कालिकोटमा खानेपानीको चरम अभाव



कालीवहादुर मल्ल,कालिकोट ।

जिल्लाका अधिकांस ग्रामिण विकट क्षेत्रमा खानेपानीको अभाव भएको छ । खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरवाहीले गर्दा गाउँमा स्थानीयले खानेपानी अभाव झेल्नु परेको हो ।

विकासका पूर्वाधार मध्यकै समस्याका रुपमा खानेपानी देखिएको कोटवाडा– ४ का धनवहादुर बिष्टले बताए । ‘जिल्लामा एक दर्जन भन्दा भेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भए पनि नरहरीनाथ गाउँपालिका र पलाता गाउँपालिकामा खानेपानीको निकै समस्या रहेको छ ।’ उनले भने,– ‘गाउँमा पिउने पानी छैन । स्वास्थ्य संस्थामा उस्तै हालत छ । गाउँमा पानीको अवस्थाले गर्दा निकै नाजुक छ ।’
नरहरीनाथ गाउँपालिकोको कोटबाडाको स्वास्थ्य चौकीमा बिग्रिएको धारा मात्र छ । बिरामी र स्वास्थ्यकर्मीलाई पानी चाहियो भने गाउँमा गएर ल्याउनु पर्ने अवस्था रहेको बिष्टले बताए । ‘सरसफाइको कुराभन्दा पनि पिउने पानी नै घरबाट बोकेर ल्यानु पर्ने बाध्यता रहेको छ ।’ उनले भने ।

त्यस्तै, सान्नि त्रिवेणी गाउँपालिकाको रकुमा रित्ता धाराहरु छन् । पानीको निकै अभाव छ । साविकको रकु–३ र ४ वडाका ८० घरधुरीका स्थानीयवासीले खानेपानी अभाव झेल्नु परेको छ । दलित समुदाय भएको यो गाउँमा पानीको हाहाकार स्थानीय शिक्षक लालबहादुर गिरीले बताए ‘गाउँमा पिउने पानीको चरम अभाव छ ।’ उनले भने,–‘बिद्यालयमा बालबालिकाले पिउने पानी पाएका छैनन् ।’

जिल्लाको पलाता गाउपालिकाको धौलागोह र खिन गाउँमा पनि पानीको निकै अभाव छ । वनजंगल नभएको सुख्खा क्षेत्र भएका कारणले पनि पानीको अभाव हुने गरेको हो । विगत लामो समयदेखि यहाँका स्थानीय पानीको अभाव झेल्दै आएको स्थानीय समाजसेवी सुमन बमले बताए । ‘पलाता गाउँपालिकामा पानीको सधै अभाव हुने गरेको छ ।’ उनले भने,–‘पानीका लागि रातभरी हिडेर कर्णाली नदीको पानी लिन जानुपर्ने अवस्था छ ।’

जिल्लाको खानेपानीको अवस्थालाई सहज गरी ग्रामिण क्षेत्रमा पहुँच पुगाउने आफू प्रतिबद्ध रहेको खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद पौडेल बताए । ‘पानी अभाव नहुने गरी योजना बन्दै छ । हाल सबै ठाउँमा पानीको अभाव भएको छैन । केही गाउँमा मात्र पानीका समस्या देखिएको हो ।’ उनले भने ।

गाउँभन्दा पनि सदरमुकाममै ठूलो पानीको समस्या देखिएको मान्मका स्थानीयले बताएका छन् । कालिकोटमा ८० प्रतिशत खानेपानीको पुहँच पुगेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीले तथ्यांकमा देखाएको छ । जिल्लालाई खुला दिशामुक्त घोषणा गरिए पनि अहिलेसम्म पानीको अभावले सदरमुकामका सार्वजनिक शौचालय एउटा पनि प्रयोगमा छैनन् ।

जिल्लाको विकट पलता गाउपालिका धौलागोह गाउमा खानेपनीको अभावमा दुइघण्टा पैदल हिडेर पानीभर्नका लागि भाडा जम्मा गरिएका जहाँ राती वास समेत वसेर पानी भर्नु पर्ने अवस्था छ । फोटो- कालीवहादुर मल्ल

प्रतिक्रिया दिनुहोस्