रसुवामा एकीकृत बस्ती निर्माण शुरू



हिमनाथ देवकोटा, रसुवा
भूकम्प गएको २३ महिनापछि रसुवाका विस्थापितका लागि एकीकृत बस्ती निर्माण शुरू भएको छ।

भूकम्पका कारण गाउँमा सुख्खा पहिरो झर्न थालेपछि हाकु, डाँडागाउँ र ठूलोगाउँबाट विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा बसिरहेका विस्थापितलाई सुरक्षित स्थानमा राख्नका लागि एकीकृत बस्ती निर्माण थालिएको हो। बन्न लागेको एकीकृत बस्तीमा गाउँबाट विस्थापित भएर नौबिसे तथा बोगटीटारस्थित निजी तथा सरकारी जग्
गामा बसिरहेका २ सयभन्दा बढी विस्थापित बस्न पाउने भएका छन्।
उत्तरगया गाउँपालिकाको खाल्टेमा निर्माण हुन लागेको उक्त एकीकृत बस्तीमा बुधबारदेखि जग्गा सम्याउने काम शुरू भएको छ। खाल्डेमा ५ सय घर निर्माण हुने भए पनि पहिलो चरणमा १ सय घर निर्माण गर्न लागिएको रसुवाका सांसद जनार्दन ढकालले बताउनुभयो।

उक्त एकीकृत बस्ती निर्माणको काम कादुरी नामक संस्थाले गर्न लागेको हो। बर्खा अगाडि नै प्रभावितलाई एकीकृत बस्तीमा राख्ने गरी निर्माण कार्य थालिएको बताइएको छ। जिल्लाको उत्तरगया गाउँपालिकामा बसिरहेकालाई बस्ती निर्माण थालिए पनि धुन्चेमा बसिरहेकालाई के गर्ने भन्नेमा अहिलेसम्म टुंगो नलाग्दा समस्या आएको छ।

भूकम्पपछि गाउँ छाडेर हिँडेका प्रभावित खेती गर्ने समयमा भने गाउँ जाने गरेका छन्। धुन्चेमा बसिरहेका विस्थापितमध्ये ३२ घरधुरी सामूहिक आवासमा बसेका छन् भने ५० घरधुरीभन्दा बढी विस्थापित सरकारी तथा निजी जग्गामा टहरा बनाएर बसिरहेका छन्।

गाउँ फर्कनका लागि पटकपटक आग्रह गरेको भए पनि सरकारी निकाय तथा राजनैतिक दलले सहयोग नगर्दा गाउँ फर्कन समस्या भएको हाकुकी याङ्जेन तामाङले बताउनुभयो। गाउँमा सुख्खा पहिरो खसेर मरिने हो कि भन्ने त्रासले गाउँ जान नसकेका प्रभावित जग्गा सुरक्षित भए वा नभएको प्रमाणित भएमा सजिलो हुने बताउँछन्।

भूगर्भविद् गएर जाँचेको भन्ने सुनिएको तर हो कि होइन भन्ने यकिन नभएको प्रभावितले गुनासो गरेका छन्। ‘गएर जाँचेको भए हामीलाई गाउँ जाऊ भन्थ्यो होला नि? –हाकुका उत्तम तामाङले प्रश्न गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्