ठूलो परिमाणका विस्फोटक पदार्थ निस्क्रिय



विनोदसिंह विष्ट, बैतडी

नेपाली सेनाको शत्रुमर्दन गुल्मले बैतडीमा सुतली बमसहित १० क्वीन्टल विस्फोटक पदार्थ फेला पारी निस्क्रिय पारेको छ।

निस्क्रिय पारेको विस्फोटक पदार्थमा ४० वटा सुतली बम, नेपोलाइट १० क्वीन्टल र सेफ्टी फ्युज १० हजार मिटर रहेको बताइएको छ।

सशस्त्र द्वन्द्वका बेला बैतडी दार्चुला सडक निर्माण गर्ने ठेकेदार कम्पनीले सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त विस्फोटक पदार्थ निस्क्रिय पारिएकोे प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो। द्वन्द्वका बेला सडक निर्माण कम्पनीको कार्यालय विद्रोही समूहले जलाएको थियो। उहाँले भन्नुभयो –‘द्वन्द्वकै बेला आवश्यक पर्ने विस्फोटक पदार्थ सुरक्षाका लागि प्रहरीलाई राख्न दिइएको थियो।’

बैतडी सदरमुकाम गढीमा रहेको जिल्ला प्रहरी कार्यालय र शत्रुमर्दन गुल्मको बीच भागमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरको खानेपानीनजिक भेटिएको उक्त विस्फोटक पदार्थ द्वन्द्वका बेला सडक कार्यालयले सुरक्षा लागि प्रहरीलाई दिइएको भनिए पनि त्यसको पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। ‘सडक कार्यालयले सुरक्षाका लागि दिइएको भनिए पनि कुनै पनि प्रमाण छैन’। उहाँले भन्नुभयो– ‘विगतमा कार्यरत प्रहरीबाट सडकले सुरक्षाका लागि दिएको भन्ने बुझिएको छ।’

शत्रुमर्दन गुल्म बैतडीको बम डिस्पोजल टोलीले दशरथ चन्द नगरपालिका २ कठपतेको जंगलमा शुक्रबार उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तत्कालीन विद्राही समूह माओवादीले चलाएको १० वर्षे द्वन्द्वका बेला बढी प्रभावित भएको बैतडीमा ध्वस्त पारेका भौतिक संरचनाहरू पुनर्निर्माण हुन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्