इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्टलाई प्राप्ति गर्ने प्रस्ताव पारित



काठमाडौं,(नेस)

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि बैंकले शुक्रबार विशेष साधारणसभाको गरेको थियो। विशेष साधारणसभामार्फत् सो प्रस्ताव पारित गरिएको हो।

नेपाल इन्भेष्टमेन्ट बैंकको हाल चुक्ता पुँजी ८ दशमलब ७४ अर्ब र एस डेभलपमेन्ट बैंकको १ दशमलब २० अर्ब रुपियाँ रहेको छ। एस बैंक प्राप्तिपछि नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी ९ दशमलब २४ अर्ब रुपियाँ पुग्ने छ। त्यस्तै बैंकको कुल निक्षेप १ सय ३४ अर्ब रुपियाँ पुग्ने छ भने कुल कर्जा १ सय ५ अर्ब रुपियाँ हुने छ। पुँजी पर्याप्तता अनुपात १३ दशमलब ९ प्रतिशत पु्ग्ने छ। एस डेभलपमेन्ट बैंकको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत हुनेछ।
एस डेभलपमेन्ट बैंकलाई १ बराबर शून्य दशमलव ४१ शेयर स्वाप रेसियोमा खरिद गरिने निर्णय भएको छ अर्थात एस डेभलपमेन्ट बैंकको सय कित्ता शेयरबराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ४१ कित्ता शेयर हुने छ। हाल इन्भेष्टमेन्ट बैंकको ४७ वटा शाखा र एस डेभलपमेन्ट बैंकको १२ वटा शाखा छन्। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ८४ वटा एटीएम र एस डेभलपमेन्ट बैंकको १२ वटा एटीएम छ।

एस डेभलपमेन्ट बैकको प्राप्तिपछि पनि नेपाल इन्भेष्टमेन्ट बैंकको हालकै सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छन्। नेपाल इन्भेष्टमेन्ट बैंकले पाँच पटकसम्म बैंक अफ द इयर अवार्ड प्राप्त गरेकोे छ। शुक्रबार नै बसेको एस डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले पनि उक्त प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्