गुणस्तरहीन सामग्रीले निर्माणाधीन कल्भर्ट चर्कियो



उत्तम नेपाल, भद्रपुर
कल्भर्ट निर्माणमा ठेकेदार कम्पनीले मापदण्डअनुसारको सामग्री प्रयोग नगरेका कारण पाइप कल्भर्ट चर्किएको पाइएको छ। झापाको सहायक राजमार्गअन्तर्गतको चाराआली भद्रपुर हँुदै केचना सडक खण्ड निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको हो।

ठेकेदार कम्पनीले निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गर्न थालेपछि स्थानीय जनता आक्रोशित बनेका छन्। निर्माण कार्य गुणस्तरयुक्त बनाउनुपर्नेमा ठेकेदार कम्पनीले सरकार तथा जनताको आँखा छल्दै गुणस्तरहीन बनाइरहेको स्थानीयले आरोप लगाएका छन्। चारआलीदेखि चन्द्रगढीसम्म निर्माण भइरहेको पाइप कल्भर्टमा ठेकेदारले कमसल सामग्री प्रयोग गरिरहेको स्थानीय सीताराम पराजुलीले बताए। ठेकेदारले माटो मिसाएको बालुवामा सिमेन्टको मात्रा कम प्रयोग गरेकाले पाइप कल्भर्टहरू चर्किन थालिसकेकाले यसको टिकाउ नहुने भन्दै ठेकेदारमाथि आरोप लगाए। कल्भर्ट निर्माण कार्य माटो खन्नेदेखि नै ठेकेदार पक्षले काम बिगारेकाले यसको तत्काल छानविन हुनुपर्ने तारानाथ चौलागाईंले माग गरे। कल्भर्ट बनाउँदा ठेकेदारले लापरबाही ढंगले निर्माण कार्य गरिरहेकाले यसको अवधि दीर्घकालीन नहुनेमा स्थानीय ईश्वर खतिवडाले बताए।

चार दशक लामो संघर्षपश्चात चारआली–केचना सडक खण्ड निर्माण कार्य माघदेखि शुरू भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले असोज १७ गते शिलान्यास गरेको तीन महिनापछि स्थानीयबासीको दबाब निर्माण शुरू भएको छ। ४० किलोमिटर लामो सडक खण्डअन्तर्गत शून्यदेखि २० किलोमिटर सडक बनाउने ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले लिएको हो। निर्माण कम्पनीले भ्याटसहित ४१ करोड ६१ लाख ८४ हजार १ सय ४२ रुपियाँमा ठेक्का लिई ३० महिनामा सम्पन्न हुने गरी कार्य शुरू गरेको हो। सडकको सर्भिस लेन ३ किलोमिटर र ५.५ मिटर दुवैतर्फ हुनेछ। सडकमा ६० वटा पाइप कल्भर्ट, २ वटा स्लाब कल्भर्ट, एउटा बक्स कल्भर्ट र एउटा कजवे हुनेछ। अहिले ठेकेदारले पाइप कल्भर्टको निर्माण कार्य धमाधाम गरिरहेको देखिन्छ। पाइप कल्भर्ट निर्माण भइरहेको सडक खण्डमा ठूलाठूला सवारीसाधन चल्ने गरेको छ। त्यहाँ ४ वटा सिमेन्ट उद्योग रहेका छन्। गुणस्तहीन बनाइएको कल्भर्ट माथिबाट चल्ने मालकवाहक ट्रकले कल्भर्ट थेग्न नसक्ने हुँदा कल्भर्टको अवधि पनि थोरै हुनेमा स्थानीय चिन्तित बनेका छन्।

निर्माण कम्पनीका सब–इन्जिनियर सञ्जीव ठाकुरले समाचार बाहिर नलाइदिनु हामी मर्मत सम्भार गर्छु भन्दै पन्छिन खोजेका थिए। तर, स्थानीयले बोल्न दबाब दिएपछि ठाकुरले हामीबाट कुनै गल्ती नभएको बताए। हुलाकी राजमार्ग आयोजनाका झापा इन्जिनियर उपेन्द्र दासले कल्भर्ट निर्माण कार्य दुई⁄चारवटा बिग्रिएको स्वीकार्दै कम्पनीले फिल्ड कर्मचारीलाई निर्देशन दिइसकेको बताए। निर्माण कार्य गुणस्तयुक्त बनाउन समेत कम्पनीका प्रतिनिधिलाई यसबारेमा जानकारी गराइसकेको उनको भनाइ छ।

स्थानीय जनताको आर्थिक विकासको भविष्य जोडिएको चारआली केचना सडकमा गुणस्तरयुक्त काम हुनुपर्ने स्थानीयको भनाइ छ। ठेकेदार कम्पनी पक्षले गरिरहेको कामप्रति कसैको चित्त बुझेको छैन। ठेकेदारले निर्माण गर्दै गरेको कल्भर्ट र दुवैपट्टी खनिएको नाला मापदण्ड विपरीत बनाएकाले तत्काल स्थानीय प्रशासनदेखि सडक विभाग, मन्त्रलायसम्मका कर्मचारीले यसतर्फ ध्यान दिई निर्माण कार्यको गुणस्तर हेर्नु पर्ने परिस्थिति आएको स्थानीय घनश्याम रेग्मीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्