आँखा उपचारमा सरकारले सहयोग गर्छ ः प्रधानमन्त्री



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आँखा अस्पतालको ४३ औं बार्षिक उत्सव कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुभएको छ।

शनिबार नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा प्रधानमन्त्री प्रचण्डले अस्पतालद्वारा निःशुल्क शल्यक्रिया गरिएका ४३ जना आँखाका बिरामीको पट्टी खोली वार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

सो अवसरमा उहाँले आँखाको समस्याका कारण कोही पनि उपचारबाट बन्चित हुनु नहुने र सबैले उज्यालो देख्न पाउनु पर्ने बताउँदै आँखाका रोगीहरूलाई सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा पुर्याउन सरकारका तर्फबाट पनि आवश्यक सहयोग रहने बताउनुभयो।

प्रधानमन्त्रीले ४३ वर्ष अगाडि स्थापना भएको आँखा अस्पतालले हालसम्म लाखौं आँखाका बिरामीहरूलाई सेवा प्रदान गर्दै हजारौंको संख्यामा दृष्टि पुनस्र्थापना गर्ने गरी आँखाको शल्यक्रिया गरेको र यो सेवालाई अझ प्रभावकारी ढंगबाट विस्तार गर्दै लगेकोमा खुशी व्यक्त गर्दै देशमा दक्ष नेत्र विशेषज्ञ तथा नेत्र सहायक उत्पादनको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएकोमा आभार व्यक्त गर्नुभयो।

उहाँले नेपाल आँखा अस्पतालले वृद्धवृद्धा, गरिब, असहाय तथा विपन्न वर्गलाई सहुलियत दरमा सेवा प्रदान गर्नुका साथै दूरदराजमा रहेका पिछडिएको समुदायको घरदैलोमा पुगी सेवा पुर्याउँदै आएकोमा ह्दयदेखि नै कदर व्यक्त गर्नुभयो।

कार्यक्रममा समाजका संयोजक सरोजराज गोसाईंले नेपालको शिक्षाबारे अवधारणापत्र पेश गर्नुभएको थियो। समाजको प्रथम राष्ट्रिय भेलामा विभिन्न जिल्लाका २८ वटा कलेजका २ सय प्राध्यापकको सहभागीता रहेको छ।

प्रतिक्रिया दिनुहोस्