नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन महासंघलाई सुदृढ बनाउने लक्ष्य



 
नेपाल समाचारपत्र
काठमाडौं
पाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको तिथि नजिकिँदै जाँदा उद्योगी व्यवसायीबीच चुनावी सारगर्मी बढ्दै गएको छ। निजी क्षेत्रको छाता संगठन भएका कारण महासंघको निर्वाचनलाई राजीतिक वृत्तका साथै आम सर्वसाधारणले पनि नजिकबाट हेरिरहेका छन्। यो अवस्थामा महासंघको नेतृत्वमा पुग्न खोज्ने केही व्यवसायीसँग उनीहरूको चुनावी एजेन्डालाई संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ।महासंघको विधान संशोधन भएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ। जसका कारण यसपटकदेखि महासंघमा अध्यक्ष्यको निर्वाचन हुने छैन।अबदेखि वरिष्ठ उपाध्यक्षको निर्वाचन हुने छ। त्यसैले वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा र किशोर प्रधानले प्यानलसहित आसन्न निर्वाचनमा उत्रिएका छन्।

महासंघका अध्यक्ष पशुपति मुरारकाले बुधबार सहमतिका लागि प्रयास गरेको भए पनि त्यो सफल हुन सकेन। अब चैत २९ गते हुने महासंघको निर्वाचनमा ६४ पदका लागि ११२ जनाले प्रतिस्पर्धा गर्दै छन्। यद्यपि, एसोसिएटतर्फका उपाध्यक्ष, संस्थापक सदस्यहरूका तर्फका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै द्विराष्ट्रिय संस्थातर्फ तथा प्रदेश नम्बर ३ र ५ का उम्मेदवार पनि निर्विरोध भएको महासंघले जनाएको छ।

बजारीकरण र औद्योगिक विकास गर्ने लक्ष्य छ

सन्तोष श्रेष्ठ
वस्तुगततर्फबाट सदस्यका उम्मेदवार

नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फबाट सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। विज्ञापन संघको सचिव, महासचिव र अध्यक्ष हँुदै १० वर्षसम्म नेतृत्वमा रहनु भएका श्रेष्ठले महासंघलाई पनि सवल र सशक्त रूपमा अघि बढाउन पहल गर्ने उद्धेश्य उम्मेदवारी दिएको बताउनु भएको छ। नेपाली उत्पादनको बजारीकरण र औद्योगिक विकासको लागि सञ्चारमाध्यम र विज्ञापनको ठूलो भूमिका हुने र त्यसको लागि आफूले महासंघभित्र रहेर सक्दो पहल गर्ने उहाँंले जानकारी दिनुभयो।

श्रेष्ठले आगामी दिनमा महासंघभित्र रहेर व्यवसायीमैत्री ऐन नियम निर्माणका लागि सक्दो पहल गर्ने बताउनुभयो। महासंघ बलियो भएमात्र त्यसभित्र आबद्ध व्यवसायीहरू सुरिक्षत र सक्षम हुन्छन् भन्ने मान्यताका साथ महासंघको सुदृढीकरण र व्यवसायीमैत्री ऐन नियम तर्जुमा गर्न सरकारसँग पहल गर्ने उहाँले आफ्नो एजेन्डा रहेको बताउनुभयो। कुनै पनि क्षेत्रमा व्यक्ति होइन संस्था बलियो हुनुपर्छ भन्दै श्रेष्ठले महासंघमा पुगेपछि आफ्नो समय व्यवसायीमैत्री वातावरण र व्यवसायी हकहितमै लगाउने प्रतिबद्धता जनाउनु भएको छ।

बलियो र सशक्त महासंघ बनाउने एजेन्डा बोकेको छु

दीपकबहादुर शाही
वस्तुगततर्फबाट सदस्यका उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फको सदस्य पदमा उम्मेदवारी दिएका दीपकबहादुर शाहीले आफ्नो उम्मेदवारी महासंघलाई बलियो र सशक्त बनाउनका निम्ति भएको बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै शाहीले भन्नुभयो–‘मैले लामो समय सौर्य विद्युत् उत्पादक संघमा बसेर काम गरेको छु। विशेषगरी मुलुकको ग्रामीण क्षेत्रका जनतासमक्ष ऊर्जाको पहुँच पुर्याउन निजी क्षेत्रबाट भएका प्रयासलाई मैले नजिकबाट हेर्दै आएको हुँदा त्यस क्रममा निजीले भोग्दै समस्यालाई बुझेको छु। सौर्य विद्युत् उत्पादकहरूका जस्तै अरू व्यवसायीका समस्या पनि त्यस्तै हुन् खाली रूप र सारमा फरक छ, आफूले भोग्दै आएका समस्यालाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने मान्यता रहेको हुँदा व्यावसायिक हकहित र पेशागत मर्यादा कायम राख्नका निम्ति मैले उम्मेदवारी दिएको छु।

अघिल्लो निर्वाचनमा आफूलाई धेरै साथीहरूको सहयोग र सद्भाव हुँदाहुँदै पनि प्राविधिक कारणले नतिजा प्रतिकूल हुन पुग्यो यसपटक धेरै साथीको साथ र सहयोग पाएको छु, म नेतृत्वमा पुगे भने साथीहरूलाई निराश पार्ने छैन।
संस्थागत विकास गरेर अगाडि बढ्ने योजना छ

पशुपति खड्का
जिल्ला तथा नगरतर्फबाट सदस्यको उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघमा संस्थागत विकासको लागि जिल्ला तथा नगरतर्फबाट सदस्यमा उम्मेदवारी दिनु भएका पशुपतिबहादुर खड्काले आफू विजयी भए सबै व्यवसायीलाई एकजुट बनाएर संस्थागत विकास गरेर अगाडि बढ्ने योजना रहेको बताउनुभयो। खड्काले सरकार र निजी क्षेत्रबीच समन्वय गरेर देशको विकास र समृद्धि गर्ने भूमिका खेल्ने बताउनुभयो। रामेछाप उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहनुभएका खड्काले काठमाडौं टाढा रहेका नगर र जिल्लामा संघको क्षमता विकास गर्न र व्यवसायीको हकहितको लागि काम गर्ने योजना रहेको धारणा राख्नुभयो।
महासंघलाई सही ट्रयाकमा लैजाने सपना देखेको छु

गजेन्द्रकुमार भगत
जिल्ला तथा नगरतर्फबाट सदस्यको उम्मेदवार

औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धनका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरतर्फबाट सदस्यमा उम्मेदवारी गजेन्द्रकुमार भगतले बताउनुभयो। भगतले आफू लामो समयदेखि उदयपुरको त्रियुगा उद्योग वाणिज्य संघमा आबद्ध भन्दै महासंघको विधान संशोधन समिति र जिल्ला नगरपरिषद्को सदस्यमा रहेर काम गरिसकेको हुँदा महासंघलाई सही ट्रयाकमा लैजान र उद्योगी व्यवसायीका समस्या समाधानका लागि पहल थाल्ने योजनासहित उम्मेदवारी दिएको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्