मूल्यवृद्धि ३ प्रतिशतभन्दा कम पहाडमा मूल्यवृद्धि सबैभन्दा धेरै



नेपाल समाचारपत्र
काठमाडौं
फागुन महिनामा मूल्यवृद्धि २ दशमलब ९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको हो । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही महिनामा मूल्यवृद्धि १० दशमलब २ प्रतिशत रहेको थियो।

आपूर्ति व्यवस्थामा आएको सुधारका कारण मूल्यवृद्धि घट्दै आएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा खाद्य मूल्यवृद्धि शून्य दशमलब ४ प्रतिशतले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा १० दशमलब ३ प्रतिशत रहेको थियो। खाद्य समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११ दशमलब २ प्रतिशत, तरकारीको मूल्यमा ८ दशमलब ३ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ५ दशमलब ८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा शून्य दशमलब १ प्रतिशतले कमी आएकाले समग्र खाद्यतर्फको मूल्यवृद्धि ऋणात्मक भएको हो।

त्यस्तै चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ दशमलब २ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १० दशमलब ७प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा गैरखाद्य मूल्यवृद्धि ५ दशमलब ६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मूल्यवृद्धि १० दशमलब २ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायातलगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मूल्यवृद्धि कम रहन गएको हो।

यसैगरी क्षेत्रगत आधारमा समीक्षा अवधिमा उपभोक्ता मूल्यवृद्धि पहाडमा ५ दशमलब ९ प्रतिशत, हिमालमा ३ दशमलब ७ प्रतिशत, तराईमा २ दशमलब ८ प्रतिशत र काठमाडौं उपत्यकामा १ दशमलब ९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १० दशमलब ४ प्रतिशत, हिमालमा ८ दशमलब ५ प्रतिशत, तराईमा ८ दशमलब ६ प्रतिशत र काठमाडौं उपत्यकामा १२ दशमलब ७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्