ शान्ति र्यालीको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुुभयो ।

यस वर्ष जात्रालाई शान्तिपूर्ण बनाउन जात्रामा एक हजार एक सयभन्दा बढी सुरक्षाकर्मी खटाउने, २४ स्थानमा सिसी क्यामरा जडान गर्ने, स्थानीय भट्टी पसल बन्द गराइने, झगडा गर्ने र ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्